banner
banner

परिवर्तन भनेको यही हो ? यस्तै हो ?

देवी काफ्ले- - 
समाज धेरै अगाडि बढिसकेको छ । सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रमा त उथलपुथल नै भएको छ । घरैपिच्छे दलका नेता छन् । राजनीति खासमा सबैले बुझ्न र जान्न पर्ने बिषय पनि हो । बालकदेखि बृद्धसम्म सबैलाई राजनैतिक ज्ञान आजकल महाज्ञान भएको छ । समाज, टोलछिमेक, साथीसँगी जोकसैसँग पनि बोल्दा बहुतै ख्याल गरेर बोल्नु पर्छ । कतै फरक बिचार राखियो या चित्त नबुझेको बिषय प्वाक्क बोलियो भने तुरून्तै फरक दलको कार्यकर्ताको बिल्ला भिराइन्छ ।
राम्रो काम गर्नेको प्रशंसा गर्यो भने शंकाको दायरामा राखिन्छ । कसलाई कुन नेता वा दल मन पर्छ सोही अनुरूप बोल्न सके ठिक भईन्छ । नत्र बिद्रोहि बनाईन्छ ।अरूले समर्थन गरेको दलको नराम्रो काम कोट्याउनु महापाप गरे जसरी सम्पूर्ण कार्यकर्ता खनिन्छन् । यहाँ राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने मान्छे पूर्ण द्रोही ठहरिन्छ ।
सही कुरा पनि गर्न नपाइने यो कस्तो लोकतन्त्र हो ? लोकतन्त्रको सुन्दरता पार्टीतन्त्रमा सिमित हुनपुगेको छ ।
आजकल यहाँ नेपाली भएर बाँच्न गाह्रो परेको छ । जुनसुकै काम गर्दा कुन पार्टीको सदस्य हो भनेर छानबिन हुन्छ । कुनै न कुनै दलका अगुवाको सिफारिस बिना केही काम हुंदैन । करारमा जागिर होस्, जागिरे भए पछि सरूवा बढुवामा होस् पायक पर्ने ठाउँ जान ठूलै नेताको सिफारिस हुनुपर्छ कि त सुट्केस पुर्याईदिने मध्यस्थकर्ता चाहिन्छ । गाउँगाउँका सिंहदरवारबाट काम भैहाल्यो भने केन्द्रका सिंहदरवारबाट काम रोकिन्छ । पार्टीको सदस्यता नभए बिदेशी नागरिकलाई जस्तो ब्यवहार गरिन्छ, जागिरेको पीडा छुट्टै छ, सेवाग्राहीको पीडा अर्कै छ । यी पीडाहरू कुनै न कुनै क्षेत्रमा हरेक सोझा नागरिकले बेहोरेका छन् । नागरिकको काम नै साना ठूला सत्ताबाट प्रताडित हुनु भयो ।
फरक बिचार राख्ने ब्यक्तिहरू भयंकर अपराधी हुन् । जसो गरि शारीरिक कमजोरी होस् या फरक लिङ्गिय मानिस होस् उसको आत्मसम्मानको कुनै मूल्य छैन यहाँ । आजकल सामाजिक सन्जालमा सहजै देख्न सुन्न पाईन्छ, राष्ट्रपति लोग्ने मारेकी राणी, निवर्तमान प्रधानमन्त्री आईमाइको किड्नीले बाँचेको, वर्तमान प्रधानमन्त्री जिब्रो नभएको लरबरे । यस्तो समाज कहाँ पुग्छ ? यस्तो असभ्यता, मानवीय संवेदना हराएपछि पश्चगमन हुनु हो, यी तोरीलाउरेहरू गाली गर्नसक्नुलाई लोकतन्त्र भनिरहेका छन् ।
अनि जिउँदा नेताको लास बनाएर राम नाम सत्य भन्दै दाह संस्कार गर्नु । यस्ता घृणित कार्य गर्दा हामी आफ्नो पार्टीले गरेको भनेपछि अन्धभक्त ताली बजाउँछौं । भन्छौं हत् यस्तो पनि गर्ने ? जसले जति सक्यो अरूलाई गाली गर्ने सार्वजनिक ठाउँमा माईक पाएपछि खुब ठूला गफाडी गुड्डी हाँक्ने गरेपछि समाजसेवी बनिन्छ आज । अनि त्यस पछि नेता बन्छ । नेता बन्नु भनेको ठूलो व्यवसायी बन्नु हो । व्यवसायी बनेपछि हुने त मुनाफा हो ।
नेपालमा राजनीति व्यवसाय बनेको छ, राजनीतिमा सेवाभाव पटक्कै छैन ।
अराजकताले सिमा नाघ्यो । हामी आफै सुरक्षित छैनौं । घरबाट निस्केको मान्छे घर फर्कन्छ फर्कन्न थाहा छैन । सानो ईगोमा मान्छे सिध्याईन्छन् । छोरी चेलीले कसैको भरोसा गर्ने अवस्था छैन । भेडाबाख्रालाई जस्तो अमानवीय तरिकाले बलात्कार हुन्छ, हत्या हुन्छ । दलीय ब्यवस्थाका बाहकहरूले अपराधीलाई संरक्षण गरेकोले नै अपराधिक श्रृङखला बढेको अनुभव सबैले गरेका छन् । तैपनि अपराध कम गर्न नागरिक र नागरिक समाज सडकमा निस्कदैनन् । सबै पार्टी पार्टीका झाले न हुन्, झोलेको काम राजनीति गरेर खोले खानु न हो ।
आज संसार कोरोनासंग लड्न अनेक हतकण्डा अपनाई रहेको छ । हाम्रा शासकहरू यसलाई ईल्लीबिल्ली पारेर बस्छन् । भ्याक्सिन यहाँ उत्पादन गर्न नसकेकोले बाहिरी मुलुकबाट मगाउँदा पनि सर्वसाधारणलाई सहज भएन बरू उनै अगुवाका आसेपासेलाई नै कसरी बचाउने भन्ने भयो ।
देश बिकासले फड्को मारेको नदेख्ने भनेर माइक ठोक्दा खुब जोसिन्छन् । बिकास नभएको चाहिँ म पनि भन्दिन तर भयो कहाँ म सोध्छु । कर्णाली आज पनि विकट मै गनिन्छ । छाउगोठ भत्काएर रमिता गरे तर मनभित्रको गोठ भत्काउन कहाँ सके र ? मुख्य सवाल सुरक्षा र स्वास्थ्य हो, यी दुबै सवाल स्यालको सिङ् खोज्नुजस्तै भएको छ । लोकतन्त्र हिंसात्मक र बलात्कारी बन्दै गएको छ । यसमाथि राजनीतिकरण हुन्छ । राजनीति फलाममा खिया लागेजसरी बढ्दै बढ्दै गएको छ । चिन्ता र चासो गर्ने फुर्सद कसैलाई छैन ।
तराईमा अझै पनि दाईजोका कारण मारिने छोरीहरूका लागि बचावटका उपाय कता कसलाई सुनाईयो ? महेन्द्र राजमार्गको मरमत बाहेक यसलाई अझ प्रभावकारी बनाउन पर्ने हो कि नाम फेरेर छलाङ हो ? राजनीतिक बिकास बेसरी भयो । आर्थिक छलाङ पनि केहिले मारे । तर यो बेथितिको राजनीतिले आज के सिकाईरहेको छ हामी हेर्न देख्न चाहान्नौं । एक पल्ट गहिरियर सोचौं त आज युवाहरू जसरी अनियन्त्रित भयर सडक, चोकमा चिच्याएका छन्,जुन उच्छृङ्खल ब्यावहार देखाएका छन् नि यदि यही सिक हस्तान्तरण हुँदै गयो भने आगामी पुस्ताले के गर्ला ? हामी हाम्रा छोराछोरी संस्कारी बनोस् भन्ने चाहना राख्ने तर उदण्डित हुन पनि उक्साउने गरिरहेका छौं । जुनसुकै दलको सरकार बनेपनि दण्डहिनतालाई अंगाले पछि मानिसहरूमा नैतिकताको खडेरी परेको छ ।
उत्पादन मूलक कामका लागि समूह बनाइदैन तर लड्न भिड्न अनेक नाम दिएर लडभिड भन्दै सेना गठन गरेर उपलब्धि उहीँ पार्टीलाई हो देशलाई केही हुनेवाला छैन । दाजुभाई लडाउने भिडाउने फाईदा ब्यक्तिलाई हुने कुरा नबुझेर हो कि हात चाट्न पाएर हो पुच्छर हुन अचाक्ली मन पराउने वातावरण सृजना भैरहेको छ । विकास भइरहेछ ।
अझैपनि यति सानो प्यारो देशभित्र आफ्नै बान्धवहरूलाई लडाएर, एकआपसमा भिडाएर राजनीति गर्ने हो भने र नैतिकता गुमाउने हो भने भोलीको देशको हालत के होला ? सोचौं है ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper