banner
banner

महामारीबीच राजनीतिक द्वन्द्व

शाश्वत शर्मा- - 
जनता मरून् कि बाँचुन, यसकोमतलव भएन । जनताका प्रतिनिधि हौं भनेर आफूलाई दावी गर्नेहरू चैं जनतामाथि शासन गर्न हानाथाप गरिनै रहेका छन् । पछिल्लो प्रकरणका अनुसार अब मुलुक मध्यावधि चुनावमा होमिने भयो । करीब दुई तिहाइले पनि पाँच वर्ष सरकार चलाउन सकेन । यति दह्रो सरकार पछिल्लो चरणमा अल्पमतमा प¥यो र प्रधानमन्त्रले गत शुक्रवार मध्यरातमा गरेको कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने गरी गरिएको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति प्रदान गरेकी छिन् । त्यसो त शुक्रवार नै साँझ ५ बजेसम्म सरकार बनाउन चाहिने आवश्यक बहुमत ल्याउन राष्ट्रपतिले आह्वान गरेकी पनि हुन् । त्यसेका लागि कांग्रेस, माओवादी, एमालेको माधव समूह र जसपाको उपेन्द्र बाबुरामको समूहले मिलाएर १४९ र केपी ओलीको एमालेले महन्थसहितको १५३ सांसदको नाम राष्ट्रपति समक्ष पेश नगरेका चाहीँ होइनन् । तर बाँकी रहेका २७१ सांसदभन्दा बढी संख्या भएपछि दुबै पक्षले तानातान गर्न थालेपछि दुवैतिर धेरै सांसदले सही धस्काइदिए । राष्ट्रपतिले कानुन हेर्छु भनेकी थिइन, कोसँग परामर्श गरिन् थाहा भएन, तर निष्कर्ष निकालियो– दुवै पक्षको दावी पुगेन । यो निष्कर्षबाट उत्साहित भएर प्रम केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेर आधारातमै मध्यावधि चुनावको सिफारिस गरिदिए ।
झगडा सुरू भयो । अब के हुन्छ ?
स्पष्ट छैन, सडकमा कांग्रेस, माओवादीले डायर, पुतला जलाउन थालिसकेका छन् । प्रतिगमन भाग् दुर्इ भन्दै जनतालार्य भड्काउन खोजेका छन् । अन्ततः थाकेर सबैथरि चुनावमा होमिने बढी सम्भाबना छ । अनि हामी नेपाली जनता, फेरि पनि यस्तै प्रवृत्तिलाई मत हाल्नेछौं, त्यो पनि उत्साहित भएर । यस्तै चक्र चलिरहनेछ । यी लुटाहहरूले मुलुक र हामी नेपालीलाई लुटिनै रहन्छन् । हामी यसरी नै यो कथित लोकतान्त्रिक अभ्यासमा रूमल्लिइ नै रहनेछौं । फेरि पनि भनौं,  यो पद्धति नै असफल भइसक्यो । रोग, भोक र शोकले जनता मरिरहेका छन् । यता जनप्रतिनिधि हौं भन्नेहरू कानुनी र राजनीतिक लडाइमा जाने कुरा गरिरहेछन् । जनतामाझ जान तैयार देखिदैनन् । सत्तामा बसेर चुनाव गराउन पाए अग्रगमन हुन्, अन्यथा प्रतिगमन हुने दाउपेच चलिरहेको छ ।
अदालतको प्रक्रिया लामो हुनसक्छ, कानुनी लडाइमा जे होला, त्यतिबेलासम्म अक्सिजन नपाएर र उपाचार नभएर कति नेपालीले मर्नुपर्ने हो । प्रतिनिधिसभा पुनः पुनस्र्थापना होला अथवा चुनावमै जाला तर यो कस्तो लोकतन्त्र हो, महाविपतमा पनि लोकनेताहरू लोकका साथमा देखिएनन्, सत्ताको झगडामा व्यस्त भइरहेछन् । गगन थापाजस्ता युवादेखि रामचन्द्र पौडेलसम्मका बृद्धसमेत प्रतिगमनका विरूद्ध सडकमा जनतालाई उत्रन आह्वान गरिरहेका छन् । मर्ने कि बाँच्ने भन्ने दोसाँधमा रहेका जनताले यिनैलाई साथ देलान् ? होनहार भनिएका पार्टीका क्याडर भने सडकमा मसाल बोकेर निस्किएका छन् । मसाल बालेरै प्रतिगमन सच्चिन सक्छ ? मरिरहेका नेपालीलाई बचाउन सक्छ ? बढ्दो कोरोना संक्रमण कम गर्न सकिन्छ ? आम नागरिक मृत्युको मुखबाट राजसंस्था गुहारीरहेका बेलामा पूर्वराजाले कडा ट्वीट गर्नुभएको छ । आफ्नो ट्वीटमा वहाँले राजनीतिक दलहरूले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेका छन् । साथै वहाँले यस्ता शासक र मतियारको अपराधलार्य जनताले कहिल्यै क्षमा नगर्ने पनि बताउनु भएको छ ।
पूर्वराजाको ट्वीटको अनेक अर्थ लाग्न सक्छ । अब यो व्यवस्थाको समय सकियो । अब यी लुटाह नेताहरूको शासन गर्ने समय पनि सकियो । महाविपतका बेलामा भ्रष्टाचार र सत्ता द्वन्द्व चर्काइएको छ । महाविपतमा झुल्सिएका जनतालाई साथ दिन छाडेर नेताहरू जुलुस निकाल्दैछन् । अब विपक्षीहरू उग्र नारामा र सत्तापक्ष जोगिने खेलमा लाग्नेछ । मर्ने त जनता नै हुनेछन् । यो पद्धतिका अगुवाहरू कसैमा पनि कर्तव्यप्रतिको चेत नै देखिएन । दलीय व्यवस्थामा चरित्र निर्दलीय देखियो । जनताप्रतिको जिम्मेवारी कहिल्यै बोध गरेनन् । मित्रराष्ट्रहरूले नेपाली जनतालाई बचाउन स्वास्थ्य सामग्री, नगद पठाइरहेका छन्, त्यसको समुचित व्यवस्थापनसमेत गर्न सकेन यो सरकारले, गराउन सकेनन् यी दलहरूले । सांसद भनाउँदाहरू दानका अक्सिजन सिलिण्डर घरमा थुपारिरहेका छन्, निर्वाचन क्षेत्रमा पु¥याइरहेछन्, मन्त्रीहरूको चरित्र पनि यस्तै देखिन्छ । कोरोनापछि कालो ढुसी नामक अर्को महामारी भारतबाट नेपाल पसिसक्यो । जनतालाई बचाउने र देशलाई महाविपतबाट उम्काउने सोच, एकता पटक्कै देखिएन । विपक्षीहरू सरकारलाई आक्रमण गर्ने, सरकार बीचबचाउ गर्दा गर्दै जनता हरेक दिन संक्रमित भइरहेका छन्, मरिरहेका छन् ।
यो राजनीति होइन, मानवताविरोधी कार्य भइरहेको छ ।
यस्ता व्यवसायीलाई अझै पनि जनताले नेता मान्ने, नेता बनाउने ? नेपाली पनि रहन्नन्, नेपाल पनि रहन्न । शितल निवासदेखि गाविससम्म दलीय गुटवन्दी, भ्रष्टाचारको सेटिङ, माफियाको चलखेलभन्दा बढी केही छैन । न्याय अन्याय छुट्याउने संस्थाको अभावमा टुहुरो भयो, देश, टुहुरा भए देशवासी । अब पनि आफ्ना लागि जनता सडकमा नउत्रिए कहिले उत्रने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper