banner
banner

झन अन्यौलग्रस्त भो राजनीति

शाश्वत शर्मा- - 
वास्तवमा मुलुकको राजनीति अन्यौलग्रस्त बन्न पुगेको छ । भन्नेहरू भन्छन्, कुन बेला के हुने हो ? पत्तो छैन । सत्तारूढा र प्रमुख विपक्षीमात्रै होइन कि अन्य राजनीतिक दलहरू, जो नेपालमा प्रभावी छन्, मा पनि आन्तरिक समस्याहरू देखापरेका छन् । हिजोसम्म संसद विघटन विरूद्ध सर्वोच्चमा परेको मुद्दामा अल्झिएको मुलुक अहिले केपी शर्मा ओलीपछि प्रधानमन्त्री को हुने ? पार्टी हैसियत के हुने भन्ने प्रश्नमा रूमल्लिएको छ ।
अझ सत्तारूढ पार्टिभित्रको चैं को आधिकारिक भन्ने प्रश्नमा अड्किएको छ । नेकपाभित्रका सांसदहरूलाई प्रचण्ड र माधव खेमा अनि ओली खेमाले तानातान गरेपछि बल्ल ठेगानमा पुगेको यो मुद्दाको फैसलाले अझ विवाद र मुठभेद निम्त्याउने कुरमा विज्ञहरू दावी गरिरहेका छन् । फेरि ०७५ सालको अन्त्यतिर विप्लव समूहमाथि लागेको प्रतिवन्धलाई केपी शर्मा नेतृत्वकै सरकारले फुकुवा गरेर मूलधारमा ल्याएपछिको घटनालाई सबैतिरबाट स्वागत गरे पनि प्रचण्ड माधवसमूहको नेकपाले रूचाएको देखिन्न । प्रम ओली र विप्लवको सहमतिपछि सम्म हुनसक्ला ? त्यस पार्टीका नेताहरूले खुल्ला रूपमा जनमत संग्रह, क्रान्ति गर्न गरेको आह्वानले आगामी दिनको परिणाम भन्न सकिन्न । हिजो सीके रावतजस्ता बिघटनकारीलाई मूलधारमा ल्याएका ओलीले विप्लवबाट पनि रावतकै जत्तिको सहजता महसुस गर्न सक्ला ? एकथरिको विचारमा विप्लव शान्तिपूर्ण राजनीतिमा धेरै दिन टिक्नै सक्दैनन् । उनको पृष्ठभूमि र उनले चुनौती दिनुपर्ने हिजोका साथीहरूका कारण पनि उनी खुला राजनीति गरेर बस्न सक्छन् भन्नेमा धेरैलाई सन्देह छ । तर प्रम भन्छन्– विप्लवलाई यो राजनीतिमा पौडी खेल्न आउँछ । शुभकामना ।
विप्लव सरकारका सामु झुक्नैपर्ने बाध्यताका कारण उनी खुला भएको धेरैको धारणा छ । कार्यकर्ता विवादमा, पक्राउ पर्न थालेपछि मात्र विप्लव मूलधारमा आएका हुन् त ? स्पष्ट छैन । विप्लवका हतियार कता छन् ? उनले किन हतियार बुझाएनन् ? शंका धेरै छन् । भनिन्छ, विप्लव शक्ति सञ्चयको प्रकृयामा छन् । उता ओलीलाई प्रचण्ड र उनको समूहलाई काउन्टर दिनुपर्ने, यता विप्लवलाई मूलधारमा आउनुपर्ने, साथीहरू छुटाउनु पर्ने, अनेक कारण हुनसक्छन् । भनिन्छ, २०७२ को संविधानभित्र विप्लव अटाउँदैनन् । किनभने विप्लवले अस्तित्व र जनजिविकाको प्रश्न उठाएका छन् । जेहोस्, विप्लव शान्तिमार्गमा आएका छन्, मुलुकले त्रासदीबाट मुक्ति पाएको छ । यसका लागि ओली र विप्लव दुबै बधाईका पात्र हुन् । भन्नेहरू त ओली र विप्लवका बीचमा कार्यगत एकता हुन्छ समेत भन्न थालेका छन् ।
यहीबेला पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्कनु भएको छ । राजतन्त्रवादी र हिन्दुवादीको आक्रामक आन्दोलन सेलाउँदै जानु अर्को आश्चर्यको घटना हो । किन होला ? प्रश्न उठिरहेका बेलामा निजी पारिवारिक भ्रमणमा पूर्वराजा भारततिर लाग्नुभएको हो । भन्नेहरू त उत्तरप्रदेशलाई मुकाम बनाएर राजनीतिक भेटघाट हुनेसम्मका आँकलन गरिरहेका छन् । पूर्वराजा फर्केपछि पुनः हिन्दुवादी आन्दोलन आँधीसमान हुनेछ । अबको आन्दोलन राजतन्त्रवादीभन्दा पनि हिन्दुत्वका लागि हुनेछ । हिन्दुराष्ट्रको कुरा आउँदा सबैखाले राजतन्त्रवादीलाई सहज हुनेछ । अन्यौलग्रस्त राजनीतिका बीचमा हिन्दुवादी सडक आन्दोलन । यसैबीच जनमत संग्रहको माँग विप्लवको पनि छ, त्यो माँगले जोड पक्रन सक्छ ।
हिन्दुवादसँगको वार्ता, साझा सरकार, राजतन्त्रलाई पनि ठाउँ दिनुपर्ने कुरा उठ्ने नै छ । संविधान जारी भयो, निर्वाचन भयो, दुई तिहाइको सरकारले झन समस्या ल्यायो । अर्थात् संविधान असफल भएर राजनीति तरल नै छ । यो संविधानले मुलुकको समस्या समाधान गर्न सक्दैन भन्ने अब दुविधा बाँकी रहेन । नेपालमा जे जति शक्तिहरू छन्, तिनलाई बाहेक, विभेद, निषेध गरेर शान्ति र स्थिरता आउँदैन भन्ने प्रष्ट भइसक्यो । कुनै दलको राजनीति सफल हुनका लागि हिन्दुवाद र राजतन्त्रलाई पनि लोकतन्त्रको प्रवाहमा समावेश गर्नैपर्छ । सत्य यही हो । मुलुकको समस्या वैचारिक समस्या हो । यो समस्याको समाधान संविधान, चुनाव, सरकारले मात्र गर्न सक्दैन । यसका लागि नेपाली एकता जरूरी छ । जुन एकताको महत्वको विषय विप्लवले उठाएका छन् र शान्तिमार्गमा आउनुको मूल कारण बताएका छन् । यथार्थवोध हो यो ।
सरकार फेर्ने, आलोपालो गरेर समस्या संकटतिर उन्मुख हुन्छ । विप्लवले भनेजस्तो देशको प्रश्नमा खेलाची नगरौं, राष्ट्रिय एकता कायम गरौं । अहिले जे जति दलहरूको हालीमुहाली चलेको छ, त्यहाँ उत्तरदायित्व भन्ने कुराको अभाव छ । जोसुकै व्यक्ति सरकार प्रमुख बनुन्, हुनुपर्ने सबै शक्तिहरूको एकता नै हो । संसदीय झगडा र स्वार्थको गोलचक्कर धेरै भयो, मुलुक त्यसैमा फसिरहन सक्दैन । त्यसैले निर्णय जनताले गर्ने हो र जनअपेक्षा, जनआकांक्षा अनुरूप हिन्दुवाद, संवैधानिक राजतन्त्र र सबै राजनीतिक दलहरूको एकताको खोजी नै आजको मूल विषय हो । जति जति मूलविषयलाई पन्छाउने प्रयत्न हुनेछ, त्यति त्यति मुलुकको र मुलुकवासीको अवस्था जोखिममा पर्दैजानेछ । कुनै पदधारीलाई गलहत्याउने, कसैलाई कारवाही गर्ने र कसैलाई सत्तामा उक्लने समस्याले वर्तमान संकटको समाधान हुनेछैन । त्यसैले सबै नेताहरू एकै थलोमा बसेर कहाँनेर चुक भयो, पहिल्याएर सच्याउनेतिर लाग्नु राजनेता बन्ने मार्ग हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper