banner
banner

महगो हुनेछ मुठभेडको मोड

वरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल - -
जे भयो, भयो । नेताहरूले अब मुठभेडको मोड नभेटिने गरी सहमतिको राजनीति गर्नु उचित हुनेछ ।
आज राजनीतिक रूपमा जुन परिदृश्य देखिएको छ, यसका लागि सत्ता करिडरका खेलाडी, प्रतिपक्षी सबै जिम्मेवार छन् । दोष सबैले कबुल गर्नुपर्छ र मुठभेडमा मुलुक नजाओस् भनेर निकासका लागि सोच्नुपर्छ ।
हो, प्रधानमन्त्रीमा अहंकार देखिएकै छ । देखिनु स्वभाविक पनि छ । किनकि आफ्नै दलका प्रतिपक्षीहरूले लतार्ने, घिसार्ने, गलहत्याउने, गाड्नेसम्मका अभिव्यक्ति दिएकाले मान्छेमा आक्रोश आउनु अस्वभाविक होइन । तर एउटा नेताले आवेगमा आउनु गलत हो, अझ सत्तामा रहेका व्यक्तिले त रिसराग राख्नै हुन्न । सबैलाई कसरी समेटेर अघि बढ्न सकिन्छ भनेर सोच्न सक्नेमात्र सफल नेता बन्न सक्छ ।
२०७७ पुस ५ गते संसद बिघटन गरेर प्रम ओलीले गल्ती गरेकै हुन् । उनलाई त्यो स्थितिमा पु¥याउनेहरू पनि दोषी छन् । दोष कमोवेश सबैको छ । दोष केलाउने समय सकियो । अर्को रक्तपात, कोतपर्व नहोस्, लोकतन्त्रका गरिमा र महिमामा सबै बसुन्, मर्यादा र सीमा अर्थात विधिमा सबै बस्न सक्नुपर्छ भन्ने शिक्षा गत दुई महिनाले सबैलाई दिएको हुनुपर्छ ।
दुई तिहाइले मात्र राजनीतिक स्थिरता आउने होइन रहेछ, त्यो देखियो । राजनीतिक स्थिरताका लागि लोकलज्जा, इमान, नैतिकताको जरूरी हुनेरहेछ । यिनै विशेषताको कमीले गर्दा नेताहरू असफल भए । संविधान र सरकार चलाउनेहरू असफल भए । जनयुद्ध र जनआन्दोलनसमेत असफल भएको छ । त्यति ठूलो उपलब्धि, सत्ताका लागि चरू होमेझैं होमे नेताहरूले ।
लोकतन्त्रसमेत मुलुकका लागि अफाप शिद्ध हुनपुग्यो । योभन्दा ठूलो दुर्भाग्य अरू के हुनसक्छ ? हो यी घटनाक्रम केपी ओलीको नेतृत्वमा भयो, तर असफलता सबै दल र सबै नेताहरूको पनि हो, जो लोकतन्त्र चलाउँछु भनेर फुइँकी लगाइरहेका थिए । यही बीचमा जनतालाई भेडाबाख्रा जसरी ओसार्ने र तमासा देखाउने गोरख धन्दा पनि यिनै नेताहरूले गरेका हुन् । परिकल्पना समानता र न्यायिक समाजको गरिएको थियो, देखियो हाटबजारको । परिपक्व राजनीति कांग्रेस सभापति देउवाले देखाए । अदालतले चुनाव भने चुनाव, संसद भने संसद । अहिले पनि सत्ताका लागि होइन, जनादेशअनुसार विपक्षीकै भूमिका निभाइरहेका छन् । बिग्रेका कम्युनिष्टका सामु नेपाली कांग्रेसले मुलुकलाई मुठभेडमा जानबाट रोकेर सफल लोकतान्त्रिकता देखाउनु छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper