banner
banner

आमाबिनाको बा को जिन्दगी

देवी काफ्ले - -
आमा को हो ? आमाको माया कस्तो हुन्छ ? मायाको धित मर्नै नपाई बालखैमा च्यात्त छोडेर परलोकीएकी आमाको आभाषले कहिलेकाहीँ अश्रुधारा अबिरल बगाईदिंदो रहेछ ।आमाको काखमा लुटपुटियर खेल्ने बेलामा घरधन्दा, दाईको पढाइ, बैनीको रेखदेख र मेरो बिधुर बाउको जिम्मेवारीको भारीले उठ्नै नसक्ने गरि थिचेछ । यसो टाउको उठाउन खोज्दा पारिवारिक बन्धनमा जेलिईसकेछु ।
आमा गुमाएको केही दिनमै कमाई भएका दाजुहरू पनि आफ्नो परिवारको जिम्मेवारी बोक्नु पर्ने भएकोले आफ्नो बाटो लाग्नै पर्ने भयर होला दुनो सोझ्याईहाले । जग्गा जमिन प्रशस्त भए पनि चल पुँजी हातमा नहुदा कहिलेकाहीं बा को ओईलाएको अनुहार हेरेर दिक्क लाग्थ्यो अनि बालाई सम्झाउने शब्द थियन अनि दगुरेर घरको कोठी, आँटी, बगिया जताततै धाउँथे । हरेक कुनाकाप्चामा आमाको अनुभूति गरेर फर्किन्थें र कुनै न कुनै उट्पट्याङ् लाएर बालाई हसाउँथें तर दाँत देखाएर त हांस्नुहुन्थ्यो बा मन खोलेर हैन त्यो बेलाको पीडा शब्दमा लेख्न कहाँ सकिन्छ र ?
हामी त यनकेन साथीहरूसंग एकछिन गफिएर,हांसेर पीडा बिर्सिदिन्थ्यौं । बा को त गफिने साथी पनि थिएनन् कि या गफिन चाहनु हुँदैनथ्यो एक्लोपनमा रमाउन खोज्नुहुन्थ्यो ।
बुढेसकालका एकल बाआमाहरूमा हरेकलाई पर्ने एउटा जटिल समस्या यो रहेछ कि– हामी सन्तान घरमै भएपनि उहाँहरूले कहिलेकाही बिगतका कुरा खोलेर बोल्न खोज्दा नसुनिदिने । कमसेकम दैनिक नभए प्रत्येक दुई पाँचदिनमा यसो एकघण्टा समय दियर उहाँहरूका मनमा लागेका कुराहरू छताछुल्ल पोख्न दियौं भने पनि कम्तिमा २५% खुशी महसुस गर्नुहुँदो रहेछ । तर मेरो बाको अवस्थामा त यस बिषयमा हामी अपराधी नै बन्यौ जस्तो लाग्छ ।
बाको लागि आत्मिय साथी थियो त केवल तासको ५२ पत्ती । उसले इमानदारी साथ बालाई साथ दिन्थ्यो । बाका सबै कुरा सुन्थ्यो । खेल्थ्यो कहिले बालाई जिताउंथ्यो त कहिले बाजी आफ्नै पोल्टामा पाथ्र्यो । बाको लागि साईत जुराइदिन्थ्यो । भनौं त बाको ईमान्दार साथी ५२ पत्ती तास । मलाई अहिले पश्चात्ताप लाग्छ किन त्यो निर्जिव कागजको पत्ता जतिको पनि मर्म नबुझ्ने अज्ञानी छोरी बनेछु भनेर । वास्तवमा सन्तानको भूमिका त त्यो तासले पो निर्वाह गरेछ ।
बाको एकलास जिन्दगी, हामी पढ्दै गरेका छतौरा, कमाई कसैको नाई । अलिकति अभाव खट्किन थाल्यो । मेरा बा जिजुबाउका बुढेसकालका एक्ला सन्तान । धनसम्पत्ति, लाउनखान राम्रै पुगेका, अलि मत्त, दुखको खासै अनुभूति नगरेका मैमत्त नै अरे । आमाले नै भनेको सुनेका हामीले ।
खै कुन्नी के मनमा आयो सातवटा छोराछोरीको जिम्मेवारी गह्रौं भयो कि के मुड चल्यो २०३८ सालमा तराई झार्नु भयो । तराई झरेको तीन बर्ष पनि नपुग्दै आमालाई क्यान्सरले च्याप्यो । धामी झाँक्री त कति भयो कति अन्तमा मिसन अस्पताल तानसेनले क्यान्सर घोषणा गरिदियो त्यो पनि अन्तिम अवस्थाको । अनि शुरू भए हाम्रा दुखका दिन । त्यसपछि मैले मेरो बाउको मुहारमा खुशी देखिन ।
दिनहरू त किन पर्खन्थे र एकदिन ठूलाबाले आएर मलाई नै भन्नुभो छोरी तैंले घरको काम खेती, पढाइ कसरी हेर्छेस् ? कमाउने सबल दाईहरू पाखा लागिहाले, तिमीहरूलाइ पनि दुख भयो बा एक्लो भयो अर्को बिहे गर्ने अनुमति मैले तिमीसंग माग्छु । म छाँगाबाट खसें किनकी त्यो बेला सौतेनी आमा भनेको दुनियाँमा सबैभन्दा खराब, अपराधी, ज्यानमारा, असत्ती, राक्षस हुन् भन्ने मान्यता थियो मेरो । मलाई मेरो मतलव थियन बैनी थिई सानी उसको अनुहार हेरें अनि चुप लागें  । ब्लुका बालाई जिन्दगीमा सायद त्यति तुच्छ गरि कसैलाई बोलें होला ।मैले बालाई बिहे गर्ने बैँस जागेछ बिहे गर दुलही लिएर ईन्डिया जाउ जिरा मसला कमाउ तर यो घर छोराछोरी छन् भनेर जीवनमा नफर्नु नि भन्दिए लौ जा । तर आमा बिनाको ३० बर्षको बाको जिन्दगी देखेर म आफुलाई पटक पटक धिक्कार्थें । आज आएर लाग्छ बाको त्यो ३० बर्षको खुशी खोस्ने मुख्य अपराधी म हुँ । त्यो बेला बालाई बिहे गर्न दिएको भए कमसेकम दुःखसुखको मेलो साटासाट गरेर केही सहज जिन्दगी जिउनु हुन्थ्यो होला । ३० बर्षको एकल जिन्दगी कसरी बित्यो होला ? हामी बाको साथी किन बन्न सकेनौ ?
आमाको आवश्यकता र महत्व यहाँ पनि खट्क्यो । हामी त टुहुरा भयौं भयौं बा समेत टुहुरो हुनुभो । आज कसैले शिरमा हात राखिदिदा, म सुतेको बेला कम्बल ओढाईदिदा आमाको अनुभूति गर्छु बा  प्रत्यक्ष साथमा भयको महसुस गर्छु अनि नाटकी निद्रासँग बाआमाको छातिमा लिप्त हुन्छु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper