banner
banner

हत्या आरोपीलाई सफाइ

अधिवक्ता गंगा दहाल–
२०६१ साल जेठमा गोली हानी हत्या गरिएका कृष्णप्रसाद अधिकारीका हत्या प्रकरणमा मुछिएका १३ जना आरोपीले सफाइ पाएको खबर आयो ।
उच्च अदालत पाटनले यी सबैलाई सफाइ दिएको हो ।
१३ जना आरोपीहरूको तर्फबाट रमण श्रेष्ठ, चण्डीराज श्रेष्ठ, दीनमणि पोखरेल, मुक्ति प्रधान र केशव गौतमले बहस गरेका थिए । अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी १३ जनालाई सफाई दिएको हो ।
कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही होस् भनेर आमाबाबु नन्दप्रसाद र गंगामाया अनसन बसेका थिए । अनसन बस्दाबस्दै नन्दप्रसादको मृत्यु भयो र उनको शव अहिले पनि टिचिङ अस्पतालमा राखिएको छ । गंगामायाँ अधिकारी छोराको हत्यारालाई कारवाही होस् भनेर अनसनमै छिन् र उनको स्थिति नाजुक हुँदै गएको डाक्टरहरूले बताएका छन् । अन्य हत्याजस्तै कृष्णप्रसाद अधिकारीको हत्या पनि रहस्यमय नै रहने निश्चित भएको छ । नेपालमा मानवाधिकारको अवस्था चिन्तायुक्त देखियो ।
कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरू विरूद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए । चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरूद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । सुरू अदालतको फैसला सदर भएपछि आरोपी १३ जनाले सफाइ पाएका छन् । आरोपीहरू खुश भएका छन् ।
तर २०६१ सालको हत्या र यो हत्यामा संलग्न भएका भनिएकाहरूमध्ये एकजना लण्डनमा बसोबास गर्दै आएको बताइन्छ । गोली हानी हत्या हुनु अनि यति लामो समयसम्म पनि अदालतको मुद्दा अल्झिरहनु र हत्याराको पत्तो नलाग्नु अथवा राजनीतिक प्रभाव र दबाबमा दबाइनु न्यायपूर्ण समाजका लागि दुःखद विषय हो । जोसुकै होस्, हत्याजस्तो विषयमा प्रहरी अनुसन्धानले के भन्छ ? वर्षौंदेखि एउटी आमा अनसनमा छिन् र उनको माँग भनेकै न्याय हो, उनले न्याय पाउन नसक्नु भनेको हाम्रो न्याय प्रणालीमाथि पनि प्रश्न हो । न्यायको यो हविगतले न लोकतन्त्र, न नागरिकमा मजबुत हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper