banner
banner

झन बढ्यो राजसंस्थाको आवश्यकता

शाश्वत शर्मा - - - 
राजेन्द्र लिङ्देनले भन्नैपर्दैन ‘नेता चोर’ हुन् भनेर । चोर बनाउने जनता हुन् । नेताले पार्टी खोलेकै व्यवसाय गर्नलाई । व्यवसाय गर्नेले देश लुट्छ, खुवीका साथ लुटेका छन्, लुट्न दिने जनता हुन् । जो सहिरहेका छन् । चोर भनेर चिन्ने अनि चोरलाई भोट दिएर शासनमा पु¥याउने । जति चोरे पनि पटक्कै नबोल्ने । कमजोरी चोरमा छैन, नेतामा होइन, जनतामा छ, जनताले बुझ्नुपर्छ ।
आम निर्वाचनमा कम्युनिष्टलाई भोट दियौं, आउने चुनावमा कांग्रेसलाई दिन्छौं, उही चोर भनेर चिनिएकालाई भोट दिन्छौं । ओलीले भ्रष्टाचार बढाए, देउवाले पनि भ्रष्टाचार नै बढाइरहेका छन् । कहाँ छ विधिको शासन, संविधानको सम्मान ? जनता नबोलेपछि नेताले जनतालाई हली बनाउँछन्, हली बनेपछि पछुताउने मात्र हो ।
जनता नेतालाई चोर भनिरहेका छन्, ओली चुनावमा बहुमत ल्याउने कुरा गरिरहेका छन् । सत्तामा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राजपा, संयुक्त जनमोर्चा गठबन्धनका साथ चुनावमा गएर जित्ने कुरा गरिरहेछन् । अर्थात फेरि पनि राजनीति उनीहरूकै हातमा । घुमिफिरी रूम्जाटार । गनाएका अनुहारलाई भोट दिने अनि सुशासन भएन, भ्रष्टाचार बढ्यो भने कराउने ? सिस्नोको झाङ् नफाँडेपछि दिनदिनै पोल्छ, पोलेपछि सचेत नहुने अनि किन पोलिरहदैन ?
यसकारण कमजोरी हामी जनतामा छ । खोज्ने लोकतन्त्र, विधिको शासन अनि सहने ज्यादति, नीति नियम र आचरणहीनता । नैतिकहीन भएपछि नेतालाई गोर्खे लौरी हान्न सकेको भए जनतालेआजको यो दुर्दिन देखिरहन, सहिरहन पर्ने थिएन । जाली फटाहलाई भाग्यविधाता ठानेर, मानेर बसेका छौं । गलत हामी हौं । वैकल्पिक शक्ति देखिएन भनेर यिनैलाई सहने ? वैकल्पिक शक्ति दिने जनताले हो नबुझ्ने ? देशनिर्माताको सालिक फोड्ने, गान्धी र माओको तस्वीरमा फूलमाला चढाउने, स्वदेशीलाई बिस्तारवादी भन्ने, विदेशीको जयगान गाउने ? अति भयो यो सब । पृथ्वीनारायण शाहले नेपाल निर्माण नगरिदिएको भए हामी कसरी नेपाली हुनेथियौंं ? उनैलाई आलोचना गरेर विस्तारवादीलाई पक्षपोषण गरिरहने ? अनि भ्रष्टाचार र अनियमितता नबढे के बढ्छ ? कुशासन नभए के हुन्छ देशमा ?
भारतको ग्राम पञ्चायतमा हारेका व्यक्ति, नेपालमा बुहारी भएर आएकी महिला देशको नाम फेर्नुपर्छ भन्छन्, सांसद बन्छन्, राष्ट्रको सीमाका कुरा आउँदा भारतलाई सोध्नुपर्छ भन्छन्, हामी जनता तिनैलाई चुनाव जिताइरहन्छौं । हुँदा हुँदा राजदरवारभित्र नाइटक्लव खोल्ने अनुमति हाम्रै नेताले दिएका रहेछन् । अन्य राष्ट्रिय सम्पत्ति कौडीका मोलमा माफियाकरण भइरहेका छन् । यो सबका जिम्मेवार यस्ता कुडाकरकटलाई नेता बनाउने हामी जनता नै हौं, हामीले सचेत हुनुपर्छ अब । चुनावका बेलामा पाएका आश्वासन र भ्रममा नपरौं, दुईछाक मासुभातमा नबिकौं, राम्रालाई भोट दिएर नेता बनाऔं, पार्टीका पालिसमा चमक नदेखौं ।
देशमा जे जति बिकृति छन्, तिनलाई बढार्न र सही परिवर्तनका लागि निष्पक्ष,  देशभक्तहरू नै अगाडि बढ्नुपर्छ । जनताले अलिकति साहस देखाइदिने हो, विद्रोह बोलिदिने हो भने नेतृत्व जन्मिन सक्छ । कुण्ठा पिएर र कुण्ठिएर नेता तथा पार्टीका छायाँमा, अवसर नपाएर रहेकाहरू कति छन् कति, तिनले पनि अघि सर्नुपर्छ । राष्ट्रऋण बढेर गएको छ । आर्थिक अवस्था नाजुक छ, रेमिटान्सले देश धानिएको अवस्थ छ । उद्योग नखोल्ने र युवा निकासी गर्ने नीतिले देश खँगारिदै, नाङ्गिदै छ । यो साह्रै बिझ्ने कुरा हो । प्रत्येक घरपरिवार प्रताडित छ, तिनले सोच्ने अहिले नै हो । अब हामी जनताका लागि काम गर्छौं भन्ने नेताका भरमा नपरौं किनकि पटक पटक यिनलाई जनताले मौका दिएका हुन्, जनत र देशले धोकामात्र पायो ।
देशको स्वाधीनता खुम्चिदै गएको छ । विदेशी चलखेल र अतिक्रमण बढेर गएको छ । यी सबै पराधीनताबाट मुक्ति पाउनका लागि जनताले कम्मर कस्नुपर्छ, देश र जनताप्रति सेवाभाव राख्छु भन्ने राजनीतिमा लागेका युवाले सोच्नुपर्छ । हिजो देशमा राजसंस्था थियो, भय थियो । आज अभिभावक कोही छैन, भय छैन । भनिन्छ, भय बिना प्रित नहीं । राजसंस्थालाई तानाशाह, सामन्ती भन्ने हामी नै हौं । बिगत १५ वर्षमा को तानाशाह रहेछ, सामन्ती रहेछ, हाम्रा सामु स्पष्ट तस्वीर छ । यसकारण अब भ्रमजालमा नपरी स्वविवेकले निर्णय गरेर राजनीतिलाई सुधार्नुपर्छ । प्रजातान्त्रिक शासन व्यवस्थामा राजसंस्था निरङ्कूश हुनैसक्दैन । जनआन्दोलनपछिका १५ वर्षमा राजसंस्थाका प्रतिनिधि पात्रहरू सीमामा बसेका छन् । कुनै अवान्छित क्रियाकलाप अथवा महत्वाकांक्षा देखाएनन् । जनताको चाहनामा हिजो र आज चल्ने राजसंस्था भोलि पनि चल्नेछ । मात्र जनताको निर्णयमा राजसंस्था अल्झिएको देखिन्छ । अब जनताले बोल्ने बेला आयो– बेलगामको राजनीति कि एकताको प्रतीक ?
विध्वङ्स धेरै भयो । बेथिति र बिकृति अति नै भयो । जनताको मतको अपमान गर्नुसम्म गरियो । नियमकानुन त के लोकलज्जासमेत कसैले मानेनन् । यसकारण जनताले स्वराज र स्वाधीनताका लागि एकपल्ट निर्णय गर्नैपर्ने समय आयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper