banner
banner

सरकारसग मलाई सोध्नु छ–

देवी काफ्ले - - 
आन्दोलन, आमसभा, नेताका पाखुरा सुर्कासुर्कीको सिजन चलिरहेको छ अहिले । जनसभामा मान्छेको अत्याधिक उपस्थिति गराउनु नै शक्ति हो भनेर शक्ति प्रदर्शन भैरहेको छ । सडकमा जुलुस, टर्चलाईट, लालटिन बालेर कालो पट्टि शिरमा बाँधेर नारा लगाईएको छ । दैनिक रूपमा भएका यी कार्यक्रमहरू दुई फरक फरक अभियानका लागि हुन् ।
निशुल्क बसमा मान्छे ओसार्ने, जनमानस जुटाउने नेताहरू कुर्सी र सत्ताका लागि अभियान चलाएका छन् भने अर्काथरी बिध्यार्थी, युवा र महिलाहरू बलात्कार पिडित बालबालिकाको न्यायका लागि सरकारको आँखा खोल्ने चेष्टा गरिरहेका छन् ।
आज पनि कपिलवस्तुको जीतपुरमा साँझको बेला यस्तै लालटिन बालेर टर्चलाईट बालेर अपराधी खोज्ने प्रयत्न गरिरहेका थिए । नमिता, सुनितादेखि लिएर भागरथी भट्ट सम्म आईपुग्दाका खण्डहरूको चर्को आलोचना गरे । कार्यक्रम शुरू गर्दा नै मुटु छेड्ने हृदयविदारक नाट्य अभिनय गरे । बक्ताहरूले न्याय मागे । सरकारले सुनेन । राजनीतिक खिचातानीमा राष्ट्रपतिको बैयक्तिक कुरा उठाईएको भनेर महिला नेतृलाई पक्राउ गर्ने काम गर्ने सरकारसंग न्यायको लागि राष्ट्रपति प्रतिको गुनासो पनि टड्कारो रह्यो । वास्तवमा जुनसुकै तन्त्रले पनि हाम्रो मुलुकमा छोरी सुरक्षित छैनन् भन्ने तथ्य त नमिता सुनिता देखि भागिरथी सम्मका घटनाले पुष्टि गरेको छ ।
दिनहँु बलात्कार हुन्छ । बालिकाहरू मारिन्छन् । पिडितहरू न्यायको याचिका गरिरहन्छन् । सरकार आश्वासन दिइरहन्छ ।अपराधी खुलेआम हिडिरहन्छ । समाज पिडितलाई इज्जत जान्छ भनेर चुपचाप बस्न दवाव दिईरहन्छ । शक्तिशाली अपराधीका लागि न्याय बिकीरहन्छ । आखिर यो देशमा छोरी सुरक्षित कहिले हुन्छन् सरकार ?
किन दिनहुं अपराध बढ्दा पनि प्रशासनले सबुत प्रमाण खोजेजस्तो गर्दै अपराधमाथि गम्भीर खेलवाड गर्छ?न्यायालयले फैसला हांस्यास्पद तरिकाले गर्छ । ताकि अपराधी पिडक हैन पिडित नै दोषि हो बनाईदिन्छ । समाजले पिडितलाई अनेक बहानामा हिंसा गर्छ । किन कि छोरीसंग योनी छ । ती ब्यभिचारी पुरूषको हवसको सिकार बनेका हाम्रा ती कलिला कोपिलाको योनीमा किन ईन्जतको टाँचा लाईन्छ थाहा छैन ।
राणा, पन्चायत, बहुदल, लोकतन्त्र देखि गणतन्त्रसम्म कुनै छोरीले न्याय पाउंदैनन् भने बिडम्वना होईन त?आखिर छोरी सुरक्षित हुनका लागि कुन तन्त्र आउनु पर्ने हो ? जवाफ देउ सरकार ।
हाम्रा छोरी बलात्कार हुदाको पीडा, छोरी मारिदाको पीडा जसलाई पर्यो उ बाहेक अरू कसले महसुस गर्न सक्छ र ? त्यसैले होला हामी नेपाली महिलाले धेरै आशा गर्यौं कि ? हामीले पदको दायरा बुझेनौ ? अझै पनि आशा न्यायको गरेका छौं र राष्ट्रपति महिला भयको कारण पनि हामी लोभि भयौं । बिडम्वना यो भयो कि हामीले जे आशा गरेका थियौं त्यसको विपरित भयो  ।राष्ट्रपतिको मुख खुलेन । मुख खोल्न नमिलेर हो या हामीले क्रोयसियाकी राष्ट्रपति नेपालमा खोज्नु, न्युजिल्यान्डकी प्रधानमन्त्री जस्तै राष्ट्रप्रमुख खोज्नु हाम्रो हाम्रो लोभ हो ? जनताको शासनमा पनि राजसी ठांटबांट तर हामी गाउंले महिला छोरी बुहारीको अबस्थामा परिवर्तन आकाशको फलआखा तरी मर जस्तो ।
  आज मैले देखेको कार्यक्रममा के बृद्ध के युवा सबैको आशाको केन्द्रबिन्दु राष्ट्रपति नै हुनुहुँदो रहेछ । देशका संरक्षकका रूपमा रहेको राष्ट्रपति पदले राष्ट्रका पीडा सुन्नुपर्छ, पीडा हरणको संवोधन हुनुपर्छ, हुनैपर्छ ।
म सरकारसँग प्रश्न गर्न चाहान्छु–
 सरकार ! अझै पनि कलिला मुना छोरीहरूको सतित्व, अस्तित्व निमोठ्नेहरूलाई कहिलेसम्म संरक्षण दिइरहन्छौं, तिनका लोयल बन्छौ ?
अपराधमा परेका बालिकाको उजुरी लिन नमान्ने प्रशासन तिम्रो लागि सबुत प्रमाण ती बच्चीहरूले कसरी दिन सक्छन् ? समाजमा शान्तिव्यवस्था कायम राख्ने र घटनाको अनुसन्धान गर्ने जिम्मेवारीका लागि प्रशासन खडा गरिएको हो भनेर नागरिकले सम्झाएनु पर्ने ? राजनैतिक संरक्षणमा अपराधहरूलाई बचाउनेहरू ग्यारेन्टी गर्छौ कि तिम्रो परिवारका छोरी सुरक्षित छन् भनेर ? बलात्कार र हत्या भनेको आगो हो, आगोको कुनै मित्र वा शत्रु हुँदैन । सत्य बुझ्न किन अबेर ?
सरकार अझै पनि जनताले सडकमा लालटिन बालेर अपराधी कहिलेसम्म खोज्नु पर्ने हो ? सरकार छ भने सरकार भएको अनुभूति दिलाऊ ।
अब हामी आजित भयौं । हाम्रा हक अधिकारका कुरा लेखिएका संबिधानका पाना च्यात सरकार । अब हामी आफै लड्छौं । लड्नै पर्ने भयो ।
महंगी बढ्छ, भ्रष्टाचार हुन्छ, आन्दोलन हुन्छ, कार्यकर्ता पक्राउ पर्छन् अनि ती सबैका लागि सम्बोधन हुन्छ तर पिडित बालिकाको सतित्व र अस्तित्वका लागि कहीँ सुनवाई हुँदैन ।  कसैले बोल्न आबश्यक ठान्दैनन् किन?
चुनावका बेला सयौं नारा, बिकासे कार्यक्रम, न्याय, समानता सम्बृद्धिलाई बेचेर कमाएको कुर्सी कतिन्जेल सुरक्षित हुन्छ ? सुरक्षित राख अनि जब कुर्सी ती नाराका बोलीमा, पोष्टकार्ड, प्लेकार्डहरूमा धमिरा लाग्छ बल्ल हाम्रा सामु आऊ, न्याय कसरी गर्ने हामी सिकाउँछौं । आँखामा पट्टि बाँधेर हैन अब हामी तेस्रो नेत्र पनि खोल्न बाध्य हुनेछौं । नारीशक्तिलाई कमजोर ठान्नेहरूलाई नारीले सिकाउनेछन् ।
अझै पनि विवेक छ, जिम्मेवारीवोध छ र नैतिक धरातलमा उभिएको सरकार हो भने सरकारले सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नुहुन्न ।
बलात्कार र हत्याजस्तो जघन्य घटनाका अपराधीलाई हदै सम्मको कारवाही होस्  । यस्ता अपराधीलाई संरक्षण नहोस् । जबसम्म कडा कारवाही हुनेछैन, तबसम्म यी बलात्कारी, हत्याराहरू समाजमा गोमन साँप बनेर घुमिरहनेछन् । समाजको विकास हुनेछैन ।  जदौ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper