banner
banner

कति नङ्ग्याउने छोरी चेलीलाई ?

देवी काफ्ले- - 
संसारका सात अर्ब मान्छेहरु मध्ये साढे तीन अर्ब त महिला छन् । ती तीन मध्ये एक तिहाइ अर्थात् एक अर्बको हाराहारी महिला हरेक दिन हिंसा सहन बाध्य छन् । संसारमा यो भन्दा ठूलो महायुद्ध के हुन सक्छ ? महिलाहरु नेपालमा मात्र हैन संसारका हरेक देशमा हिंसाको शिकार हुन्छन् । विकसित राष्ट्रहरुमा झन् धेरै हिंसा हुने गरेका छन् । दुःखको कुरा धेरैजसो हिंसा परिवार भित्र नै घटिरहेका छन् ।
समयको हिसाबले हामी एक्काइसौं शताब्दीमा पुगेपनि हाम्रो मन, चालचलन, बोली, भाषा, भाषण, गीत यत्रतत्र सर्वत्र हिंसाजन्य वातावरणलाई त्याग्न सकेका छैनौं जसको परोक्ष गन्ध आइरहेको छ ।यद्यपि महिला हिंसा पुरुषबाट मात्र भएको छैन अपितु महिलाबाट पनि मनग्ये हिंसा हुने गरेका छन् । पितृसत्ता पुरानो शब्द हो तर अहिले यो संशोधित रुपमा नाम फेरियर पुरुषतन्त्र भएको छ । जुनसुकै पुरुषले आफ्नो शक्ति होस् या तन्त्र सजिलै देखाउन सक्छ । सामाजिक व्यवस्थाको रुपमा रहेको पितृसत्ता पनि जाति, नश्ल, वर्ग जस्तै हो । अझ भन्नुपर्दा पितृसत्ता एउटा बिचार पनि हो जुन हरेक दिन वनको डढेलो जस्तै फैलिरहेको छ । महिला र पुरुषको असमान स्थान कहाँ छ?भनेर समाज, चलन, राजनीति वा अन्यत्र हेरौं । हाम्रो परिवेशमा महिला पुरुषको बिच यति धेरै विकराल दूरी छ कि त्यो दूरी मेटाउन अझै कति समय लाग्ने हो? र कति महायुद्ध गर्नुपर्ने हो? आंकलन गर्न पनि कठिन छ । हुन त महिला हिंसा र अधिकारका विषयमा केही सुधार भएको सत्य हो तर ती सुधारिएका लिखित पानाहरु कार्यालयका दराजमै थन्किएका छन्, व्यवहारमा लागू गर्दा देखावटी रुपमा या महिलालाई थुम्थुमाउने मानसिकतामा मात्रै भएका छन् । एकपटक नियालेर हेरौं त्यसका उदाहरणका लागि राजनीतिको अहिलेको परिदृष्टिले छर्लङ्ग बनाईदिएको छ ।
पितृसत्ताका धरोहर हामी पूर्ण रुपमा पुरुषलाई मान्छौं तर दुर्भाग्य हामी स्वयं महिला पनि पितृसत्तालाई नै मान्ने गरेको छरपस्ट उदाहरण छन् । बच्चा जन्मेपछि धेरै समयसम्म आमासँगै हुन्छ अनि हामी हाम्रा छोराछोरीलाई सानैबाट भेदभावयुक्त संस्कार सिकाउँछौं । महिला र पुरुषले गर्न हुने र नहुने कामको वर्गीकरण गरि दिन्छौं । फलतः स्वभाविक रुपमा पितृसत्तालाई मलजल गराई दिन्छौं । घरका काम छोराले गर्न नहुने, छोरीले बाहिर शिर ठाडो पारेर हिड्न नहुने आदि प्रचलन यसको अकाट्य उदाहरण हो । यस्ता संस्कारले गर्दा हामीले कुनै न कुनै रुपमा बर्सेनि धेरै छोरीहरु गुमाईरहेका छौं । छोराको यति धेरै आवश्यकता महसुस गर्छौं कि हामीले छोराको चाहनामा गर्भमै छोरीलाई मारिदिन्छौं ।
 वास्तवमा पितृसत्तामा महिलाका पक्षमा धेरै नै नियन्त्रण गरिन्छ ।महिलाको श्रमशक्ति, महिलाले गर्ने काम साथै उनको कमाइमाथि पनि पुरुषकै नियन्त्रण छ । सरकारी कामकाजहरुमा बाहेक खेतीबारी, ज्यामी, लेबर काम गर्ने महिलाले पुरुषसरह ज्याला पनि पाउँदैनन् । महिलाको प्रजनन शक्तिमाथि पनि यहाँ प्रशस्तै नियन्त्रण छ । छोरा जन्माउने कि छोरी ? महिला यदि छोरी नै जन्माउन चाहन्छिन् भने पनि गर्भको बच्चाको भ्रुण परीक्षण गरि भ्रुण हत्या समेत गराईन्छ । यस्ता विविध अवस्थाहरु छन् जहाँ आज पनि महिलामाथि नियन्त्रण गरिन्छ ।
 मलाई उदेक त यो लाग्छ कि आज पितृसत्तामा पुरुषहरु स्वयं पनि पिडित छन् । उनिहरुलाई पनि पितृसत्ताले नियन्त्रणमा लिएको छ ।उदाहरणका लागि “लोग्नेमान्छे भएर रुनुहुन्न“ भन्ने भनाइलाई लिन सकिन्छ । सृष्टिले महिला पुरुष भन्ने भेदभाव नगरी रचना ग¥यो तर त्यसलाई नियन्त्रण गर्ने हामी महिला पुरुष नै भयौं । जसका भेदभाव युक्त व्यवहारले महिलाको प्रजनन शक्ति, महिलाको यौनिकताको हक पनि हाम्रो नियन्त्रणमा छैन । बलात्कार हुन्छ । पुरुष चोखै रहन्छ, महिला बदनामीको सिकार हुन्छे । समाजले घृणा गर्छ । आफ्ना छोरी चेली ढाक्ने अर्काकी छोरी चेलीलाई नङ्ग्याउने प्रवृत्तिले हिंसा बढाउन झन् उर्बर भूमि पाएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper