banner
banner

होली, फागु अर्थात् अन्यायमाथिको विजय

देवी काफ्ले- - 
वसन्त ऋतुको आगमनसँगै बोट बिरूवाका नवीनतम पालुवाले वातावरण नै रंगिन बनाउँछन् । यो महिनामा सम्पूर्ण वातावरणमा ऋतुराज वसन्तको राजकीय उपस्थिति रहन्छ । वसन्तले आफ्नो माधुर्य, मादक सौन्दर्य तथा वासन्ती पवनको माधुर्यताले यो महिना (फागुन–चैत) मा सबैलाई मन्त्रमुग्ध पारिदिन्छ । यसै ऋतुमा खास गरेर फाल्गुन शुक्ल अष्टमीदेखि पुर्णिमासम्म एकापसमा रंग दल्दै प्रीतिभोज गरि उल्लासपुर्वक मनाइने पर्व होलीले झन् थप हर्ष, उल्लासमय बनाई दिन्छ ।
होली पर्व सम्बन्धमा एउटा किम्बदन्ती पनि छ । यो पर्व विष्णुभक्त प्रह्लाद, दैत्यराज हिरण्यकशिपु र हिरण्यकशिपुकी बहिनी होलिकासँग सम्बन्धित छ । आफ्नो पुत्र प्रह्लाद आफ्नो इच्छा विपरीत आफ्नै शत्रु भगवान विष्णुको भक्त भएको हुनाले हिरण्यकशिपुले अनेकौं दुख दिन्थ्यो । उनलाई मार्न धेरै षड्यन्त्र गरेको थियो तर जतिसुकै षड्यन्त्रमूलक प्रयत्न गरेपनि उसले प्रह्लादलाई मार्न सकेको थिएन । उसकी होलिका नाम गरेकी एउटी बहिनी थिई जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान मिलेको थियो । अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी होलीकाले आफ्नो दाजु हिरण्यकशिपु सँग “मैले अग्निले समेत डढाउन नसक्ने वरदान पाएकी हुनाले प्रह्लादलाई काखमा लिएर अग्निमा बसेपछि प्रह्लाद डढेर मर्ने तर आफू नडढी सकुशल बाहिर निस्कन सक्ने“ भन्ने कुरा गरेपछि दैत्य हिरण्यकशिपुले ल अब त्यसै गर्ने भनेर बैनीलाई अनुमति दिएको र होलिकाले पनि योजना अनुसार रातको समयमा विशाल अग्नि प्रज्ज्वलन गरी प्रह्लादलाई काखमा लिई अग्निमा प्रवेश गरिन् । भगवान विष्णुको अनुपम अनुकम्पाका कारणले दुष्ट होलिकाले पाएको नडढ्ने वरदान निष्फल भई अग्निको प्रचण्ड रापका कारण होलिका डढेर खरानी भई तर भगवान विष्णुको वरद–हस्तका कारण भक्त प्रह्लाद सकुशल बाहिर निस्कन सफल भए । प्रह्लादको कुभलो चिताउने दुष्ट होलिकाको मृत्यु भएको हुनाले भोलिपल्ट पुरबासी सम्पूर्ण भेला भई एकापसमा रंग लगाएर उत्साहपुर्वक उत्सव मनाए ।
यसैको निरन्तरता स्वरूप होलीको अघिल्लो दिन रातीमा होलिकाको प्रतीक बनाई चीर–दहन गरेपछि भोलिपल्ट त्यसैको खुशीयालीमा एकापसमा रंग दलेर होली खेल्ने प्रचलन चलेको हो भन्ने कथन छ ।
होली वास्तवमा भाईचाराको चाड हो । भौगोलिक कारण हो वा अन्य कारण हो नेपालमा दुई दिन होली मनाउने गरिन्छ तर किन दुई दिन मनाइन्छ त्यसको बारेमा ठ्याक्कै म अनभिज्ञ छु । अघिल्लो दिन पहाडमा मनाईन्छ भने भोलीपल्ट तराइमा मनाइन्छ । आफन्त, साथीभाइ, छरछिमेक सबै मिलेर एकापसमा सप्तरंगी टीका आदानप्रदान गर्दै होली मनाईन्छ ।
अचेल हाम्रा मौलिक चाडहरूलाई विकृत बनाएको पाइएको छ । होलीमा रंग लगाईदिने बहानामा केटाहरूले केटीहरूका शरीरमा अस्वभाविक तरिकाले हात हाल्ने, शरीरका संबेदनसिल अंग ताकेर लोला हान्ने, कुहिएका अण्डाहरू, मोबिल, वालुवा जस्ता चिजहरूले हान्ने गर्छन् ।मादक पदार्थ खाएर जथाभावी बोल्ने, सवारीसाधन मनपरी चलाउने गर्दा कैयौं युवाहरूले अकालमा ज्यान गुमाएका पनि छन् तर पनि अरूले त्यसबाट पाठ सिक्न खोज्दैनन् ।
कोरोना प्रकोपका कारणले पोहोर साल र यसपल्टको होली भने अलि निराशायुक्त नै बन्यो तर पनि हामी नेपाली टेर्नेवाला कहाँ छौं र? चाड त मनाउनै प¥यो । हाम्रो मौलिक चाडको रक्षा गर्नु, संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।मौलिकता, चाडपर्व, संस्कृतिको जगेर्ना गर्ने बहानामा विकृति ल्याउनु न्यायसंगत हुँदै होईन । त्यसैले चाडपर्व, संस्कार, संस्कृतिको जगेर्ना गरौं । परम्परा कायम राख्ने र मौलिकता नमेटिने गरि भव्य र सभ्य तरिकाले होली मनाऔं । जहाँ दिदीबैनीहरू दाजुभाइ एवम् साथीभाइसँग मित्रताको प्रतीक सप्तरंगी टीकाको मान मर्यादा भित्र रही सहजरूपमा गर्दै रंगहरूको पर्वको आनन्द लिन सकुन् ।
होलीका नामा वर्षेनी बढ्दै गएका विकृति हटाउँदै जानुपर्छ । होली, फागु अर्थात् न्यायको जित । सबैलाई होली पर्वको हार्दिक मंगलमय शुभकामना  ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper