banner
banner

बृद्धाश्रमबारे नैतिकशिक्षा जरूरी भयो

देवी काफ्ले- -
बृद्धाश्रम किन चाहिन्छ ? बृद्धाश्रम भनेको बुढाबुढीलाई थन्क्याउने र ज्यूँदै मार्नका लागि बनाउने हो भने यो नेपाली संस्कारको अपमान भएन र ?
सन्तान वैदेशिक रोजगारीमा जान्छन्, व्यापार व्यवसायमा सफल भएका पनि धेरै छन् । तिनको काम नेपालमा बृद्धाश्रम बनाउन चन्दा दिने हो कि घरमा बृद्धबृद्धा हुनेले तिनको स्याहार सुसार गर्ने र जसको कोही पनि छैन, तिनका लागि बृद्धाश्रम बनाउने हो ? छोराछोरी, बुहारी आमा बाउको मुख हेर्ने दिन कार चढेर अलिकति मिठाइ र अलिकति फलफूल बोकेर भेट्न जान्छन् र फर्कन्छन् । ती आमाबाबुले यही दिनका लागि सन्तान जन्माएका, आफ्नो जीवन सन्तान हुर्काउन खर्चेका हुन् त ?
जबजब हामी बृद्धाश्रम वरपर जान्छौं तब तब छोराजतिलाई सत्तोसराप गर्न थाल्छौं । कस्तो अविवेकी छोरा ? जन्मदिने बा आमालाई बृद्धाश्रममा राख्ने ! घरमा बाउआमा अटाउन नसक्ने यसको पनि त भोली पालो आउला ! बाउआमाले कति दुख कष्ट सहेर पालेताले हुर्काए असत्ती छोरो मोराले बुढेसकालमा घरबास उठाईदिएछ । मानौं हामीले देखे सुनेका र सकेसम्म भर्खरै मर्ने गरि गाली गर्छौं । लाग्छ हाम्रा गालीले ती बृद्धबृद्धा भरखरै घर जान पाउँछन् वा त्यो छोराको बुद्धि फिरिहाल्छ ।
ती गालीहरूले मात्रै हामी कहाँ थाक्छौं र ? हाम्रा गाउँघर, टोलछिमेक सबैलाई झ्याली पिटाउँदै भन्छौं फलानाको छोरो जस्तो असत्ति, पापी, अधर्मी छोरो कसैको नजन्मोस्, हेर बाउआमालाई आश्रममा छोडेछ ? यस्ता घटना र कुराहरू समाजमा धेरै सुन्छौं तर चेत्दैनौं ।
हामी नेपालीको एउटा बानी छ कसैको केही कमजोरी देख्यो कि तुरून्तै न्यायाधीश बनिहाल्नु पर्ने । बाहिर हेर्छौं जे देख्छौं त्यसैलाई मात्रै सत्य मान्छौं थोरै पनि नेपथ्यलाई हेर्न खोज्दैनौं ।
 मैले यहाँ जोड्न खोजेको प्रसङ्ग के हो भने–मात्रै छोराको कारण बाबुआमा अपहेलित हुन्छन् वा अन्य कारण पनि ? कतै नेपथ्यबाट उसलाई बाध्य पारिएको त हुँदैन ? अब मन्थन गरौं ।
बिहे अगाडि कुनै छोराले आमाबाउलाई बृद्धाआश्रम लगेको छ ?
परिवारमा छोराको बिहे नहुँदासम्म ठिकठाकै चल्छ । एउटा छोराको बिहेले खासै फरक पार्दैन जब दुइवटाको बिहे हुन्छ नि अनि सुरू हुन्छ कचहरी । त्यस पछि घरमा दैनिक कलह, अशान्ति र अन्तमा बाआमाको गन्तव्य हुन्छ बृद्धाश्रम । यो कटु यथार्थ हो ।
किन बाबुआमासँगै तथा सबै परिवार मिलेर बस्न चाहन्नन्, आजकलका सन्तानहरू ? किन बाबुआमा भार हुन्छन्, भार पन्छाउन बृद्धाश्रम छाडिन्छन् ?
एक त एउटै आमाको कोखबाट जन्मेका सन्तानको त बिचार, ईच्छा, चाहना, स्वभाव फरक हुन्छ त्यसमा फरक फरक परिवेशबाट आएका हुन्छन् बुहारीहरू । फरक परिवेश, फरक वातावरण, फरक पारिवारिक अवस्था, फरक संस्कार, चालचलनबाट आएपछि सबैसंग घुलमिल हुन नि गाह्रो हुन्छ । एकापरिवारमा बस्न गाह्रो मान्छन् । फलत परिवार बिखण्डित हुन्छ ।
अहिलेका छोराछोरी खुला बस्न रूचाउँछन् । अरूको दबाब सहन सक्दैनन् । पतिपत्नीमा कसैको दखल नहोस् भन्ने चाहन्छन् । कृषिजन्य काम गर्न मन पराउँदैनन् । समग्रमा भन्नुपर्दा अल्छी छन् । खुलेर पैसा खर्च गर्नु, घुम्नु, बाहिर खाना खानु, डिस्को जानुलाई उनीहरू स्वतन्त्रता ठान्छन् । त्यसैले पनि परिवारमा सासुससुराको हस्तक्षेप चाहँदैनन् । उनिहरू एकल परिवार रूचाउँछन् ।
कहिलेकाँही छोराबुहारीले माया गरेको नबुझेर पनि साना साना विषयमा परिवारमा अन्तर्द्वन्द हुन्छ । यसकारण पनि परिवारमा शान्ति हुँदैन ।
धनसम्पत्ती हत्याउने नियतले पनि परिवार टुक्रिन्छ ।
जतिकुराहरू हामीले बाहिर देखेर समीक्षा गर्छौं पूरा सत्य हुदैन । यस्ता सबै परिवारका घटनाहरूमा दोषि केवल छोरो मात्रै हैन भन्ने मलाई लाग्छ ।
मुख्य भूमिका बुहारीको पनि रहन्छ जुन नेपथ्यमा हुन्छ ।
अब निराकरण के त ? 
 हामीले आफ्ना छोरीहरूलाई पनि त्यो शिक्षा दिनुपर्छ जसले परिवारलाई एकतामा बांधिराखोस् । सबै सासू आमा र सबै बुहारी छोरी बन्न त सक्दैनन् ।
बाबुआमा घरका खम्बा हुन् । बृद्धअबस्था सबैको आउँछ । आफुले गरेको ब्यवहार छोराछोरीले पनि सिक्छन् र भोलि मेरो अबस्था पनि त्यहि हो भनेर सबैले सोच्नु जरूरी हुन्छ ।
आफ्नो जन्मघर छाडेर जानुपर्ने एउटा संस्कार रिति पालना गरिन्छ भने परिवार पनि त सहर्ष स्वीकार गर्न सक्नु पर्यो नि । समस्या यता पनि छ ।
म केही समय अगाडि रिडीको ऋषिकेश मन्दिरमा जाँदा मन्दिरको सिंढिमा  एकजना आमा बस्नु भएको थियो । मलाई जिज्ञासा लाग्यो र सोधे आमा हजुरको घर छैन र ? उहाँले आँखाभरी आँसु पारेर भन्नुभयो– छ नि नानी घर त बस्न पाएपो ! छोरो लाहुर गएको छ बुहारीले भित्र पस्न दिन्न, नातीनातिनासँग बोल्न दिन्न । यहाँ बसेर भगवानको भक्ति गर्छु भन्दै मैले दिएको केही पैसा पटुकाको टुप्पोमा बाँध्नुभयो । मैले केही आवश्यक कुरा किनेर खानु न आमा भन्दा उहाँको जवाफ थियो– नानी छोरो आएपछि भेट्न जाँदा नातीलाई बिस्कुट लैदिन्छु । मेरा आँखा रसाए । राम्दीको बृद्धाश्रममा पनि ठिक यस्तै भयो । धेरै आमाहरूका कुरा सुन्दा बुहारीकै कारण घर छोड्न बाध्य भएको पाएँ । बुहारीको गलत व्यवहार मात्रै दोषी हो कि अरू पनि कारण छन् ? तर बुहारीमा घर सम्हाल्ने ज्ञान जरूरी देखिन्छ बढी ।
अब हामीले ती बुहारी हुने छोरीहरूलाई कस्तो शिक्षा दिने ? मनन् गरौं । पाठ्यपुस्तकमै घर परिवार शिक्षा पनि दिने कि ? छोरीहरूलाई छुट्टै नारी शिक्षा दिन जरूरी देखिन्छ । शिक्षा छोराहरूलाई पनि दिनुपर्छ । सबै बाआमा छोराको मात्रै हैन बुहारीका कारण बृद्धाश्रममा छन् । तितो सत्य हो यो । आधुनिकताको नाममा घरपरिवारमा देखिने यस्ता बिकृति र बिसंगति हटाउन सोचौं, केही गरौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper