banner
banner

आमनागरिक भएर सोचौं त

शाश्वत शर्मा- - - 
गत शनिवार, जंगी अड्डामा पुगेर गणतन्त्र दिवस मनाइयो । टुँडिखेल र राष्ट्रपति भवनमा मनाइने गरिएको गणतन्त्र दिवस सैनिक जंगी अड्डामा । यो अर्थपूर्ण छ भन्ने धेरैले अनुमान लगाए । बुझौं, आश नगरे हुन्छ । कसैले केही गर्ला र यो भाँडतन्त्र, जनतामारा शासनबाट मुक्ति पाइएला भनेर नसोचे हुन्छ । यहाँ सबैलाई लुट्न छुट छ । यस्तो छुट त्याग्न र सुधार गर्न कसलाई खाँचो ? जेमन्त त्याग्न कोही तैयार छैन । जनतामाथिको अत्याचार, बेथिति सुधार होला भनेर नसोचे पनि हुन्छ । एकथरि कोठे राजावादीहरूलाई प्रम ओलीले राजालाई शक्ति बुझाउँछन् भन्ने ठूलो आशा छ । विचराहरूलाई के थाहा कि ओली पदका भोका हुन् । शक्तिका पुजारी हुन् । उनलाई आफ्ना वरिपरीका चण्डमुण्डको मात्र चिन्ता छ । राष्ट्रपतिको दुरुपयोग गरेर देशको प्रधानमन्त्रीको शक्तिको मज्जा लिन छाडेर उनी किन पो राजसंस्था खोजेर हिड्लान् र ?
आन्तरिक खिचलोले गर्दा केही दिन उनी विरक्तिएका हुनसकछन् । वर्तमान स्थितिमा जनमत यो पद्धति, क्रियाकलापबाट पुरै आत्तिएको छ । आजित छ । तर के गर्ने जनब जब जनजनमा निराशा छाउँछ, तब तब नेपाल विरोधीहरू भित्रै र बाहिरबाट समेत सलबलाउन थाल्छन् । त्यसमाथि एसडी मुनी, श्यामशरणहरू यतिबेला सक्रिय भइसकेका देखिन्छन् । यिनीहरू नेपालमा केही परिवर्तन होला, जनता आक्रोसित होलान् भनेर खबरदारी गर्न थालिसकेका छन् । नेपालका राजाहरू भारत विरोधी हुन्छन् भनेर भड्काउन थाल्छन् । अझ भारत सरकारका संस्थापक पक्षलाई नेपाल हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापित गर्नका लागि वचन दिएका छन् भन्ने आशयका दुर्भावना फैलाउन थाल्छन् अनि नेपालका गणतन्त्रवादी र तिनका भरौटेहरू यस्तै हावा कुरालाई लिएर पूर्वराजाको विरोध गर्न थालिहाल्छन् । जब जब नेपालमा गणतन्त्र असफलशिद्ध हुनथाल्छ, नेताहरू असफल हुन्छन्, तब तब यी खुनी मनी र अधर्मी श्यामशरणहरू र रन्जित रे, राकेश सूदहरू पारीबाट चिच्याउन थालिहाल्छन्– नेपालको गणतन्त्रले भारतको हित गर्छ । यहाँका नेताहरू भारतका मित्र हुन् । कुविचार कति जानेका यिनीहरूले ? दिल्लीसम्म भ्रम फिजाउन भ्याउँछन् । प्रष्ट भन्दा नेपालका राष्ट्रभक्तहरूका साथमा कोही पनि छैनन् । राष्ट्रभक्ति बिस्तारै बिस्तारै मर्दै गएको अनुभूति गरिदै छ । नेपाली नेताहरू लुट्नमा नै व्यस्त छन् भने नजिकका छिमेकी नेपालका भ्रष्ट नेताहरूबाट आफ्ना लाभ लिन व्यस्त देखिन्छन् ।
यो गणतन्त्र दिवसलाई जनताको विजय भएको दिवसका रूपमा मान्नुरे । यो गणतन्त्रले सत्ता पक्ष र विपक्षका जनताबाहेक अरू नेपाली जनताहरूलाई कहाँ देखेको छ ? राष्ट्रपति स्वयम् ओली एमालेमात्र देख्छिन् । यो गणतन्त्रले आम जनतालाई रूवायोमात्र । बोल्न पाइने, लेख्न पाइने गणतन्त्रले भोका र रोगले पीडित नागरिकको कहीँ सुनवाई गरेन । अब बोल्न पाएर पनि मनका भडास निकालेर, लेख्न पाए पनि दुःख कष्टको निवारण कहाँ भएको छ र ? राजनीतिको केन्द्रलाई सर्वोच्च अदालततिर सोझ्याएर कथित गणवादीहरू जनताको मतको अपमान गरिरहेका छन् । अदालतले नै राजनीति देखि पद्धतिसम्मका मुद्दाको फैसला गर्ने र समाधान निकाल्ने निकाय हुनपुगेको छ । हुँदा हुँदा कोरोनाबाट पीडित नागरिकको उपचार गर्नसमेत अदालतले निर्देशन दिनुपरेको देखिन्छ । कहाँ छन् जनप्रतिनिधि ? जनताको सर्वोच्चता ? जता पनि गूट छ, लूट छ । ओलीलाई पन्छाएर अर्को जो आए पनि टेस्टेड आउने हुन्, नैतिक धरातल बलियो भएका कोही छैनन् । आफैले बनाएको संविधानको धज्जी उडाउने नेताहरू गणतन्त्र भन्छन्, यस्ता नाममात्रका गणतन्त्रवादीलाई कति सहने ? अदालत नै सबै कर्ता हो भने संसद किन चाहियो ? यस्ता सेता हात्ती जनताले किन पालिरहने ? जनता अत्याचारविरूद्ध सडकमा नउत्रने हो भने जनता आफै सकिन्छन् । अभिभावकीय राजतन्त्रका लागि जनता घरघरबाट ननिस्कने हो भने अझ बढी दुर्गति भोग्नुपर्ने पक्का छ । प्रधानमन्त्रीका हावादारी र विपक्षीका पद नपाएका छटपटी हेरेर जनताले चूपचाप बस्नु गल्ती हुनेछ । कार्यकर्ता र मतदाताको स्तरबाट आफूलाई बाहिर निकाल्न जरूरी भइसकेको छ ।
जनताले उपचार पाएनन् । भोको पेट रोएर बस्नुपरेको छ । कोरोना महामारी गाउँसम्म फैलिसक्यो । सरकार निषेधाज्ञा लगाएर हलचल गर्न दिइरहेको छैन । राजनीतिक बर्ग केन्द्रदेखि प्रदेशसम्म राजनीतिमै अल्झेको देखिन्छ । सत्ता भ्रष्टाचारमा डुबेको छ । चुनावी बजेट ल्याएर सत्ताधारी चुनाव जित्ने तैयारीमा जुटेको छ भने विपक्षीहरू असंवैधानिक भनेर हतोत्साही देखिन्छन् । हरेक नागरिक, हरेक नेता, हरेक राज्य सञ्जाल एक भएर कोरोनाको विपत र विपतमा परेका नागरिकको कल्याणका लागि जुट्नुपर्ने बेलामा नेताहरू गाईजात्रा देखाइरहेका छन् । संक्रमित र मरेका जनताको शव गनेर राजनीति र सत्ता बर्ग रमाइरहेको छ । जनताको बिजोगमा रमाउने शासन कसरी लोकतान्त्रिक हुन्छ ?
बजेट आयो, यिनै राजनीतिक नेता, कार्यकर्ता र भ्रष्ट कर्मचारीहरूका लागि आयो ? यो बजेटले आमनगारिकलाई पहिले के दियो, अब के दिन्छ र ?
यस्तो बेलामा गणतन्त्र दिवसको अर्थ र औचित्य नै के रहन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper