banner
banner

प्रिय, तिमी सोनु सुद बन न

देवी काफ्ले- - - 
प्रिय, मिठो सम्झनाका साथ तिम्रो सुस्वास्थ्यको कामना गर्दछु । तिमीसँग भेट नभएको पनि महिनौं भएछन् । फेसबुकको म्यासेन्जरका च्याटले मात्रै मायाको अस्तित्व नबोक्दो रहेछ । एक झल्को देख्न नपाउँदा मन बेसरी छट्पटिने रहेछ । तिमी जिम्मेवार ठाउँमा छौ । म मात्र र तिम्रो परिवारको मात्रै जिम्मेवारी पूरा गरेर नहुने ठाउँमा भएका कारण होला अचेल बातचित पनि पातलिएका छन् तर पनि देश, काल र परिस्थिति अनुसार सहज मान्नैपर्छ मानेकै पनि छु ।
प्रिय, आज हाम्रो देश मात्रै हैन विश्वका शक्तिशाली देशहरू पनि एउटा भाईरसका कारण रोई रहेछन् । चाइना रोयो, इटली रोयो, अमेरिका रोयो, भारत रोइरहेछ । हामी पनि रोइरहेछौं । जबजब विश्वका समाचार सुन्छु हेर्छु तबतब लाग्छ अब यस जन्ममा हाम्रो भेट हुँदैन । मृत्यु शाश्वत हो स्वीकारौंला तर मृत्यु स्वीकार्न भन्दा गाह्रो त उपचार नपाएर जीवनसँग लड्दै मरेकाहरू देखेर हुँदोरहेछ ।
जनताप्रति उत्तरदायी सक्रिय सरकार भएका देशले त आफ्नो देशका नागरिक सुरक्षित रहुन् भनेर अन्तर्राष्ट्रिय उडान बन्द गरे । देशमा भएका कामदारहरू, मजदुरहरूलाई सामुदायिक केन्द्रहरूबाट भत्ता तथा अन्य सहयोग उपलब्ध गराउँदै भोकै मर्न नपर्ने गरि राज्यले सहयोग गरिरहे गरिरहेका छन् । सरकार बाहेक संघसंस्था, व्यक्तिहरूले पनि सहयोग गरिरहेका छन् । हुन त यहाँ पनि कैयौं, संघसंस्था, युवाहरू खटेका छन् सहयोग गरिरहेका छन् तर राज्यबाट जनताप्रति जति उत्तरदायित्व निर्वाह हुनुपथ्र्यो, भएको छैन । त्यसको जिम्मेवार एक नम्बरमा तिमी हौ किनकि नीति निर्माण गर्ने ठाउँमा तिमीले नेतृत्व गरिरहेका छौ ।
प्रिय, देशको खुला सिमाना, हाम्रो गरीबी, राष्ट्रको गैरजिम्मेवारीपनले सीमा नाका बन्द गर्न नसक्दा पनि कोभिड महामारीले अझ उग्र रूप लियो । सबै कुरा गर्न सक्दैनौ तर रोकथामको लागि खट्न त सक्थ्यौ नि ? हिजो गाउँकै एउटा जनप्रतिनिधिले अस्पतालमा बेड र उपचार नपाएर ज्यान गुमाए । यसले सहजै अनुमान लगाउन सकिन्छ कि तिमी बसेको नेतृत्व पंक्तिमा कति संवेदनहीनता छ ? जनप्रतिनिधिले त उपचार नपाएर मर्छ भने हामी जस्ता सर्वसाधारणले उपचारको के आशा के गर्नु ? दैवले मृत्यु नै दिन खोजेको हो भने अब सहज मृत्यु देओस् भनेर प्रार्थना गर्नु सिवाय हामी उपाय नास्ति भएका छौं ।
प्रिय, तिमीले नेतृत्व गर्न थालेदेखि राम्रा काम गरेकै छैनौ म भन्दिन । सायद अहिले जस्तो विषम परिस्थितिको सामना गरेका थिएनौ होला । फेरि भूकम्पले तहसनहस पार्दा गरेको थिएँ भनेर भनौला । ग¥यौ राम्रो भयो तर यो अवस्था फरक हो नि । यो महामारी एक वर्ष अगाडिदेखि मच्चिएको महामारी थियो । विश्व जगत मुख्य प्राथमिकताका साथ यो महामारीको विरूद्धको भ्याक्सिन बनाउन अनवरत लागिरहेको थियो तर तिम्रो नेतृत्वले के ग¥यो ? प्रिय के ग¥यो ?
आवश्यकता अनुसार अस्पताल बनाउन र व्यवस्थापन गर्न समेत सकेन । यहि हैन सत्य ? देशमा नागरिकको सुरक्षा भन्दा आफ्नो कुर्सी पकड बलियो बनाउन कटिबद्ध भएर लागेको तिम्रो नेतृत्व देख्दा तिमीले आफना नागरिकलाई कुन मनले कस्तो मुटुले माया गरेका रहेछौ ? छुट्याउनै गाह्रो भयो । तिम्रो नेतृत्वले कसलाई देखाउन र केका लागि त्यत्रो भीड जम्मा गरेको थियो ? जसका कारण कोरोना भयावह बनेर आयो ? आफै भीड जम्मा पार्दै हिँड्ने अनि जनतालाई दोषारोपण गरेर उम्कन खोज्ने ? लाज लाग्छ कि नाई ? हाम्रो तर्फबाट सोधी देउ न !
प्रिय, एम्बुलेन्स नपाएर ट्याक्टरमा लोड गरेर स्वास्थ्य चौकी लैजाँदै गर्दा हाम्रा गाउँले बिरामी काका बाटैमा मरे तर तिम्रा गृहमन्त्री भने हेलिकप्टर चार्टर गरेर चुनावका लागि नाम मनोनयन दर्ता गराउन हेटौंडा पुगे । सहकर्मी साथीले सीमा नाघेर औसत दर्जाको गल्ती ग¥यो भनेर तिमीलाई लज्जावोध भएन हगी ?
प्रिय, गुनासा धेरै छन् । कति सुनाउँ ? हरेक प्रेमिका आफ्नो प्रेमी संसारको सबैभन्दा सुन्दर मनको होस् भन्ने चाहन्छे । म पनि तिमीलाई त्यस्तै सुन्दर मनको असल व्यक्ति भएको देख्न चाहन्छु । आज भारतमा हेर त जनता मोदी सरकारको होईन कि सोनु सुदको लागि जयजयकार गर्दैछन् । उनी पनि त तिमी जस्तै मान्छे हुन् । उनले पीडित र व्यथितका लागि खाद्यान्न उपलब्ध गराएका छन् । बिच बाटोमा वा आपतले अल्झेर बिचल्लीमा परेका यात्रुहरूलाई प्लेन चार्टर गरेर गन्तव्यमा पु¥याएका छन् । अक्सिजन जसरी तसरी व्यवस्थापन गरेका छन् । हुँदाहुँदा त लास जलाउने दाउरा र ठाउँ समेत उनैले व्यवस्था गरेका छन् । उनलाई मिडियाले कसरी खर्च व्यवस्थापन गर्नुभएको छ ? भनेर सोध्छन् तर उनी जवाफ दिन चाहान्नन् । किन थाहा छ प्रिय ? किनकि उनले यो काम मानवीय कर्तव्य निर्वाह गरिरहेका छन् । उनी भन्छन् ‘मैले केबल आर्तहरूको चह¥याएको घाउमा मलम लगाउन सकुँ अरू त हुँदै गर्छ’ । सोनु सुदले करोडौं ऋण बोकिसकेको सुन्नमा आएको छ तर पनि उनले हरेस खाएका छैनन् किनकि उनको सहयोगी मनलाई कसैले अवरोध पु¥याउनै सक्दैन । हो प्रिय आज म पनि तिमीमा उनै सोनु सुदलाई देख्न चाहान्छु । के तिमी मेरा लागि सोनु सुद बन्न तयार छौ ? प्रिय, यदि मेरो खुशी चाहन्छौ र दिन्छौ भने मेरो झोलीमा कोभिडले आक्रान्त भएकालाई दिनसक्ने मलम देउ जुन मलमले आर्तहरूको चह¥याएको घाउ निको होस् । प्रिय तिमी जनताको आशाको केन्द्र बिन्दु हौ । आर्तहरूको आशा मर्न नदेउ । उठाउ ती ढलेका मानव आशाका त्यान्द्राहरूलाई । उही तिमीलाई माया गर्ने मान्छे ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper