banner
banner

रघुजी, महिलाले सारी सुक्र्याउनै पर्ने हो ?

देवी काफ्ले- - 
हाम्रो समाज आज पनि निश्चित रूपमा पुरूष प्रधान छ । सभ्य नियम कानुन बनेका छन् । पुरूषबाट हुने गलत व्यवहारका लागि सजायको व्यवस्था भएको छ । श्रमका लागि पनि कानुन बनेको छ । स्वतन्त्रताका लागि दिनहुँ आवाज उठेका छन् । अहिले राज्यले अख्तियार गरेका नियम, कानुन, कदम सकारात्मक र आशाप्रद नै छन् ।
यद्यपि महिला पक्ष भएका कानुन त अत्यन्तै सकारात्मक बने तर आफ्नो सुरक्षाका लागि बनेका यस्ता कानुनका बारेमा कति महिला कत्तिको जानकार छन् त ? घर, समाज, स्कुल, अफिस, सार्वजनिक यातायातका साधनहरू लगायत अनगिन्ती ठाउँमा हुने यौनजन्य दुव्र्यवहार तथा शोषण निरन्तर भइरहेका छन् । तैपनि महिला आवाज उठाउन किन डराउँछन् ?
अझै पनि महिलाले पुरूषले गरेका हरेक गल्ती चुपचाप सहनुपर्छ भन्ने हाम्रो सामाजिक संरचना ज्यूँका त्यूँ छ । चाहे त्यो पुरूषले गरेको नृशंस दुव्र्यवहार नै किन नहोस् । त्यसैले समाजले दुव्र्यवहारमा परेका महिलालाई हेर्ने सामाजिक दृष्टिकोण पनि फरक छ जुन पुरूष परक, पुरूष सापेक्ष छ ।
चाहे शहरी क्षेत्रका होउन् वा ग्रामीण क्षेत्रका होउन् शिक्षित महिलाहरूले पनि दुव्र्यवहार नझेलेका वा दुव्र्यवहारमा नपरेका छैनन् तर कुरा यत्ति हो कतिपयले यसलाई बाहिर ल्याउन चाहन्नन् । अझ राजनीतिक क्षेत्रमा त झन् मैले ठूलो दुव्र्यवहार देख्ने गरेकी छु । आइमाईले ठोस निर्णय लिन असक्षम छन् भन्ने हेपाहा प्रवृत्ति देखाइन्छ । राजनीतिमा त झन् महिलामाथि झन् ठूलो अत्याचार भएको महशुस हुन्छ । देशमा राजनैतिक परिवर्तनका लागि सडक तताउन पुरूष मात्रै गएको सायद कसैले रेकर्ड देखाउन सक्ला । हरेक आन्दोलनमा नारी अगाडि लागेका छन् । पुरूष सरह नै राजनीतिमा होमिएका छन् । जब परिणाम अथवा जिम्मेवारी बाँडफाँडको बेला आउँछ अनि उनीहरूलाई आरक्षित र समानुपातिक कोटामा मात्रै थन्क्याइन्छ । अझ कम्युनिस्टको अहिलेको संगठनहरूमा त झन् त्यसको रूप विकराल विद्रुप देखिन्छ । कम्युनिष्ट आन्दोलनमा महिला पुरूष बराबर जुधेपनि सत्ताको बागडोरबाट उनीहरूलाई पर सारिएको छ । यहाँ त एकजना राष्ट्रपति र एक दुई महिला मन्त्री बनाई दिएपछि नारी मुक्तिको आन्दोलन सफल भयो । सम्पूर्ण नारीहरू अधिकार प्राप्त छन् सबै सबल र सक्षम छन् भनिन्छ । नारी माथि समानता र सैद्धान्तिक व्यवहार कति भए ? लेखाजोखा छ त ? कि वाम संगठनहरूले मार्क्स, ऐंगेल्स, लेनिनका सोच र समानतासहितका स्त्रीहरूका विषयमा लेख्न पढ्न त बिर्सेनन् ? वाम संगठनलाई मेरो प्रश्न ।
राजनीतिक बुज्रुकहरू ‘परिवर्तनका लागि आन्दोलनमा पुरूषसँगै जान कति मेहनत गर्नुपर्छ’ तपाईंहरूलाई थाहा छ ? थाहा छैन भने बताई दिउँ– पुरूषले भन्दा दस गुना मेहनत गरेर जानुपर्छ । दस गुना चुनौती बेहोर्नु पर्छ । दस गुना बढी समस्याको सामना गर्नुपर्छ । दस गुना बढी बलिदान गर्नुपर्छ । परिवार र समाजको संरचनामा प्रत्यक्ष वा परोक्ष, सूक्ष्म वा विशाल पितृसत्तात्मक मूल्यमान्यताका अवरोधहरू विद्यमान छन् । जसमा मर्दवादको विषाणुले हानेको क्षेप्यास्त्र सबैभन्दा वजनदार हुन्छ । पटकपटकका आग्रह पुर्वाग्रहका कटाक्ष वचन, खुट्टा तान्ने प्रवृत्ति, अनावश्यक र आधारहीन चारीत्रिक हमलाको शिकार भइरहनु पर्छ ।
घरेलु रूटिनका कामको बोझलाई एकछिन थाँती राखेर दिमाग मुक्त गराएर सोच्ने हो भने महिलाका लागि मर्दवाद झेल्नु त्यति सजिलो छैन । पारिवारिक र सामाजिक युद्ध लडेका महिलाहरू फेरि देशकै अवस्था परिवर्तनका लागि लडेका छन् । आखिर ती महिलाहरूले जीवनमा के के अधिकार पाएका छन् त ?
भरखर एमालेले सातै प्रदेशमा पदीय बाँडफाँड भयो । ईन्चार्ज, अध्यक्ष र सचिव गरि २१ जना कमरेडहरूले जिम्मेवारी पाए तर तिनीहरूमा एकजना महिला पनि पर्न सकेनन् । एकजना महिलालाई पनि जिम्मेवारी नदिइनुका पछाडि महिला दिदीबहिनीहरू जिम्मेवारी वहन गर्न सक्ने क्षमताका नभएरै होला त ? एकजना पनि महिला किन समावेश गरिएन कि भेटिएनन् वा दिइएन ? कस्तो विडम्बना ?
नेकपाका नेता रघुजी पन्तले भरी सभामा ‘कोमल ओलीले सरक्क साडी तानेर सेता साँप्रा देखाएको भरमा राष्ट्रिय सभा लगियो’ भने ! महिलाले योग्य स्थान पाउन साडी सुर्काउनै पर्ने हो ? हो भने आन्दोलनमा गोलीका छर्रा खान किन बोलाउँछौ ? हैन भने पार्टीमा जीवनभर त्याग गरेका सक्षमहरूलाई ठाउँ, जिम्मेवारी किन दिइन्न ? रघुजी पन्तलाई एउटा प्रश्न ! ‘रघुजी सारी सुर्क्याउँदा ताली पिट्ने तिमी पनि हैनौ ? जतिबेला पनि साडीले पार्टीलाई पपुलर बनाउन खोज्नु लज्जास्पद हैन र ? अनि पार्टीका ती मुखिया कस्ता हुन् सेतै फुलेकी बुढी कमरेडलाई पाखा लगाउने ? तिनको बलिदान र त्यागको बेवास्ता गर्ने ? यस्ता विभेदका कुरा मार्क्स, ऐंगेल्स, लेनिनका लेखनहरूमा कहाँ लेखिएको छ ?’
अब महिलाले पाएको अर्को अधिकार पढौं । जब सभा सम्मेलन हुन्छ, विशिष्ट व्यक्तिको आगमन हुन्छ त्यहाँ महिलालाई निकै ठूलो जिम्मेवारी दिइन्छ । आगन्तुक पाहुनालाई खादा ओढाउने, छातीमा ब्याच टाँसी दिने जिम्मा महिलालाई दिइन्छ । वाह कति ठूलो जिम्मेवारी ? यत्रो संघर्षले पाएको अधिकार भनुँ या जिम्मेवारी ! पाहुनालाई खादा ओढाउन हो ? अब पनि खादा ओढाउन मञ्चमा जाने महिला साथीहरूलाई म भन्न चाहन्छु ‘तिमीले गरेको मुक्तिको आन्दोलन पाहुना पुरूषलाई खादा ओढाउन होईन’ । त्यहाँ जति पुरूषले आफ्ना बिचार राख्न पाउँछन् त्यति बिचार राख्ने अवसर तिमीहरूले पाउँछौ ? या पाएका छौ ? आठजना पुरूष वक्ता छन् भने मुश्किलले एकजना महिला पर्छिन्, कतिपय ठाउँमा त शून्य नै हुन्छ ।
अब यस्ता परिपाटी पन्छाउन सभामा खादा ओढाई दिनेले घाँटी कसिनेगरी ओढाइदेउ, ब्याच लगाइदिनेले छातीमा पिन घोचिदेउ । सक्दैनौ भने त्यस्तो अधिकार बहिष्कार गरि देऊ । बनावटी, देखावटी, आश्रित कोटा, दानका पद सबै त्याग्ने हिम्मत गर । फेरि मुक्तिका लागि लडौंला । पितृसत्तात्मक सोचको जालो च्यात्न महिला आफै अग्रसर हुनुपर्छ । महिला शोभाका होइनन्, सम्मानका हकदार छन् । महिला समानता चाहन्छन् भन्ने कडा सन्देश दिन जरूरी भइसक्यो । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper