banner
banner

यस्ता नेतालाई नै जिताउने फेरि ?

शाश्वत शर्मा- - 
अहिले हाम्रो खाँचो के हो ? नेतातन्त्रको यस्तो मनलागीतन्त्र चलाइरहने ? यी सुध्रने खालका नेता होइनन् । यिनमा कहिले पनि चेत खुलेन । सवारी चालक फेर्ने कि सवारीसाधन ? जनताका सामु खडा भएको यक्ष प्रश्न हो यो । सुशासन खोज्दा कुशासन पाइयो । लादिएको गणतन्त्र खतरामा पर्न आँट्दा विषयान्तर गर्न उही राजतन्त्रलाई चिथोर्ने प्रचलन छ, त्यही हुन थालेको छ । पद्धति चलाउन नसक्ने, सुशासन दिन नसक्नेहरू व्यक्तिगत कुरा उछालेर प्रहसन गर्ने गर्छन् । व्यक्तिगत कुरालाई संस्थासँग जोड्नु उचित थिएन, अनुचित गर्ने बानी परेकाहरू यस्तै अनुचित काम गरिरहेका छन् ।
मुलुक संकटमा छ, मुलुकबासी हाहाकारमा छन् । नेतृत्वतह गणतन्त्रको नारा लगाएर थाक्दैन । भ्रष्टाचार गर्न रोकिदैन । प्रष्ट कुरो के हो भने यो व्यवस्थाको परिवर्तनको पक्षमा आमनागरिकको मनस्थिति बनिसक्यो । प्रजातन्त्र हेरियो, गणतन्त्र हेरिदै छ । यी दुवै व्यवस्था वास्तवमा नेपाल र नेपालीका लागि काम लाग्ने शिद्ध भएन । नेता पनि खराव, नेता खराव भएपछि पद्धति पनि खराव हुने नै भयो ।
यो पद्धतिमा देखिएको दृश्य भनेको सत्ता प्राप्तिका लागि निरन्तर छिनाझप्टी हो । मुलुकको सामाजिक, आर्थिक, विदेशनीति चौपट भइरहेको छ । दुई तिहाइको बहुमत दिंदा पनि चलाउन सकेनन् । २७५ मा ६१ सिट भएको कांग्रेसलाई प्रतिपक्षको जनादेश थियो, लोभीपापीहरूले सत्ताको बागडोर हिल्ला लगाइदिए । पार्टी छन्, पार्टी एउटै छन् तर हरेक पार्टीभित्र अलग अलग मत छ । छैन त पार्टीप्रतिको निष्ठा र व्यक्तिगत नैतिकता छैन । योभन्दा बेथिति के हुनसक्छ ?
अचम्म त के छ भने विधिको शासन भन्छन् । संसदीय पद्धति मान्छन् । संसद अदालतले पुनस्र्थापना गराइदिन्छ, बैठक तोकिदिन्छ र प्रधानमन्त्री अदालतले नियुक्त गरिदिन्छ । हरेक नेता भ्रष्टाचारमा मुछिएका छन्, चाहे जतिसुकै अपराध गरे पनि तिनलाई माफी हुने परम्परा नै बसिसक्यो । अदालत, कर्मचारी, राष्ट्रपतिदेखि संवैधानिक निकायहरू पार्टीका शाखा कार्यालयजस्ता देखिन्छन् । हुँदा हुँदा अदालतमा विदेशी घूसपैठ भएको, आइएनजीओ प्रवेश गरेको आरोप खुलेआम लाग्ने गरेको छ । एउटा राज्यमन्त्री नियुक्त गर्दासमेत प्रधानमन्त्रीले ८ करोड दक्षिना लिएको चर्चा बजारमा छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले २ मन्त्रीको कोटा पाएछन् । रामचन्द्रले एक मन्त्रीका लागि एक करोडमा बोलकबोल गराउन थालेको चर्चा कांग्रेस हाउसबाटै चुहिएको छ । मन्त्री पद समेत लिलाममा, त्यो पनि आफ्नै पार्टीका नेताबाट । बुझे हुन्छ, जसले गणतन्त्र ठिक भन्छ, उसले देश र जनतालाई चुसिरहेको छ । राष्ट्रघातीहरूको बोलवाला पो बस्यो ।
ओली गए, देउवा आए । विधि आएन, नैतिकता पलाएन । एकथरि उग्राउन थाले, अर्कोथरि खान थाले । एकथरिको दिन गयो, अर्कोथरिको लुट्ने दिन आयो । व्यक्ति फेरिए, व्यवहार फेरिएन । प्रधानमन्त्रीकी पत्नसमेत होटलमा कर्मचारी सरूवा, बढुवा, पजनीजस्ता सूची बनाएर निर्देशन दिन थालेकी छिन् । स्वयम् प्रधानमन्त्री भन्छन्– परिवारका कारणले चूक भयो । गल्ती भएको भए अब हुन्न भन्न सकेनन् उनले पनि । भनिन्छ, यो सरकारका डिजाइनर प्रचण्डले ओलीका कर्मचारीलाई डम्प गर्ने सुची तैयार गरिसकेछन् भन्ने समाचार पनि सार्वजनिक भयो । राज्य सञ्जालमा राजनीतिकरण बाहेक कहीँ केही पनि बाँकी रहेन ।
विदेशीले नेपाली जयसिंह धामीको हत्या गर्छन्, सरकार मौन बस्छ । बिरोध गर्ने आँटसम्म गर्दैन । यस्तो सरकार मानवाधिकारवादी, प्रजातन्त्रवादी ? जनता आन्दोलित छन्, विप्लवसमूह आन्दोलित छ, सरकार जिम्मेवारी निर्वाह गर्दैन । हुनसक्छ, यो सरकारले गोविन्द गौतमलाई झैं धामी परिवारलाई पनि १० लाख दिएर अत्याचारी भारतलाई गुण लगाउने छ । सार्वभौमिसत्ताप्रति गर्व नभएको यस्तो गैरजिम्मेवार सरकारलाई जनताले कहिलेसम्म झेल्ने ? यस्ता नेताले लोकतन्त्रका नाममा मुलुक सिध्याउँछन् । जनता सचेत भएनन् भने मुलुक भत्किन्छ ।
सांसदहरूको अनुहार हेरौं, पैसाका लागि खशी वोकाजसरी खरिद विक्री भइरहेका छन् । यो पार्टी र त्यो पार्टी अदलबदल गरिरहेका छन् । प्रधानमन्त्री, मन्त्री, राष्ट्रपतिलाई हेरौं, कसैमा पनि आत्मस्वाभिमान भन्ने नै देखिदैन । उत्तरदायित्व र जवाफदेहीता कसैमा पनि छैन । सर्वहाराको हित गर्न जनयुद्ध गर्ने माओवादीका सांसद कस्ता देखिए भने मन्त्री पाइन भने आत्महत्या गर्छु भन्नेसम्मका निस्किए । हरिवोल गजुरेल भन्ने सांसदले यस्तो धम्की दिएपछि सांसदहरूमा पद र शक्तिको भोक कति रहेछ बुझ्न सकिन्छ । जनताले अब पनि भुलभुलैयामा फसिरहने ?
दोस्रो पुस्ताका नेताले केही गर्छन् कि ? यिनीहरूमा पनि एकाधमा बाहेक केही गरौं भन्ने जोश, जाँगर र हौसला देखिदैन । यसकारण जनता जागरूक हौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper