banner
banner

नेता पनि, जनता पनि उस्तै

शाश्वत शर्मा - -
कोरोनाको महामारी फेरि फैलिने आँकलन हुनथालेका छन् । रोजगारीका लागि भारत गएकाहरू भारतमा दैनिक हजारबाट लाखौंको संख्यामा संक्रमित बढ्न थालेपछि घर फर्कन थालेका छन् र तिनीहरू नेपालमा संक्रमित बढ्ने खतरा बनेका छन् । हुन त सरकारले सीमामा हेल्थ डेस्क राखेर जाँचेको छ । तर जाँच फितलो छ । पोजिटिभ देखिएकाहरूसमेत सार्वजनिक सवारी साधनमा घर घर फर्कन थालेका छन् । यो स्थिति भनेको समाजमा कोरोना फैलिनसक्ने जोखिम हो । यस्तो स्थितिमा न त सरकार संवेदनशील देखिन्छ, न प्रतिपक्षी । सरकार प्रतिपक्षीलाई तह लगाउन सम्पूर्ण ध्यान लगाइरहेको छ भने प्रतिपक्षीहरू ओली सरकार ढालेर सत्तामा जाने हतारोमा देखिन्छन् ।
राजनीतिभित्रको राजनीति बुझ्नेहरू भन्छन्– चिनियाँ राजदूत र अमेरिकी राजदूतको सक्रियता बढेको छ । यी दुबे महामहिमले ओली र प्रचण्डलाई मिलाउने प्रयास गरेका थिए । तर यो प्रयासमा भारत कहाँनेर छ ? यसबारेमा कोही पनि यसै भन्न सक्दैनन् । दिल्लीको लाइन आएको भए राजनीतिले कोल्टे फेरिसकेको हुने थियो । ससानो लाइन आएर कांग्रेसले शुक्रवार सत्तामा जान तैयार रहेको निर्णयमा पुगेको छ भने प्रचण्ड अहिले पनि भारतसँग सम्बन्ध सुधार गर्ने प्राथमिक चरणमै छन्, उनको विश्वसनीयतामा भारतलाई शंका छ । तर भारतका विश्वासपात्र बाबुरामहरूसमेत पाँडे गालीमा रत्तिनु आश्चर्य हो ।
गत शुक्रवार नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गर्नासाथ माओवादी केन्द्रका प्रचण्ड हौसिएर अब सरकार ढालिन्छ भन्न थालेका छन् भने प्रम ओलीले भनेका छन्– राजीनामा ले, राजीनामा दे, माओवादी केन्द्रले समर्थन फिर्ता लेओस् न राजीनामा आइहाल्छ नि । ओलीले गिज्याएको हो कि राजीनामा दिन्छन् भन्न सकिन्न । उता ओलीका विश्वासपात्र पर्यटन मन्त्री भानुभक्त ढकालले विराटनगर पुगेर भनेका छन्– सरकार ढाल्ने चलखेल भए मुलुक मध्यावधिमा जान्छ । तर राजनीतिक परिदृश्यअनुसार सत्ता परिवर्तनको साँचो जसपामा अड्किएको छ । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई प्रचण्ड–माधव पक्षमा उभिए पनि महन्थ ठाकुर र राजेन्द्र महतो ओली पक्षमा उभिएका कारण माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ संसद बैठक टुङ्गो लगाएर मध्यावधि घोषणा गर्न सक्छन् भनिदैछ । ओलीको गेम प्लान, नहोला भन्न सकिन्न ।
यसरी राजनीति तात्न थाले पनि कोरोनाको दोस्रो लहरले मुलुकलाई च्याप्दै लगेको बेलामा सरकार अथवा प्रतिपक्षी कोही पनि चासो राखिरहेका छैनन् । सरकार खानेपानीको उद्घाटन, बाटोघाटो घोषणा गरेर जनतालाई भूलभुलैयामा पार्दैछ भने राष्ट्रपति बहाना बनाएर झलनाथको घरैमा पुगेर कम्युनिष्ट एकताका लागि सक्रिय बन्नुभएको छ । योभन्दा दयनीय राजनीति के हुन्छ ? यता कोरोना गाउँ गाउँ पुगिसक्यो, जनताप्रतिको जवाफदेहिता कसैमा पनि छैन । कोरोना संक्रमितको उपचार, पीडितलाई राहत, कसरी कमभन्दा कम क्षतिमा सिमित राख्ने ? कुनै पनि तैयारी छैन । विकसित मुलुकमा समेत हम्मे हम्मेको स्थिति छ भने भ्याक्सिनसम्म ल्याउन नसक्ने सरकारले जनताको ज्यानमाथि यसरी खेलबाड गरिरहेको देखिन्छ । सवाल कोरोनाबाट कसरी बच्ने हुनुपर्ने थियो, राजनीति प्रम ओलीलाई कसरी फाल्ने र आफू सत्तामा जाने भन्नेमा अड्किन पुगेको छ ।
हामी कस्ता जनता ? नेता र सरकारको यस्तो नौटंकी हेरेर बसेका छौं, बोल्न सक्दैनौं । जनताप्रतिको जिम्मेवारी यही हो भन्न सक्दैनौं ।
समर्थन कसकसले फिर्ता लिन्छन्, विश्वासको मत सरकारले पाउला कि नपाउला, अविश्वासको प्रस्ताव पास होला कि नहोला ? यस्ता कुरामा जनतालाई भुलाउने र जनता भुल्नु भनेकै लोकतन्त्रको अँध्यारो यात्रा हो । जनता नै गएगुज्रेका नेताजस्ता भएपछि हामीलाई महामारीले नगाँजे कसलाई गाँज्छ ?
सरकार कतिसम्म गैरजिम्मेवार, विपक्षीहरू समर्थनसमेत फिर्ता लिन नसक्ने कस्ता होलान् ? यति नै बेला ओलीलाई भष्मासुर भन्ने बाबुराम र प्रचण्डले बरू देउवालाई समर्थन गर्न सकिन्छ, ओलीलाई अब सकिन्न भनिरहेका छन् । किन ? कारण के के हुन्, उनीहरू भन्न सक्दैनन् । बाबुराम र प्रचण्ड भष्मासुरभन्दा कति भिन्न छन् । कांग्रेस नै कति समाजवादी छ ? यी यस्ता प्रश्न हुन्, जसको जवाफ जनताले नै खोज्नुपर्छ । यथार्थ के हो भने बाबुराम, प्रचण्डदेखि महन्थ ठाकुरसम्म प्रधानमन्त्रीको दौडमा छन् । यिनको दौड र चिन्ता फैलदो कोरोना रोकथाम र जनतालाई राहत दिने सम्बन्धमा कतै पनि छैन ।
सिंहदरवार पुग्ने दौड प्रतियोगिताको मजा छ । तर विज्ञहरू भन्छन्, घोडा फेर्नेहरूले चासो देखाइसकेका छैनन् । भित्रभित्रै अनेक खिचडी पाकिरहेका छन् । सय गल्ती गरिसक्दा पनि ओली बलियो हुनु आफैमा आश्चर्य हो । केपी ओलीलाई यसरी बलियो बनाउनेहरू प्रचण्ड–माधव, देउवाहरू नै हुन् । उनीहरू आफै ठिक नभएकाले ओलीले पनि ठिक काम गर्न नसकेका हुन् । यथार्थ के पनि हो भने ओलीले केही राष्ट्रवादी कामहरू चाहिं गरेका छन् । उनको बाध्यता भनेकै अपराधीहरूलाई साथ दिनैपर्ने अवस्था हो । यो अवस्थाको जिम्मेवार पनि प्रचण्ड, माधवहरू नै बनेका छन् । यस्तो भयावह भ्रष्टाचारी राजनीतिको भवचक्करमा कोरोनाको दोस्रो लहर सुदूरपश्चिमबाट झन भयावह रूपमा सल्किदै गइसक्यो, तर राजधानीमा नेताहरूको नौटंकी ? प्रतिगमन, अग्रगमनको लडाइ छ, सत्ताको छिनाझप्टी छ । यसैमा रमाएका छन्, सहरीया टाठाबाठाहरू ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper