banner
banner

कोरोना आतङ्कबाट हिम्मतले बाँचे

देवी काफ्ले – 
कोभिड आतंकले आतंकित बनाउँदै थियो । भारतको कोरोना बाढी नेपाल पसिसकेको थियो । सरकार र जनता सजग हुनुपर्ने ठाउँमा भिड जम्मा गर्ने प्रतिष्प्रधामा थिए । आजको अस्पतालको र संक्रमण अनि मृतकहरूको अवस्था त समाचारले पुष्टि गरेकै छन् ।
कोभिडको बाढी मत्थर पार्न बैसाख १६ गतेदेखि सरकारले लकडाउनको घोषणा गर्यो । १८ गते दिनभर बैनीले, छोरीले जिलेबी, गुलावजामुन बनाएका थिए खायौं । जब साँझ पर्न लाग्यो अनि मलाई एक्कासी टाउको दुख्यो, हाछ्युं आयो । हल्का एलर्जी होला भने तर एकछिनपछि जब ननस्टप हाछ्युँ आउन थाल्यो म डरले पानी पानी भएँ । किनकी लकडाउन भन्दा दुईदिन अगाडि म भाटभटेनी पुगेकी थिएँ । नयाँ भेरियन्ट सहितको कोभिडको हल्लाले मलाई शान्त हुन दिएन । मैले कसैको सल्लाह बिना नै दुई चक्की सिटामोल खाएँ र छुट्टै कोठामा सिफ्ट भएँ । राती टाउको दुख्यो हाछ्युं आउन सकेको थिएन । सायद मेरो मनोबल एकदम गिरेको थियो । भोलिपल्ट ज्वरोले निष्लोट थिएँ । आँखा उघारेर हेर्ने शक्ति छँदै थिएन । घरपरिवारका सदस्य आत्तिएको देख्थें, मन मारिसकेको थिएँ । पानी, खाना औषधी पालैपालो लैजान्थे आफुलाई हँ समेत भन्न धौ भैराखेको हुनाले दिक्क लाग्थ्यो । मेरा श्रीमान कोठामा पसेर कस्तो छ भन्नुहुन्थ्यो, म आँखाको ईशाराले ठिक छु भन्थेँ ।उहाँको बेचैन अनुहार देखेर फेरि हैट मलाई केही हुन्न जाबो ज्वरो जहिले पनि त आएकै हो भन्ने लाग्थ्यो । कान्छो छोराले मम्मी भनेपछि अबिरल आँसु बग्थ्यो । बैनी पनि लकडाउन अगाडि बच्चाको स्कुल बिदा भएकोले यहि आएकी । उसले निरीह आँखाले हेर्थी । छोराछोरी नजिक जान, छुन पाए हुन्थ्यो जस्तो गर्थे तर मैले नजिक नआउनुको उर्दी जारी गरेकोले आँट गर्दैनथे । न्युजिल्यान्डबाट छोरीले फोन गर्थीन् अनि नातीबाबुलाई हेर्थें । लाग्थ्यो अब देख्नै नपाउने होला । अमेरिकाबाट छोराले फोन गर्थ्यो अब भेट्न पाउँदिन भनेर मन भरिन्थ्यो तर उसलाई भन्थें– मलाई केही भाछैन, ज्वरो मात्र आको हो । हरसाल मलाई रूघाज्वरोले सताउँथ्यो भन्थें । मेरो मनले चाहिँ आशा मारेकै हो । मलाई लाग्यो– मान्छेलाई बाँच्ने बलियो आधार परिवार रहेछ जसले कालको बाटो रोक्दो रहेछ । अर्को स्वास्थ्यकर्मी, देश बिदेशमा रहेका मेरा शुभचिन्तकहरूको हौसला । 
सिटामोल खाँदाखाँदै पनि ज्वरोले आफ्नो रफ्तार रोकेको थिएन । तेस्रो दिनको सांझ ईन्दिरा प्रसाईं दिदीले घरेलु उपचारको लिंक पठाउनु भयो । तुरून्तै हेरेँ । अनि आशा पलायो भनेर निबु मगाएर नाकमा दुईदुई थोपा राखें ।
चौथो दिनमा मेडिकल गएँ । मलाई ज्वरोमा टाइफाईड हुँदाको लक्षण केही थाहा थियो । मेडिकलमा टाईफाइड चेक गर्न रगत दिएर आएँ । मनमनै हे भगवान बरू टाइफाईड नै होस् भन्ने लागेको थियो । काफ्लेजीले तिम्रो सदाबहार ज्वरो हो केही हुन्न भन्ने तर मनको बेचैनी लुकाउन नसक्ने भैराखेको थियो । सुतेको मान्छे राति उठेर जानुहुन्थ्यो र के छ ठिक छ नि भन्ने अनि घन्टौं बसेर गफ गरिदिने । दूरी कायम गर्नु है भन्थें । पाँचौं दिनमा ज्वरो केही मत्थर भयो तर शरीर गलेर उठ्नै सकिन । श्रीमानलाई मेरो पिसिआर टेष्ट गर्न जाउँ भो गाह्रो भयो भने । उहाँ आत्तिनु भयो । साथीहरूको सल्लाह अनुसार नजाने भैयो । समाचार हेरेको त्यसै बेला नवलपरासीमा एकजना पुरूषलाई ट्याक्टरमा लोड गरेर हस्पिटल लैजान लागेको,बुटवलमा हस्पिटलको पछिल्लो गेट अगाडि मान्छे तड्पियर मरेको, नेपालगन्जको हस्पिटलको अवस्था सुनेपछि म फेरि सिरियस भएँ । ल अब मैले उपचार पाउँदिन त्यस्तै मर्ने हो भन्ने लाग्थ्यो । अनि सिथिल हुन्थें ।
ल्यावको रिपोर्ट आयो नभन्दै टाईफाइडकै । म खुशी भएँ । धन्न भगवान भनेर काफ्लेजीको मुख हेरें । उहाँ ढुक्क हुनु भो । हे भगवान दिन पनि कस्ता आए टाईफाइड भयो भन्दा खुशी मनाउन पर्ने । तै पनि मनमा कोभिडकै त्रास थियो ।
मुख्य कुरा त खानामा मेरो स्वाद हराइसकेको थियो । बाथरूममा सुँघ्दै हिँडे । बास्ना थिएन । प्रेसर ६० मा झ¥यो । तातोपानी, चना उमालेको झोल, मकै उसिनेको पानी, अनेक सुप, मसुराको दाल जबरजस्ती पिएको पियै गरें । यो कठिन घडीमा बलियो उपचार भनेकै आत्मबल रहेछ । आत्मबल बढाउनका लागि स्वास्थ्य सुझाव, खानपान, पारिवारिक माहोल, मायाममता आदि रहेछ ।
सामाजिक सन्जाल, समाचारका च्यानल हेर्दा पुरै जिउँदो लास सरह अर्थात अब म बाँच्दिन भन्ने लागे पछि उठ्न कठिन रहेछ । स्वास्थ्य मन्त्रालयले भेन्टिलेटर ७३% आइ सि यु बेड ५८% खाली भन्छ । उता जनताले उपचार नपाएर बाटोघाटो मै तड्पियर मर्नुपर्छ । एक हप्ता अगाडि देखि नै बेड खाली नभएको अस्पताल भन्छ । यस्तो आतंक फैलाएको बेला कसले आत्मबल बढाउन सक्छ ?
 सचेतना अपनाऔं । आत्मबल गिर्न नदिउं । पारिवारिक वातावरण रमणीय बनाउँ । कोभिड जितिन्छ । हिम्मत र हौसला दिने प्रियमनहरूप्रति आभारी छु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper