banner
banner

लोकतन्त्रमा जनता भोकै सुत्छन् !

– पदम हमाल – 
कोरोनाको महामारी भन्दै लकडाउन लम्ब्याउँदै गर्ने सरकारले लकडाउन अवधिमा खानाको बन्दोबस्त गर्न सकेन । हुन त विदेशीले दिएको राहतमा समेत विभेद गर्ने, थुपार्ने, हिनामिना गर्ने सरकारले जनतालाई खाद्य सुरक्षा दिएन भनेर के भन्नु ? एकातिर कोरोनाको महामारीले जनता मरिरहेका छन्, अर्कोतिर सरकारले कामधन्दा बन्द गरेर गरिखाने बर्गलाई भोकभोकै सुत्न बाध्य पारेको छ । कति गरीवहरू भोकै सुत्छन् र भोकका कारणले कहिल्यै नउठ्ने गरी निदाउँछन् ।
न उपचार, न खानेकुरा, न मर्नेका परिवारलाई सहयोग ? यो लोकतान्त्रिक सरकार हो कि मुनाफाखोर व्यापारी ? कुनै मुलुक यतिसम्मको जनविरोधी हुँदैनन् ।
यस्तो छ लोकतन्त्र, लोकतान्त्रिक नेता, लोकतान्त्रिक सरकार ?
उता सत्ताधारी, विपक्षीहरू भने बैठकमाथि बैठक गरिरहेका छन् । मःमः, पिजा, मासु चिउरा खाएर मोटाउँदै गएका छन् । देशको ढुकुटी भनेका जनता हुन्, राष्ट्रियता भनेका पनि जनता हुन्, ढुकुटी सखाप भइरहेछ, जनता मरिरहेछन् ।
लोकतन्त्र छ भन्ने हावा गफ गरेर के गर्ने ? लोकतन्त्र छ भन्नलाई भोका पेट, उपचार नपाएका रोगी, मरेका जनतामा खोज्ने कि व्यवहारमा पनि देखिनुपर्छ ? नेपालमा लोकतन्त्र छैन, लोकतन्त्रका नाममा लाजको पसारोमात्र छ ।
सत्तासीनका लागि, भ्रष्ट कर्मचारी र कमिशन एजेण्टहरूका लागि, राजनीतिलाई व्यवसाय बनाउनेहरू कोरोना कहरलाई ‘हट लेमन’ बनाएर पिइरहेका छन् ।
जनता भनेका, जनताले तिरेको कर थुप्रिएको राष्ट्रिय ढुकुटी भनेको कागती हो यिनका लागि । रस आउन्जेल निचोर्ने, स्वाद लिएर खाइरहने । देश कसरी बर्बाद भयो नि ? जनताले ल्याएको भनिएको पद्धतिले जनतालाई पागल बनायो नि ।
विचरा जनता, एकातिर भोकभोकै, अर्कोतिर रोगले ग्रस्त । लोकतन्त्र जनताका लागि कौवालाई बेल पाकेसरहभन्दा बढी केही हुनसकेन । कठै जनता ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper