banner
banner

छोरी मान्छे हुन् कि महिला बनाइरहने ?

देवी काफ्ले- -
महिला जन्मैदेखि महिला हुदिनन् । हुर्कंदै बढ्दै जाने क्रममा महिला बन्छिन् । एक बालकले जो आफ्नो लागि अवस्थित छ,सायद नै आफुलाई लैंगिक रूपमा बुझ्दछ । केटी होस् वा केटा उसले आंखा, हात, कान तथा अन्य अंगहरू द्वारा संसारलाई चिन्दछ, बुझ्दछ । आफ्नो लिंगको माध्यमले होईन । केटा होस् वा केटी जन्मको प्रबृत्ति, नाटक र आमाको कोखबाट निस्कने पिडा दुबैमा समान हुन्छ ।दुवैको सम्वेदनालाई वस्तु जगतको आवस्यकता पर्दछ । उनीहरू समानरूपले आमाको कोमल मांशलतामा यौनगत सन्तुष्टि खोज्दछन् । केटी होस् वा केटा होस् दुवैले आफुभन्दा ठूलाको माया पाउनका लागि लोभ्याउने र आफुतिर आकर्षित गर्ने उपाय खोज्छन् । बाल्य कालमा केटी पनि केटा अनि आफ्ना दाजभाई जस्तै आमासँग लुटीपुटी भएर बालसहज खेल्छन् ।
लगभग ११÷१२ बर्षसम्म केटी पनि आफ्नै दाजुभाइ जस्तै मजबुत हुन्छे । यतिबेलासम्म मानसिक शक्ति पनि दाजुभाईको जस्तो मजबुत नै हुन्छ ।
जब उमेर बढ्दै जान्छ शारीरिक बनावटमा परिवर्तन हुनु स्वाभिक नै हो, परिवर्तन हुँदै जान्छ । केटाहरूको स्वर धोद्रो हुने, जुंगाका रेखी बस्ने हुनथाल्छ केटीहरूमा रजस्वला हुने, शरिरिक अंग जस्तैः स्तन बढ्ने हुन्छ । यतिबेला सम्म त हामी छोरीहरूलाई धेरै कुराहरूमा पावन्दी लगाउन शुरू गरिसकेका हुन्छौं । हिड्दा, खांदा, बोल्दा, हाँस्दा कतिसम्म भनेर एउटा सीमा तोकिदिन्छौं  । अनि केटीलाई सबैभन्दा कमजोर पार्ने शुत्र लगाईदिन्छौं । जुन शुत्र प्रयोग गर्पछि उ बिस्तारै महिला बन्ने गोरेटोमा लागिसकेकी हुन्छे । रजस्वला हुँदा पुरूषको र सूर्यको मुख देख्न हुँदैन भनेर अँध्यारो कोठामा लुकाईन्छ, जुन उसको स्वास्थ्यको लागि कदापि उचित होईन । अझ हाम्रो केही भूभागमा त छाउ राख्ने भनेर घरदेखि टाढाको गोठमा लगेर राखिन्छ । जसलाई परम्पराको रूपमा लिने गरिन्छ । यस्ता सिमारेखाहरू केटामा लागू हुदैन ।
केटीहरूलाई सानैबाट महिला बनाउन हाम्रा कृयाकलाप धेरै महत्वपुर्ण रहन्छ । सानैदेखि केटीलाई डल अर्थात् खेलौनाकी परी बनाईन्छ । रंगीचंगी लुगा, चुरा, माला, गाजल, टीका, रङ्गीचङ्गी रिवन, डोरीले सजाईदिएर राम्री बनाउने होडबाजी लगाईन्छ । संसारकै सुन्दर वस्तुसँग दाँजेर उसलाई फुरूङ्ग पार्ने गरिन्छ । उमेर बिकास क्रममा केटीलाई आमाको आँचलमा लुटपुटिनु, पिताको मायालु हातले शिरमा सुमसुम्याउनु जस्ता ब्यवहारले उसले सहारा अनि सुरक्षा पाएको महसुस गर्छे । जब कि केटाहरू यस्तो खालको ब्यवहारलाई नाटक जस्तो मान्छन् । बिस्तारै उनीहरू कठोर बन्दै गईरहेका हुन्छन् । यता केटीलाई डल बनाईरहँदा केटालाई मानिस बन्न भनिन्छ । क्रमिक रूपमा यी ब्यवहारले केटीहरू अलि अलि गर्दै परनिर्भर जस्तै बन्न थाले । सुन्दरी बन्ने चाहना बढ्दो रह्यो । अरूले सुन्दरी भनिदिंदा मनमा आनन्द महसुस गर्ने, प्रफुल्लित हुने स्वभाव बढ्दो रह्यो । उनीहरूमा सुन्दरी बन्ने चाहनाले आफ्नो भित्री सुन्दरतालाई कुल्चिदिएर बजारी वस्तुलाई मुहुर्त बनाउन थाल्छन् । मानसिक शक्ति सुन्दरताको बजारमा हल्का बिकसित हुने क्रममा सिकाईएका कतिपय हाम्रा क्षीण सन्देशले पनि केटीहरूलाई महिला बनाउन मद्दत गर्छ । जुन अर्तिउपदेश केटीलाई दिईयोे त्यहि उपदेश केटालाई दिइएन । केटीलाई खान देखि लिएर बोल्न हिड्न सम्म सिमारेखा कोरिए तर ती सिमारेखा केटालाई कोरिएन । केटालाई मर्द, मानिस बन, लोग्ने मान्छे बन, तिमी कठोर हुनुपर्दछ । घरपरिवार,समाज, देशका साथै तिमीले आमा दिदीबैनी, पत्नी, छोरीको रक्षा गर्नुपर्छ भनेर सिकाइयो तर केटीलाई तिमी त कोमल हृदयकी, सुन्दरी, लजालु, शान्त बत्तीस लक्षणयुक्त असल नारी बन्नुपर्छ भनियो । तिम्रो रक्षार्थ बाबा, दाजुभाई, पति अनि छोरा हुनेछन् भनियो तर उसलाई तिमी आफ्नो सुरक्षा आफै गर्न सक्छौ, तिमीमा पनि आँट साहस हुनुपर्छ र छ त्यसको प्रयोग गर्नुपर्छ,समय परिस्थिति अनुसार आईलाग्ने माथि जाईलाग्नु पर्छ भनेर सिकाइएन । उनलाई सिकाइयो त केवल पति परमेश्वरको सेवामा जुट्नुपर्छ, सहनशिल हुनुपर्छ, दुईचार अत्याचार त पियर बस्नुपर्छ भनेर सिकाइयो । सोही सिख नै आज हाम्रो संस्कार बन्यो । त्यहि संस्कार अनुसार आज पनि केटी महिला नै बनिरहेका छन् । अर्थात् तिनै सजिएर पतिको अगाडि जानुपर्ने, सुन्दरी देखिनु पर्ने अनि वस्तु जसरी प्रस्तुत हुनुपर्ने ब्यवहार समाजमा हावी भयो ।
मानवलाई आचरणको निर्देशन गर्ने धेरै बिधिबिधानहरू छन् । मनुसंहिता मानव जातीका लागि त्यस्तै बिधिनियम हो । आजसम्म पनि हिन्दुहरू मनुस्मृतिकै अनुशरण गर्दछन् । मनुस्मृतिमा लेखिएका बिधिहरू भागवत गीतामा समेत उल्लेख गरिएका छन् । मनुस्मृतिमा लेखिएको छ–स्त्रीहरूलाई स्वतन्त्रता प्रदान गरिनु हुदैन भनेर । स्त्रीलाई बालकसंग दांजिएको छ । स्वतन्त्रता नदिनुको अर्थ दास बनाउनु थिएन, स्त्रीलाई स्वतन्त्रता दिइयो भने संसारको सामाजिक स्थिति सुधार हुँदैन भन्ने मान्यता थियो सोही अनुरूप स्त्रीलाई बाल्यकालमा पिताद्वारा, यौवनावस्थामा पतिद्वारा र बृद्धअबस्थामा छोराद्वारा संरक्षण दिनुपर्छ भन्ने लेखियो र आज पनि मनस्मृति अनुशरण गर्नेहरूमा एक किसिमको छाप बस्यो त्यहि छाप आजसम्म पनि पुस्ता, दर पुस्ता हस्तान्तरण हुँदै आएको छ ।
छोरीलाई महिला बनाउनमा हाम्रा धार्मिक ग्रन्थ अगाडि नै छ । धार्मिक ग्रन्थ अनुसार छोरीलाई ज्ञान र शिक्षा आर्जन अधिकारबाट बन्चित गराइयो । बेद,भागवत पढ्न हुँदैन भनियो । ती ग्रन्थहरूबाट महिला पात्रहरू अगाडि उभ्याइयो जसको अनुशरण गरि उनीहरू जस्तै बनुन् । छोरीलाई सीता, सतिसाबित्री, मन्दोदरी, गोमा जस्ता बन्नुपर्छ भनियो तर म्याडम क्युरी, जुन्कोे तावेइ, योगमाया, गार्गी बन भनेर जोडबल दिईदैन । कमजोर बनाउने क्रम हिजो थियो, आज पनि कायमै छ ।
संस्कृति, साहित्य, धर्मशास्त्रबाट छोरीहरूलाई छोराजस्तो आँटिलो, आक्रामक, जिम्मेवार बन्न पर्खाल लाग्यो । सिनेमा, सुन्दरी प्रतियोगिताले महिला शसक्त नदेखाउने अर्थात परनिर्भर हुनुपर्ने वास्तविकतामा जोड दिएको हुन्छ । यसले त झन् छोरीलाई बाह्य आवरणको सुन्दरताका लागि हौस्याएको हुन्छ । यसकारण पनि उनीहरू महिला बन्दै जान्छन् । बनिरहेका छन् ।
गौण कुरा त के भने छोरी जन्मदादेखी नै पराया धन मान्ने हाम्रो संस्कारले सम्पत्तिको हकबाट बन्चित गरिदियो त्यसबेला ऊ पुरूष सरह मानव पनि हुँदिन । यसउसले पनि छोरी महिला बन्दै जान्छे । जन्म दिने बाबुको घरमा त उ पराया हुन्छे भने पछि सम्बन्ध बनाएको घर कसरी बन्ला आफ्नो ? प्रश्न मनमनै गर्छे तर ब्यक्त गर्दिन किनकी छोरी सृष्टि हो, पृथ्वी हो उसले सहनु पर्छ भन्ने मानसिकता बोकेकी हुन्छे । त्यही सिकाइएको हुन्छ ।
जुन सिख सिकाइयो त्यसको प्रभाव आज पनि हामी महिलामा छ । त्यही सिख छोरीहरूलाई दिईरहेका छौं । हामी आफ्नो बाहिरी सुन्दरताको बयान सुन्न चाहान्छौं त्यसैमा सफल ठान्छौं र त आज पनि बजारिया बस्तुको प्रभावमा छौं । हामीले सत्य कहिले स्वीकार्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper