banner
banner

नेतालाई दशैं, जनतालाई दशा

देवी काफ्ले – 
मिनट मिनटका एम्बुलेन्सको साईरनले मुटु कपाउँछ । प्रत्येक आधा घन्टाका हेलिकप्टरको आवाजले छाती चिरिन्छ । थाहा छैन कतिबेला कुन आफन्तको मृत्युको खबर सुन्नु पर्ने हो ! मन अत्तालिन्छ । अझ यसपालीको कोभिडले त झन् युवा पुस्तालाई बढी आक्रमण गरेको छ । समाचार हेर्दा सुन्दा अब बाँचिने अवसर कम छ भन्ने लाग्छ । तर पनि बाध्यात्मक परिस्थितिसंँग सम्झौता गर्नु नै छ ।
एक बर्ष अगाडि चीनदेखि मृत्युको ताण्डव लगाउंदै युरोपियन मुलुक, भारत हुँदै नेपालमा प्रवेश गर्यो । जब कोभिडले संक्रमण तिब्ररूप लिंदै थियो मन्त्री, प्रधानमन्त्रीले नेपालीको ईम्युनिटी पावर टन्न छ,  हाछ्युंसाछ्यु गरे गैहाल्छ भनेर फुके । लकडाउनको परिस्थिति आयो । मजदुरहरू भोकभोकै खालीखुट्टा घर जान बाध्य भए । समग्रमा दुर्दशा नै भयो । बिस्तारै पहिलेको अवस्थामा फर्कन थालेपनि स्थिति सहज थिएन । नभन्दै हामी आफैले कोभिडलाई निम्त्यायौं ।
यसैबीचमा पुस देखि सरकारभित्र आपसमै खिचातानीका कारण जनताको भिड भव्य तरिकाले लगाउन थाले । आमसभा, जुलुस दिनरात हुन थाल्यो सरकार नै मतियार बन्यो । तेरो जुलुसमा कति मेरो जुलुसमा कति मान्छे जम्मा गर्ने भनेर गरिएको जुलुस स्वयं प्रधानमन्त्रीले र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नै नेतृत्व गरे । जबसम्म सडकमा,जुलुस हिडालेका थिए तबसम्म कोभिडलाई टेर्दै टेरेनन् । त्यसपछि भारतमा लागेको कुम्भ मेलाको भिडभाडबाट शुरू भएको महामारीले उग्ररूप लियो । जुन नेपालमा पनि त्यसरी नै वायुवेगका साथ आयो । आज नेपालमा अवस्था कन्ट्रोल बाहिर छ । घरगाउँसम्म, सहर बजारसम्म कोरोनाको आतङ्क फैलिसकेको छ । आमनागरिक सामाजिक सञ्जाल, समाचार देखेर, सुनेर, हेरेर आत्तिन थालेका छन् । यी आत्तिएकाहरूलाई साथ दिने, सहयोग गर्ने राजनीतिले हो, सरकारले हो, ती जिम्मेवार बनेका छैनन् । किन यस्तो अवस्था आइपुग्यो ? कसरी महामारीले उग्र रूप लियो ? के महामारी रोक्नै नसके पनि कम गर्न समाधानका उपाय के के अपनाईए त ?
सबैभन्दा लापरवाही सरकारबाटै भयो । एकबर्ष अगाडि देखि फैलाएको महामारीबाट वचन र बचाउन स्वास्थ्य ब्यवस्थापनमा घोटाला गरेर भाइरल हुन पुग्यो । न औषधीको ब्यावस्थापन, न पर्याप्त अस्पताल,न स्वास्थ्य सामग्री,न आवस्यक स्वास्थ्यकर्मी यता ध्यान नदिनु नै सबैभन्दा ठूलो भूल भयो ।
सरकारले फेरि अर्को गल्ती गर्यो जुन जुलुस र भेला अनियन्त्रित आन्दोलनका कारण यस्तो अवस्था आईपुग्यो । देश महामारीको चपेटामा पुग्यो ।
अर्को लापरवाही चाहिँ हामी नागरिकबाटै भएको र भैरहेकै छ । कसैको बिहे, टिकाटाला छोड्नै नचाहने । बिहेमा भएका जमघटका कारण धेरै संक्रमित भए र ज्यान पनि गुमाए ।यस्ता समाचार सुन्दासुन्दै पनि जन्ती धेरै लैजानु, भव्य पार्टी गर्नु कति मुर्खता ? सरकारले लकडाउन भन्छ, बिहान बेलुका तरकारी किन्न भन्दै भिड लाग्छन् आम नागरिक । कोभिड बिहान बेलुका नलाग्ने हो र ? हामी आम नागरिकको लापरवाहीका कारण पनि कोभिड यत्रतत्र भयो ।
सरकार अलिकति पनि यो बिषयमा सिरियस भैदिएको भए आज अक्सिजन, आईसियु बेड, भेन्टिलेटर नपाएर यति धेरै नागरिकले ज्यान गुमाउनु पर्दैनथ्यो । सरकार अन्धो बनेर गलत सूचना जारी गर्छ । सरकार भन्छ अस्पतालमा आई सि यु बेड खाली छ तर बिरामीले बेड नपाएर गाडीमै मृत्युवरण गरेका छन् । अक्सिजन नपाएर तड्पिरहेका छन् । आइसियु र भेन्टिलेटरको त आशा नै नगरौं । अस्पताल नै पर्याप्त नहुनु, स्वास्थ्यकर्मी कम हुनुका कारण अकालमा ज्यान गुमाईरहेका छन् संक्रमितहरू ।अहिले त अस्पतालहरूले भर्ना हुन आउन पर्यो भने अक्सिजन आफैले लियर आउनु भन्ने परिस्थिति आयो ।सबै सरकारको बौलट्ठीपन र नादानीका कारण भएको हो । प्रतिपक्षी नेताहरू पनि जिम्मेवार भएनन् ।
भुटान जस्तो सानो मुलुकले कसरी नागरिक सुरक्षा गर्यो ? सिंगापुरले कसरी कन्ट्रोल गर्यो ? सरकारले हेर्र्नु पर्दैन ? राम्रा कामको अनुशरण गर्नु पर्दैन ?
आर्यघाट लगायत देशभरीका मुर्दाघाटमा लाशको लस्कर छ । सरकारका मन्त्री लास जलाउन दाउरा कमी नहोस् भनेर उर्दी जारी गर्छन् । तर अक्सिजन प्लान्ट खडा गरौं भन्दैन । सरकारलाई प्रतिपक्ष पनि सुझाउँदैन ।
अहिले फेरि रडाको छ सरकारमा चुनावको । कार्तिक २६ गते र मंसिर ३ गते चुनाव गर्ने मिति तय गरिसक्यो । यता नागरिक दिनहु संक्रमित हुँदै मर्दै भैरहेका छन् । उता राजनीतिक दलका सदस्यहरू चुनाव भनेर हल्ला गर्न थाल्छन् ।हामी नागरिक निरीह छौं । सरकारले लास गनेर बस्दै छ । अहिले सरकारले बिकासे बजेट जति कोभिड खोप मगाउन सम्झौता गरिदिएको भए या त चुनावमा हुने लागत खर्च यता नागरिक बचाउन लगानी गरिदिएको भए धन्यवादको पात्र हुने थियो । नागरिक औषधी,अस्पताल एम्बुलेन्स नपाएर छट्पटिंदा नेताहरू उपचुनावमा हेलिकप्टर चार्टर्ड गरि हिड्नुले सरकारमा बसेकाहरू संबेदन हिनताका पात्र हुन् भन्न हिच्किचाउँदिन म ।
 नागरिकले जब न्युनतम अधिकार स्वास्थ्य उपचारको अधिकारबाट बन्चित छन् भने दुई तिहाई होईन पांचतिहाई भए पनि निकम्मा हो । अझै झोले फटाहाहरूको बिगबिगी उत्तिकै छ । घाटघाटमा लाशको थुप्रो छ । यस्तो बेला भैराखेको सरकार मिलेर नचलाएर चुनाव भन्दै, मुद्दा मामिला भन्दै जान्छन् भने यस्ता गैर जिम्मेवार नेता हामीलाई चाहिदैन । बिचार पुर्याऔं ।
बालबालिकाको पढाइ अलपत्र छ । व्यापार ठप्प छ । यस्तो बेला पनि सरकार कर तिर कर तिर भन्छ हामीजस्ता अनागरिकले कर तिर्ने कि पेट भर्ने ?
जनताले तिरेको करबाट हेलिकप्टर सयर गर्न सहज होला तर हाम्रा आत्माले दिएको श्रापले मुक्ति पाउने छैनौ नेतृत्वहरू ।  
आज दुई तिहाईको सरकार पनि ढाकाको टोपीमा गुंयलाको फुल बनाएर चुनाव भनेर, सत्तामा पुगिन्छ भनेर दस हात उफ्रेका छौनि, भोलि ती आर्यघाटका लाशहरूले धिक्कार्ने छन् । यस्तो विषम परिस्थितिमा पनि स्वार्थसिद्धिका खेल खेल्दै नागरिकको बाँच्ने बचाउने आशमाथि अझै गैरजिम्मेवार बन्ने हो भने नागरिक जति लास बन्नेछन् तिमीहरू दशैं मनाउँदै गर । सक्छौ भने लाशमाथि परेड नखेल । हामी बाँच्न चाहान्छौं सरकार । जनतालाई बचाउ नेताहरू ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper