banner
banner

यसपाली पनि महिला दिवस भाषणमात्र

देवी काफ्ले- - 
‘छोरीको जन्म, हारेको कर्म’ । अब पनि यो उखानलाई फेर्ने बेला भएन ? लोकतन्त्र आयो, छोरीहरूको लागि लोकतन्त्र आउनु पर्छ कि पर्दैन ? पर्छ भने १५ वर्षमा पनि छोरीहरूले किन सुरक्षाको अनुभूति गर्न सकेनन् ? किन छोरीहरूमाथिको हिंसा रोकिएन ? यसको जिम्मेवारी, जवाफदेही कसले लिने ? छोरीहरू जवाफ खोज्न थालेका छन् ।
यसपल्ट पनि ८ मार्च आयो र गयो । ८ मार्च अर्थात महिला दिवस । महिलाहरू आज पनि दासको जीवन बाँच्न बाध्य छन् भने यो दिनेको गरिमा र महिमा कसरी रहन सक्छ ? अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको औचित्य भाषणमा मात्र सिमित भयो । भाषणकै लागि, नेतागिरीको खपतकै लागि ८ मार्चका दिन आउने र जाने हो भने महिला मुक्ति हुने कहिले ? महिलाले स्वतन्त्रताको अनुभूति, समानताको गौरव गर्ने कहिले ? यसबारेमा बहस हुनुपर्छ अब ।
हरेक बर्ष नारी दिवस मनाइन्छ । नारी दिवसमा के के गरिन्छ र अर्को तिर के हुन्छ हामीले हेरेका छौं त ?
हाम्रो देशमा मात्रै होईन अन्य देशहरूमा पनि नारी दिवसमा लामा लामा भाषण दिइन्छन् । देश–देशमा अत्यन्त धुमधामका साथ ¥याली निकालिन्छन् । बिवाहित स्वास्नीमानिसहरू को भन्दा को राम्री प्रतियोगितामा जस्तै श्रृङ्गार पटार गर्छन् । खान्छन् पिउँछन्, गीत गाउँछन् । स्वतन्त्रताका नारा घन्काउँछन् । अधिकारकर्मीहरू तारे होटलमा कार्यक्रमका आयोजना गर्छन् । नारी अधिकार, हकहितका चर्का चर्का बहस हुन्छन् । कार्यक्रम भब्य र सभ्य रूपमा भएका समाचारले मिडिया छाउँछन् । तर त्यसदिन भएका पर्दा पछाडिका दुखान्त घटनाहरूका बारे कसैले थाहा पाउने कोसिस गर्छन् त ? के के हुन्छन् त महिलामाथि हिंसाका घटनाहरू ?
नेपालमा त महिला हिंसाका जघन्य अपराधहरू भएका थिए, भइरहेका छन् । विधिको शासन र लोकतन्त्रको दुहाइ दिनेहरू नै महिला हिंसा गर्छन्, ढाकछोप गर्छन र पीडकलाई न्याय दिनुपर्छ भनेर पहाड बनेर उभिने साहस गर्दैनन् । फलतः कानुन कागजमा सिमित हुन्छ । संविधान धुरू धुरू रोएर बस्छ । महिला हिंसा दिनदिनै बढेर जाँदै छन् ।
देशका शहरहरूमा स्वतन्त्रता र अधिकारका भाषण ठोकिरहेकै बेला महिला आफ्ना बालबच्चा सहित नदीमा हाम फालेर देहत्याग गर्नुपरेको घटना यसै बर्षको नारी दिवसका दिन बेलुका सुनियो । त्यस दिन पनि नारीका टाउका फुटिरहेका हुन्छन् । कतिपय नारीले पेट भोकै भएर अडिलो हुन खाली पेटमा पटुका कस्नुपर्छ । स्वस्थ खाना, स्वच्छ पानी समेत पिउन नपाएर जीवनमरणका दोसाँधमा पुगेका हुन्छन् ।
त्यसदिन छोराको अमुक चाहनामा छोरीको भ्रुण हत्या हुन्छ । छोराको चाहनामा जबरजस्ती छोरी जन्मिन्छन् । छोरी जन्माएकै निहुँमा या त नारीहरू मारिन्छन्, या त पतिसँग सम्बन्ध बिच्छेद गर्नुपर्ने बाध्यतामा पर्छिन् नारी । कतिपय लोग्नेहरू पत्नीमाथि अत्याचार गर्छन् ।
त्यसदिनमा बालिका शिशुको हत्या हुन्छ । बालिका शिशुहरू फोहोरको डंगुरमा फालिन्छन् । त्यसैदिनमा उमेर पुगेका पुरूषहरूबाट बालिका बलात्कार हुन्छिन् । त्यसदिन बालिका, किशोरी, युवतीहरूको सामुहिक रूपमा बलात्कार हुन्छ । स्वास्नीमानिसको शरिरमा मट्टीतेल छर्केर आगो लगाईन्छ । घाँटी थिचिन्छ । त्यसैदिन किशोरीहरूका मुखमा एसिड छ्यापिन्छ । त्यसैदिन गरिब, निरीह महिलाहरूलाई बोक्सीको आरोप लगाईन्छ र मलमुत्र समेत खुवाईन्छ । प्रेमी बनेर किशोरीलाई बेश्यालय पु¥याईन्छन् । स्वास्नीमानिसलाई यौनदासीका रूपमा देश–देशमा, शहर– शहरमा तस्करी गरिन्छ । त्यसैदिनमा आफ्नो अस्मिता जोगाउन वा अत्याचार सहन नसकी सयौं महिला आत्महत्या गर्छन् । आजको दिनमा पनि नारी खरिद विक्री हुने, अत्याचार जति गरे पनि हुने बस्तु हुनसकछन् र ? तर भइरहेका छन्, नारीवादीहरू जति चिच्याए पनि दमन बढेकै छ । 
त्यसदिन जुन मानिसहरूका डिमाण्डका कारण स्वास्नीमानिस वेश्या अर्थात यौनदासी बन्न बाध्य पारिन्छन् ।  डिमाण्ड भएकैले आपूर्ति गर्नुपरेको नत्र आपूर्तिको के आवश्यकता ? यी अत्याचार दानवीय भन्दा हजार गुणा निर्मम देखिन्छन् । तर व्यापार भइरहेकै छ ।
हाम्रो समाजमा पुरूष दिवसको कुनै आवश्यकता नै छैन । किनकी ३६५ दिनमा ३६५ दिन नै पुरूष दिवसको रूपमा मानिएका छन् । महिलालाई करूणा स्वरूप दिएको एकदिन हो भन्छु म । त्यस एकदिनमा कति सम्म अधिकारका कुरा फलाकेर, सुनेर आफुलाई स्वतन्त्र ठान्छौ  नारीहरू ? अत्याचार कति सहने ?
दिवस त यस्तो होस् जुन दिवसमा नारी पुरूष सामुहिक रूपमै एक साथ रून सकुन्, एकसाथ हाँस्न सकुन् र नारीहरूले भन्न सकुन् जति दिन छन् हामी खुशी छौं । यहाँ पुरूष दिवसको आवश्यकता नभए जस्तै नारी दिवसको पनि आवश्यकता नपरोस् ।
अब फेरि हामी ब्याक जाऔं ।
यी सडके नारा र भाषणले अनि सोह्र श्रृंगारले मात्रै  नारीदिवसलाई छोयो त ? आखिर बुर्जुवा वर्ग, हुनेखाने, शिक्षित वर्गका लागि मात्रै छुने हो भने ती बलात्कार पिडित, परिवार, समाज पिडित, अन्धविस्वास पिडित स्वास्नी मानिसले कहिले यो दिवसको सार्थकता देख्न पाउने ?
देशलाई भौगोलिक बिकटताले, यातायातको असुबिधाले, सामाजिक, आर्थिक, राजनैतिक चेतनाका कमीले अझै बिकासका काममा बाधा पुगेको छ । गाउँगाउँमा सिंहदरवार आए पनि ती दूरदराजका आर्थिक लेस महिलाले भोगेका समस्या ज्यूँका त्यूँ छन् ।
अतः साँच्चै नै महिला उत्पिडनका गाथा हटाउने हो भने सडकमा नाराजुलुस हैन गाउँ गाउँ बस्ती बस्ती पुगेर चेतनाका ज्वाला जलाऔं । महिलालाई आर्थिक सम्पन्नतामा सक्रिय गराऔं । समाजमा महिला प्रति गरिने फरक तब मात्र लोग्ने मानिस स्वास्नी मानिस बिचको विषमता तोडिने छ । अनि त्यो बेला नारी दिवस या पुरूष दिवसको आवस्यकता रहनेछैन । मात्र मानव दिवस हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper