banner
banner

चाहिएन यस्तो लोकतन्त्र

शाश्वत शर्मा- -
वैशाख ११ गते, लोकतन्त्रमा विश्वास नभएकाहरूले धूमधामका साथ लोकतन्त्र दिवस मनाए । शुभकामना दिए, बधाई साटासाट गरे, उद्घाटन गरे आदि । यसरी लोकतन्त्र दिवस मनाए, मानौं लोककै तन्त्र हो । तर होइन, व्यवहार कार्य ठिक उल्टो छ । प्रजातन्त्तलाई मेटेर लोकतन्त्र नाम राखिए पनि यहाँ लोकको तन्त्र छँदैछैन । यहाँ त नेतातन्त्र छ, पार्टीतन्त्त छ । हत्यारा, बलात्कार, माफियातन्त्र छ । भ्रष्टाचारतन्त्र छ, खै कहाँ छ लोकतन्त्र ? वैशाख ११ गते नै हो श्री ५ को सरकारबाट नेपाल सरकारमा परिणत भएको । अफसोच, यहाँ नेपाल सरकार सिर्फ सरकारी बोर्डमा छ, लेटरप्याडमा छ । यहाँ त ओली सरकार, देउवा सरकार, माधव सरकार, प्रचण्ड सरकारहरूको बोलवाला थियो र छ । अधिकांश सरकारी कर्मचारी, प्रहरीलगायतका सुरक्षा अंगहरूसमेत यी माथि उल्लेख गरिएका सरकारहरूसँग सम्वद्ध छन् । यिनका लागि नेपाल सरकार त तपपशील हुनगएको छ । अरू त अरू केही नेपालीहरूसमेत नेपाल सरकारसँग नभई माथि उल्लेख गरिएको सरकारसँग जोडिएका छन् । तिनीहरू तिनलाई नै विश्वास गर्छन् । सिंहदरवारमा रहेको नेपाल सरकार र संविधानमा रहेको व्यवस्था थपनामात्र हुन् । लोकतन्त्र त यिनले मनलागी चलाएका छन् ।
यतिबिघ्न गन्थन गर्नुको तात्पर्य के हो भने अहिले लोकतन्त्रको नाममा भाँडतन्त्र चलिरहेको छ । सत्ता स्वार्थ र पार्टी स्वार्थका लागि सिंगो संविधान ओझेलमा पारिएको छ । संविधान नै ओझेलमा परेपछि आमनागरिकको मूल्य नै के रहन्छ र ? ३ वर्षे ओलीको कार्यकाल भ्रष्टाचारदेखि सरकारी सम्पत्ति हिनामिनाका काण्डहरूमा बिते । अधिकांश नेताहरू यी भ्रष्टाचारकाण्डमा मुछिएका छन् । सरकारी जग्गा, यती समूलाई कौडीको मूल्यमा भाडामा दिइयो । ओम्नी समूहको भ्रष्टाचार ठूलै मुद्दा बन्यो । वाइडबडी काण्ड पनि देशघातक काण्ड नै हो । यसबापत ओली र उनको समूहले अर्वौं झट्कारेको कुरा त नेपाल ट्रष्ट र महालेखाको रिपोर्टले नै बताइरहेको छ । त्यस्तै चीनले अनुदानमा दिने स्वास्थ्य उपहरण नल्याइ साठी प्रतिशत महगोमा सामान ल्याएर मुलुकलाई घाटामा पारियो, जनताको शोषण गरियो । यसबाहेक सेक्युरिटी प्रेस खरिद काण्ड र मन्त्रीको राजीनामा पनि चर्चित नैतिकहीनताकै उदाहरण हो । लोकतन्त्र र सुशासनका कुरा गर्ने गिरिजाप्रसाद कोइराला, माधव नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, प्रचण्ड, शेरबहादुर देउवा, सुशील कोइरालादेखि वर्तमा ओली सरकारमा भएको भनेकै भ्रष्टाचारकाण्ड हो । लोकतन्त्र भ्रष्टाचारी र नैतिकहीनहरूलाई आयो । लोकलाई आएको भनेको दुःख, पीडा, छटपटीमात्र हो । 
यसवाहेक आमनागरिकलाई कोरोनाको महामारी आयो । शिक्षा, स्वास्थ्य, नाना, खानाको ग्यारेण्टी गर्नुपर्ने लोकतन्त्रले नागरिकलाई लुट्योमात्र । कोरोनाको भयावह महामारी समाजमा फैलिसकेको छ । संक्रमित र मृत्युदर बढेको छ । संक्रमितले उपचार पाउने अवस्था न्यून बन्दै गएको छ । भारतमा व्यापक फैलिएको कोरोना खुला सिमानाकै कारण नेपालमा फैलिएको होस्, उपचार के कसरी मिलाउने भन्ने बारेमा जनप्रतिनिधिहरू चिन्तित हुनुपर्ने हो, सरकारको सजगता र सक्रियता देखिनु पर्ने हो । केही छैन बन्दोबस्त । भारतबाट लस्कर घर घर फर्किरहेका छन् र उनीहरू कोरोनासमेत लिएर घरगाउँ पसिरहेका छन् । सिमानामा चेकजाँच, क्वारेन्टाइन र संक्रमितका लागि उपचार व्यवस्था मिलाउन राज्य उदासीन देखिन्छ । अन्य जनप्रतिनिधिहरू सत्ताको छिनाझप्टीमा लागेका छन् । अस्पतालमा संक्रमितको भीड छ । ठूला अस्पतालले समेत उपचार दिन नसकिने कुरा बताउन थालेका छन् । यो महामारीले ठूलै आपत निम्तिने खतरा छ । समाधान के, संक्रमण कसरी रोक्ने ? यस विषयमा सरकारले विशेष छलफल गरेर उपाय अवलम्बन गर्न अबेर भइसकेको छ । जनताको नाना, खाना, छाना र स्वास्थ्यमा पटक्कै ध्यान नसक्ने लोकतन्त्र के काम ? लोकमत पाएकाहरू आ आफ्ना गुटतन्त्र चलाउन अभ्यस्त छन् । पञ्चायतले बनाइदिएको राजमार्ग, मेलम्ची, धरहरा, रानीपोखरी पुननिर्माणलाई देखाएर लोकतन्त्र जिन्दावाद भन्ने नारा जनताबाट लगाउन लगाइदैछ । यस्ता भ्रम छरेर सत्ताको झेली खेल खेल्न नेताहरूसँग अझै पनि जनता झुक्किरहने हो ? हामीले हामीमा भएको सार्वभौमिक अधिकार किन चिन्न सकेनौं ? राजनीति घातक अपराधको पोखरीमा चुर्लुम्म डुबेको छ । यस्तो पनि लोकतन्त्र हुन्छ ? यो सब देखेर पनि पार्टी र नेताका पछि पछि लाग्नेहरू लोकतन्त्र दिवस मनाउन लागेकै देखिन्छन् । नेपालीले विवेक भएर पनि किन उपयोग नगरेका होलान् ?
यो लोकतन्त्र र संविधानले नागरिकलाई केही दिन सकेन । मुलुकलाई रसातलमा पु¥यायो । बोल्न पाउनुमात्र लोकतन्त्र हो त ? आमनागरिकले जति चाँडो हुनसक्यो बुझ्नुपर्छ, यो भाँडतन्त्र चलाउने ओली, देउवा, प्रचण्ड, माधव, महन्थहरू हुन् । तिनले जतिसुकै भ्रष्टाचार, राष्ट्रघात गरे पनि मतदानका समयमा तिनले साम दाम दण्ड भेदा नीति अख्तियार गर्छन् र आमनागरिक यही पासोमा परेर तिनैलाई मतदान गर्छन् । मुलुक नै रहने कि नरहने जोखिममा पु¥याइसके, अझै यिनका सामु सुगाले जस्तो लोकतन्त्र जिन्दावादको नारा लगाउने, गीत गाउने ? नेताहरू आआफ्ना भलाइ सोचिरहेका छन् । जयजयकारको गीत गाउनु अघि आमनागरिकले विवेकपूर्ण तरिकाले सोच्न जरूरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper