banner
banner

असार १५ कसले सिकायो मनलागी गर्न

देवी काफ्ले - -
जेठ लागेबाट नै पानी पर्न शुरू हुन्थ्यो ।खेतमा मकै अनि मकै भित्र फर्सी बोडी रोपिएको हुन्थ्यो । हाम्रोतिर हिउंदे धान रोप्ने खासै चलन थियन ।ढाब खेतमा कोहि कोहि हिउंदे धान रोप्थे । टारी खेतमा डमक्क रामपुरे मकै लगाइन्थ्यो । जेठको दोस्रो सातादेखि आलीकान्ला गर्न शुरू हुन्थ्यो । हाम्रो फांटको सबै खेतमा कुलोपानी लाग्छ अहिले पनि । दरमखोला,ठाडो खोला, छहरा, डन्डे खोलाको पानीले कहिले पनि साथ छोडेका छैनन् । सधैंभरी आफ्नो जलले सुख्खा टारीहरूलाई हरित संसार बनाइदिने यी आमा रूपि नदि खोला, छहराछाँगालाई हामी पनि उत्तिकै माया गर्छौं । हिउँदमा शान्त हुने दरमखोला बर्षादमा भने उत्ताउली हुने गर्छिन आज पनि ।
जेठकै दोस्रो सातामा धानको बीउ राखेर मंसिरमा मुरी भित्रयाउने सपना देख्दै बर्खे काम शुरू हुन्छ । झमझम झरीमा आमा, दिदी र भाउजुहरू हरिया मकैको भारी बोकेर घरतिर उकालो लाग्दा कम्ता खुशि लाग्दैनथ्यो । हरिया मकै पोलेर दहि, महिसँग खान पाउँदा त उल्कै मीठो ।झरि लाग्दा टारी खेतको पुछारको गरामा बुदुना माछा उफ्रिन्थे । कम्मरमा फुर्लुङ, ढडिया लिएर सेखु ओड्दै माछा छोप्दै फुर्लुङमा राख्दाको मजै कस्तो । आलीकान्ला ताछेर बुदुना माछाले फुर्लुङ भरेर बांस्टारीको बाटो ठडिँदा संसारै जितेजस्तो पो सान हुन्थ्यो ।बा र आमाले टिनको पातो चुल्हा माथि राखेर माछा सुकाउनु हुन्थ्यो । रोपाइँलाई परिकार थप हुन्छ भनेर ।
 हजुरहरूले खानु भाछैन होला मेरी आमाले पकाएको बुदुना माछा मकैको सुप्लामा राखेर पोलेको मकैसँग खाँदा चौरासी ब्यञ्जन के हो र ? त्यतिबेला त सधैंभरी जेठ, असार भंदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।
 बीउ रोप्न तयार भयो असार लाग्यो । पन्ध्र देखि अठार दिनमा त धान रोपिसकिने । बाईस दिन भएपछि त बीउ बुढियो भनेर बेलुका बेलुका तल माथि दाईहरू, ठूलाबा, काकाहरू कचहरी लाउने । गाउँको कृषि यस्तै हो ।
ठूलो खेतको रोपाईंमा १५÷१६ हलगोरू त चाहिने ।
असार पन्ध्र आयो ।भोलि रोपाइँ  ।हामी कति हो कति खुशि ।आमाले चामल भिजाउनु भयो । राती नै उठेर ढिकीमा चामल कुटेर अर्नी सेलरोटी बनाउनु पर्छ । बाले पारी घर्तिगाम, ढकाल गामतिर गएर हलिसहित हलगोरू बन्दोबस्त गर्नु भयो । बाउसे चाहिँ तल दाइ,माथि दाइ,घर्ती गामका दाइहरू १२÷१५ जना गन्दै हुनुहुन्छ । रोपाहार खेताली त तीन गामका पुरै नि । ठूलो खेतको रोपाइँ बाजा त चाहियो नि । दारेगौंडाको बाजा टोली पनि बन्दोबस्त भैहाल्यो, भव्य रमाइलोका लागि ।
आमा, दिदी, भाउजुहरू, तलमाथिका भाउजुबुहारी राती देखि नै खट्न थाले । कोहि पिठो कुट्ने कोहि अचार बनाउने कोहि तरकारी बनाउने सबैलाई फुर्सद थियन । हामीकहाँ असार पन्ध्रको रोपाइँ महान चाडकै रूपमा मनाउने चलन छ । दशैंमा जस्तै असार पन्ध्रमा पनि नयाँ लुगा लगाएर खेतमा जाने गरिन्छ । बिहानैदेखि हामी पनि नयाँ लुगा लगाएर रमाउदै आफुले सक्ने डोको बोकेर ब्याडमा पुग्ने ।
  हाम्रो असार पन्ध्रको रोपाइँमा मेरा बाले जेटिए अनिवार्य उपस्थित गराउनु हुन्थ्यो । गामका प्रधान,अरू मान्यगुन्य पनि आउछन् । रोपाइँ शुरू हुने बेला भयो । मुखिया बा, जिम्मालबा, प्रधान काकाले सबैलाई शुभकामना दिनुभयो ।
खेतका आलिभरी सेता फेटा गुथेका जुंगामुठे अग्रजहरू ठाँटले लौरो गाडेर बसेका, बाउसेहरू कोदालाका पासा ठोक्याउंदै हुर्रे हुर्रे गर्दै आलीमा माटो थोपर्दै तरूनी जिस्काउने असारे गीत शुरू गरे । राता गहकिला धोती,निला पटुकी रंगिचंगी चोली, सेता, निला, पहेला सितारा जोडिएका डोरीका चुल्ठा साँच्चैनै प्राकृतिक सुन्दरीहरू हातमा बिउका मुठा लिएर हिलोमा पस्दाको दृश्य दुनियाँको कुनै चित्रकारले कोर्न सक्दैन होला यस्तो सजिव चित्र । जब बडाबाले शुभकामना दिएर सबैको निधारमा हिलोको टीका लगाईदिएर रोपाइँको अनुमती दिनुभयो । रोपाइँको पहिलो गावा घरमुलिले लाउनु पर्छ । हिलोमा पस्ने बेला हली, बाउसे, रोपारलाई अबिर लगाईदिएर खेतधनीका परिवारैलाई अविरजात्रा गर्दै घरधनिले पहिलो गावा लगाउंछन् । बाउसेहरूले हुर्रेहुर्रे गर्दै खेतालीलाई छ्यापिने गरि बिउका मुठा सुईंक्याउँछन् । पाहुना, मुखिया, प्रधानहरूले शुभकामना दिएर जान्छन् । डाला र सोलीमा राता पछ्यौरीको घुम्टो लगाएर घरबाट अर्नि बोकेर आउँछन् । आलीभरी लाईनै बसेर सेलरोटी, अचार, तरकारीसंगै करूवाको पानी टुटीबाट कलकल पिउंदा हली बाउसेको घाँटीको रूद्रघण्टी तलमाथि गरेको दृश्यले हांसोको फोहोरा छुट्थ्यो । शिरमा राता फेटा गुथेका बाजा टोलीलाई डांडामाथिबाट हेर्दा फांटभरी लिलि फुले जस्तै देखिने । अनि कर्नालको धुंकुरी धुंकुरी, सहनाईको  मधुप्रिय आवाजले मोहनी नै लगाउने । बिच बिचमा हिलो छ्यापाछ्याप गरेर तरूनी तन्नेरीहरू गितले एक अर्कालाई छेपन हान्दै जवानी छताछुल्ल पार्ने ।
के बुढा के तन्नेरी सांझपख सबै हिलोमा छेपाछेप गर्दै कोदालोको पासो ठोकेर आजको मेलो सकिएको संकेत गर्छन् । हिलो हिजोपनि खेलिन्थ्यो आज पनि खेलिन्छ । हिजोको हिलो खेलाई एउटा परम्परालाई जिवित राख्ने मर्यादित थियो तर आजको हिलो खेलाई देखावटी र हाम्रो ऐतिहासिक परम्परालाई अनि हामी कृषक र कृषि पेशालाई नै मजाक बनाउने अमर्यादित छ । युवायुवतीहरूले हाम्रो अन्न भूमीलाई बैंसको आवेग पोख्ने क्रिडास्थल को रूपमा परिवर्तित गर्दैछन् ।वास्तविक किसान को हुन् हिलो किन खेलिन्छ ? कारण थाहा नै छैन र हो कि आज मन्त्रीले समेत हिलो खेलाईलाई मजाक बनाई दिए । कोहि मन्त्री महिलासंग लठारिन पुग्छन् त कोहि मन्त्रीले गमलामा धान रोपेर जात्रा देखाउँछन् त्यो पनि कृषिमन्त्री । सभ्रान्तहरू असार पन्ध्र मनाउन प्लाष्टिकका बोरा गरामा ओछ्याएर बीउ हातमा लिएर रोपेको देखाउंछन् ।
धान दिवस तथा असार पन्ध्रको शुभकामना दिन्छ सरकार तर हाम्रा कृषकले बेलैमा बीउ बिजन पाए कि पाएनन् चेष्टा गर्दैन । सपंचाईको ब्यवस्था नभएको ठाउमा मरूभुमि पल्टेका गरा हेरेर रूदै गरेको किसानलाई त्यो शुभकामना के काम ? बर्सेनि अरबौंको चामल आयात किन  ? तिर नसोच्ने, खेतीयोग्य जमिनलाई चक्लाबन्दी गरेर बालुवा छर्दै घर फलाउने कि आधुनिक प्रबिधि भित्र्याएर कृषिलाई कसरी ब्यवस्थित गर्ने ?कमिकमजोरी लेखेर नसकिने छन् ।
बिकसित मुलुकमा कृषि पेशा, उत्पादनमा कस्तो विधि अपनाएको छ भनेर बर्सेनि राजनैतिक दलका खेताला भ्रमण जान्छन् भत्ता खान्छन् अनि देशमा त्यहा सिकेर ल्याएको एउटा सीप प्रयोगमा आउँदैन ।
देशको अर्थतन्त्रको बलियो आधार नभएर कृषि हाम्रो जीवन, प्राण पनि हो त्यसैले गमलामा धान रोपेर रमिता पनि नदेखाईयोस् । 
असारे पन्ध्रलाई जताततैबाट मजाकको दिन हैन कि ऐतिहासिक दिन मानेर सम्झना गरियोस् । हिलो खेल्न कसैलाई रोकिनु हुँदैन तर मर्यादामा रहेर खेल्नुपर्छ । हिजोको असारे पन्ध्र र आजको असारे पन्ध्रमा शताब्दी फरक भै सकेछ । आज त असार पन्द्र हो कि दोहोरी साँझ ? कसले सिकायो यसरी छिल्लिन, मनलागी गर्न, यो संस्कृति मास्ने तरिका बढी भयो है ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper