banner
banner

हिंसाका कारण छोरीको घा“टी ननिमोठियोस्

देवी काफ्ले - -
महिला हत्या,हिंसाका कुरा धेरै भए । महिला हिंसा बिरूद्धका कार्यक्रमहरू चाडपर्वका रूपमा मनाइए । नाराजुलुस भए । रािष्ट्रय, अन्तर्राष्ट्रिय गोष्ठी, सभा भए । भैरहेका छन् । सडक र माइतीघर मण्डलामा नारी आवाज गुन्जायमान छन्  । पत्रपत्रिकामा यस सम्बन्धि  लेख रचनाहरू छापिएका छन् । टेलिभिजन, युटुवहरूमा जानकार तथा बिज्ञहरूका अन्तर्वार्ता आईरहेका छन् । हिंसा बिरूद्ध मिडियाहरूको लगातार खबरदारी सहित  समाचार प्रसारण गरेका छन् ।
आजकल बुहारीहरूको आत्महत्याको ट्रेण्ड नै चलेको छ । हिंसा लुकाउनका लागि हत्या गरेर आत्महत्या प्रमाणित गरिदिने ट्रेण्ड पनि उस्तै मौलाएको छ ।
घरेलु हिंसामा धेरै चेलीहरू जले । महिलाका अनुहारमा आफ्नै लोग्नेले एसिड छ्यापे । घरभित्रैको यौन प्रताडनाका कारण घाँटी थिचिए । टाउको फुटाईए । दाईजो ल्याउन नसक्दा झुन्डिनु पर्यो ।
घटनाका श्रृङखला घट्नु भन्दा बढीरहेका छन् । अब घटना रोक्ने कसरी ? छलफलको बिषय बनाउनु पर्ने समय आएको छ । छलफल भइरहेको छैन । 
वास्तवमा महिला उत्थान, सशक्तीकरणका आवाजहरू आज आवाज मात्रै रहेका छन् । यदि ब्यावहारमा लागू हुन्थ्यो भने पक्कैपनि हिंसाको प्रतिकार गर्न सक्ने थिय महिलाले । सशक्तीकरणका नाममा केही सिमित महिलाले अवसर पाए होलान्, एकरूपता भएन ।
आज महिला हिंसाका कारण ज्यान गुमाउनु परेका बिषयलाई पनि छलफलमा ल्याई न्युनीकरणका उपाय खोजिनु पर्छ । महिला शिक्षा, रोजगारीको अबसर आजको टड्कारो आवस्यकता हो । जब सम्म महिला आर्थिक रूपमा सबल हुदैनन्, आत्मनिर्भर हुदैनन् तबसम्म उनिहरू प्रतिकार गर्न सक्दैनन् । अब महिलालाइ कसरी आत्मनिर्भर बनाउने त्यता ध्यान जानू पर्यो र स्थानिय निकायले यसका लागि पहल शुरू गरिहाल्नु पर्छ ।
अब हाम्रो पुरातन सोचमा अलिकति पनि सुधार आएन भने सबल भयर पनि छोरी जलिरहने छन् । हाम्रो संस्कार, चलनका कारण छोरी जहिले पनि दोस्रो दर्जामा छिन् । जन्मेदेखि नै छोरी पराई धन भनेर अनेक बारबन्देज लगाईरहेका छौं । पढाउँदा सम्म पढायो अनि दाइजोसँगै बिहे गरिदिन्छौं । बिहे पछि आफ्नो जिम्मेवारी सकिएको खुशियाली मनाउँछौं । छोरी बुझाईदिए पछि स्वर्र्गै पुगेको भान गर्छौं ।
छोरीको घरमा के कस्तो अवस्था छ!हामी बुझ्न चाहान्नौं अनि उहीँ शास्त्र र पुराण सुनाउन थाल्छौं छोरीलाई । घरमा जे भए पनि सहनुपर्छ, दुईचार कुरा भनिहाल्छन् सहनु जति ठूलो कुरा केही हैन यावत कुराहरू । सुखी भए ठिकै छ तर छोरीले घरको कुनै पनि किसिमको आलोचना नगरोस् भन्ने हामीले कहिल्यै । छोरीका गुनासा सुनिदिन्नौ किनकी यदि छोरीको घरमा कुनै किसिमको दवाब छ र घरमा बसिन भने इज्जत जान्छ भन्ने डरले । हामी किन सोच्दैनौ कि इज्जत भन्दा ठूलो त हाम्रा लागि हाम्रो सन्तान हो भनेर ? अनि कहिले र किन ईज्जतका लागि छोरीले अकालमा प्राण त्याग्नु पर्ने हो?इज्जत त छोरी बाँचेछन् त्यस्ता घरबाट भने नै रहन्छ ।
अर्को जटिल समस्या भनेको हाम्रो पारिवारिक संरचनामा पनि छ । हरेक नाता सम्बन्ध बिवादित छन् यहाँ  । सासुबुहारी, नन्दभाउजु, आमाजु बुहारी जस्ता सम्बन्ध सदियौं देखि बिबादित र बदनाम छन् । घरमा विभिन्न कारण समस्यामा परेपछि माईतीमा सहारा माग्यो भने दाजुभाई भाउजुबुहारीले अरू धेरै हेप्ने प्रबृति यहाँ धेरैमा छ । यदि छोरीका समस्या बुझेर माईती पक्षले बेलैमा खबरदारी गर्ने हो भने पनि घटना कम घट्ने थिएन । घरबाट हेलित भएका छोरीहरू माइतीमा पनि आश्रय र अभिभावकत्व बिहिन भए पछि मर्नु र मारिनु नै अन्तिम अवस्था हो ।
 बिहेमा जब दाइजोका अफर हुन्छ त्यो बेला नै बिहे रद्ध नगरी उनिहरूको डिमाण्ड अनुसार खर्च गरेपछि अत्याचार त त्यसै बढ्ने नै भयो । यसकारण यी घटनाका लागि आधाआधि माइती पक्ष पनि दोषी छन् । त्यसैले हाम्रो बिचारमा परिवर्तन आउनै पर्छ ।
एक्काइसौं शताब्दीका आधुनिक, सभ्य मानिस भनेर गर्व गर्ने कसरी ? यो शताब्दीमा पनि महिला दोस्रो दर्जामा नै रहे । हिंसाका घटना न्युनिकरण तथा महिला शसक्तिकरणका लागि नियम नबनेको होईन । संसदले पनि महिला हिंसा न्यूनीकरण गर्न, हिंसामा परेका महिलाहरूलाई सहयोग गर्न र बलात्कार जस्ता जघन्य अपराधबाट पीडित बालिकाहरूको व्यक्तित्व विकासका लागि पहल गर्ने सहितका विषय समेटिएको सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
नीति नियम त बने तर कार्यान्वयन फितलो भएका कारण अपराध भै रहे ।आफ्नै श्रीमती मारेका अपराधीलाई त न्यायाधिशका मनले बढि अपराध भयको भनेर माफी दिएका थिए । यहाँ अपराधीलाई दुई तहमा बिभाजन गरिन्छ । पावरफुल, माथिल्लो निकायमा पहुँच भएकालाई समान अपराधका लागि कम सजायं र तल्लो बर्गका अथवा पहुँच नभएकालाई बढी सजायं गरिएका थुप्रै उदाहरण छन् । न्याय एकनासको नहुंदा पनि अपराध बढेको अनुमान गर्न सकिन्छ । अब सडक हैन संसदमा आवाज उठ्नु पर्र्छ । कहिले सम्म आशामा मात्रै जिउने ? 
महिला हिंसा भयो भन्दा सबैको ईशारा राष्ट्रपति तिर हुन्छ । महिला राष्ट्रपति भएका देशमा महिलामाथि अत्याचार ? महिला संसद, आयोगका प्रमुख, मन्त्री, संसद छन् तर संसद भवनमा छलफलको बिषय नै बनाईदैन । अपराधी कुन देलको हेरिन्छ । यस्तो दलिय अपराध कहिलेसम्म बेहोर्ने ? बनेको कानून लागू होस् । अपराध न्युनिकरणका लागि ठोस आधार तयार गरियोस् । अब पनि संकिर्ण सोंच र पारिवारिक हिंसाका कारण छोरीको घाँटी ननिमोठियोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper