banner
banner

कहिले चेत खुल्छ जनताको ?

शाश्वत शर्मा- -
एकजना भन्दै थिए, हाम्रा नेता एकदम सही छन् । मूर्ख, अज्ञानी अनि नालायक त हामी जनता पो हौं । उनको तर्क थियो– सही र गलत नै छुट्याउन नसक्ने हामी अनि नेतालाई दोष दिएर हुन्छ ? यतिबिघ्न कोभिडको महामारी फैलिएको छ । सरकारी तैयारी केही छैन । औषधि, खोपको त कुरै छाडौं । अत्यावश्यक मानिने अक्सिजनको आपूर्तिसमेत मिलाउन सकेन यो सरकारले । समयमा एम्बुलेन्स र अक्सिजन उपलव्ध गराउन नसकेर यही राजधानीमै सरकारी कर्मचारीले ज्यान गुमाए भने मोफसलमा आमनागरिकको हाहाकार छ । यत्रो सरकारी नालायकी भोग्दाभोग्दै पनि जनता संसदमा पेश गरिएको विश्वासको मत लिने प्रक्रियामा आकृष्ट छन् । चर्चा सुन्छन्, आश्चर्य ?
प्रम ओलीले विश्वाको मत लिन सक्छन् कि सक्दैनन्, जसपाले के गर्छ ? एमालेभित्रको माधव, झलनाथ समूहले केगर्छ ? प्रचण्ड र देउवाबीच सहमति हुनसक्छ कि सक्दैन ? यत्तिकैमा रमाएर बसेका छ नेपाली समाज । दिनानुदिन कोरोनाले भयंकर रूप धारण गरिरहेको छ । निषेधाज्ञा जारी गराएर ओली सरकारले आफ्नो कर्तव्य पूरा गरेको ठानिरहेको छ । अहँ, नेपाली त व्यापारी सूरज वैद्य, विजय दुगडहरूले जाबो अड्तीस करोड कमिशन, खोप खरिद गरेर ल्याउँ, त मागेका रहेछन् भनेर हिसाव गरेको ग¥यै छन् । आफ्नै कुरामा मतलव नगर्ने, हामी कस्ता ? एकातिर एम्बुलेन्स नपाएर जनताले मृत्युवरण गर्नुपरेको छ भने अर्कोतिर देशका गृहमन्त्री चुनावी नामांकन भर्न हेलिकोप्टरमा हेटौडा पुग्छन् । जनतलाई यस्ता कुरा अलिकति पनि बिझ्दैन । व्यापरीले भनेजस्तो कमिशन नपाएर खोप ल्याउन नसकिएन भनेरसम्बन्धित मन्त्रालयका मन्त्रीले पनि स्वीकार गरिसके । खोप लगाइदिन पाएको भए गम्मभीर प्रकृतिको असर झेल्न पर्ने थिएन । मृत्युदर कम हुनेथियो । कात्रोको व्यापार गर्न तम्सिनेहरूले महामारी निम्त्याए, मानवीय अपराध गरे, खोप ल्याएनन् । अनेक मित्रराष्ट्र, छिमेकीहरूले सहयोग गर्छौं भन्दा, के चाहियो सूची देउ भन्दा सरकार दलालको कुरा सुनेर दिदैनन् । खाली भ्रष्टाचारमा डुृब्नेहरू देखेर पनि जनता बोल्दैनन् । जनता भनेका मात्र रमिते भएर बस्ने हो ? सरकारले सेटिङ्मा भ्रष्टाचार गरेको थाहा पाएर पनि रमिता हेरिरहने हो ? जनता मरिरहदा जनता बोल्दैनन् भने उनीहरू मनोरञ्जन लिइरहेका छन् भन्नुपर्छ । युवा जमात र नागरिक समाज पनि जनतालाई सजग गराएर महामारी नियन्त्रणमा आवाज उठाउनु पर्नेमा सबै चूपचाप छन् । दलीय नेताहरू सत्ताको लुछाचुँडीमा लागेका देखिन्छन् । जनता नेताको यस्तो झगडालाई चियागफ बनाइरहेका छन् । माथि नै भनियो, यहाँका नेता सही छन्, जनता लायक छैनन् । नेता त व्यवस्थाअनुसार व्यवसाय गरिरहेका छन् । परिवार, आफन्त पार्टीका लागि राजनीतिलाई व्यापार बनाइरहेका छन् । तर लोकतन्त्रका मालिक, सार्वभौम भनिएका जनता ? सही र गलत छुट्याउन सक्देनन् । कहिले ओलीको पलडा भारी त कहिले माधव गूटको । यस्तै कुरामा लेखाजोखा गरेर स्वास्थ्योपचारसमेत नपाएर मरिरहेका छन् जनता । यस्ता जनताकी अभिभावक मानिएकी राष्ट्रपतिको चर्चा पनि यस्तै छ । उनी जनताको दुरावस्था हेर्दिनन् । दलीय राजनीति गरिरहेकी देखिन्छिन् । नेपाली जनता किन उपचार नपाएर मरिरहेका छन्, राष्ट्रपतिको चासोको विषय बनेकै छैन । उनलाई सहज हुनुप¥यो, जनतालाई सकस भए होस् ।
राष्ट्रपति संरक्षक हुनुपर्ने, एमालेको दलदलमै छिन् उनी । राजा हुँदो हो त जनताप्रति जिम्मेवार हुन्थे, दलीय नेता जनता मर्दा संवेदनहीन हुनेरहेछन् । यस्ता दलीय राष्ट्रपतिलाई के मतलव देश र जनताप्रति ? सरकार जनताप्रति विभेदी भयो भयो, राष्ट्रपति झन जनविरोधी रूपमा स्थापित भएकी छिन् । उनलाई आफ्नै नातेदार र आसेपासेको चिन्ता छ, देश र जनताको वास्ता गरेको देखिदैन । जनता हरेक दिन मरिरहेका छन्, डाक्टरहरू नै भनिरहेका छन्– प्रभावशालीका मान्छेले भर्ना पाएका छन्, अक्सिजन पाएका छन्, उपचार हुन्छ तिनको तर आमनागरिकका लागि बेड छैन, अक्सिजन छैन, उपचार छैन । यो अवस्थामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू अस्पताल अस्पताल पुगिदिएको भए आमनागरिकले उपचार पाउँथे, अकालमा मर्नुपर्ने थिएन् ।
यसकारण पनि देशमा राजसंस्था अपरिहार्य भयो । यसो भएन भन आमजनताको हालत अरू चौपट हुनेछ । जनताले सरकारले के ग¥यो, कस्तो निर्णय ग¥यो, को को कुन कुन गुटमा पुगे, अब सरकार कस्तो बन्छ ? जस्ता कुरामा अलमलिनु हुन्न । यस्तोमा जनता कृपया नअलमलिउँ । सरकारले जनतालाई दिनैपर्ने आधारभूत सुविधा दिनैपर्छ भनेर लडौं । नेताहरू जनताप्रति जवाफदेही हुनैपर्छ भनेर लडौं । कर तिर्ने जनता, मस्तीमार्ने नेता ? यस्तो हुनबाट रोकौं । जनता हुनका लागि हक अधिकार हुनैपर्छ, त्यसका लागि लडौं । जनता भनेका यिनका हलिया होइनन् भनेर उठौं । जनता यसैगरी चूपचाप बसे भने यिनको हौसला अरू बढ्नेछ, यिनले जनतालाई उपचार नै नदिई गाउँ गाउँ मसानघाट बनाइदिनेछन् । यसकारण उपचारका लागि पनि जनताले सामुहिक रूपमा आवाज उठाउन जरूरी छ । अन्यथा विचौलिया, भ्रष्टाचारी, बेइमानहरूको हालीमुहाली अरू बढेर जानेछ । जनता चूप लाग्नु भनेको सजाय पाउनु हो । आमनागरिकलाई चेतना होस्, अन्याय सहने होइन, न्याय माग्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper