banner
banner

कहालीलाग्दो गरी बढ्यो बलात्कार र हत्या

अधिवक्ता गंगा दाहाल - - 
निर्मला पन्तको बलात्कार र हत्यापछि धेरै वालिकाहरूको बलात्कार र हत्या भइसकेका छन् । यसैको अर्को श्रृङ्खला हो बैतडीकी भागिरथी भट्टको बलात्कारपछि हत्या प्रकरण ।
माघ २१ को यो घटनाले बल्ल राजनीतिक दलहरूलाई पनि तताएको देखियो । नेताहरूले पनि यसबारे बोले । तर, सरकारको असक्षमता भनेर यो घटनालाई राजनीतिकरण गरे ।
निर्मलाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले भनेका थिए– ‘निर्मला पन्तको जस्तो बलात्कार र हत्या हिजो भएकै हुन्, आज हुन्छन् र भोली पनि हुनसक्छन् ।’ आज भगिरथी भट्ट र भोलि पनि अरू बालिकाहरूको बलात्कार हुनसक्छ, यसमा दोषी सरकारमात्र होइन, हरेक पार्टीका नेताहरूले किन कडा कानुन र सुशासनका लागि मार्ग प्रशस्त गर्न सकेनन् । बलात्कार राजनीतिभन्दा पनि नितान्त सामाजिक समस्या हो । कुनै घटना भयो कि पीडकलाई बचाउन अग्रसर हुने राजनीतिक नेताहरूले पीडितको पक्षमा उभिएर बलात्कार र हत्याका वारदातहरू न्यूनिकरणमा सघाएको भए यसरी भगिरथीहरूले बलात्कृत भएर मारिनु पर्ने थिएन ।
स्मरणीय छ, केही समय अघि भारतीय प्रहरीले भारतका केही बलात्कार दोषी ठहर भैसकेका अपराधीलाई इन्काउन्टर गरेका थिए । त्यो बेला सिङ्गो भारत देखी पुरै विश्वबाट भारतीय प्रहरीले स्यावासी पाएका थिए । त्यस्तो खाले स्यावासीका लागि नेपालका सुरक्षा निकायले काम गर्नुपर्ने बेला आएजस्तो छ । किनकि नियम कानुन र राजनीतिले अपराधीलाई संरक्षणमात्र गरेपछि आमाहरूले न्यायका लागि गुहार्ने यसैगरी हो ।
बालिकाहरू बलात्कृत भइरहेका छन्, तिनीहरू मारिने क्रम पनि जारी छ । एक त छोरी जन्माउन नचाहने, अर्कोतिर जन्मेका छोरीहरू बलात्कृत भएर मारिने क्रम रोक्नका लागि कानुन व्यवस्थाले डर फैलाउन सकेन, जसका कारण बलात्कारीहरूको हौसला बढेर गएको देखिन्छ ।
स्वास्थ्य, शिक्षा र सुरक्षा लोकतन्त्रका आधार हुन् । यी आधारहरूमा अपराध छिरेको धेरै भयो । यस्ता अपराध कम गर्न के गर्न सकिन्छ, यसबारेमा राष्ट्रिय बहस हुन जरूरी छ । जब बालिका बलात्कृत भएर मर्छिन्, पीडावोध गरेजस्तो गरेर पुग्दैन । पीडितलाई न्याय र पीडकलाई कडाभन्दा कडा दण्डको व्यवस्था हुनुपर्छ । अन्यथा हामी लोकतन्त्रको नाममा, अग्रगमनको नाममा असभ्य भएर पशुवत् मानसिकतातिर उन्मुख हुनेछौं । हामीले सभ्य समाजको परिकल्पना गर्ने हो भने बलात्कार र हत्याको 
जरोकिलो उखेल्न अबेर किन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper