banner
banner

अन्यथा...देश असफल हुन्छ

शाश्वत शर्मा- - 
दुईलाख मान्छे उतार्ने धक्कु लगाएका प्रचण्ड–माधव गुटले संसद बिघटनविरुद्ध गत शुक्रवार देखाएको जुलुस र आमसभा पूरै असफल भएको छ । सहरीया सचेत वर्गले उक्त विरोधसभालाई नजरअन्दाज गरिदिए भने खरिद गरेर तराईबाट उतारेका मान्छेहरुले घूमघामको अवसरका रुपमा प्रयोग गरे । कतिले त किन राजधानी आएको भन्नेसमेत बताउन सकेनन् । त्यसो त उक्त विरोधसभामा सांसद भङ्ग विरुद्धको विरोधसभा भनिएता पनि प्रमुख वक्ताहरुको भाषणमा चाहिं पद नपाएको पीडा झल्किन्थ्यो । जतिसुकै प्रतिगामी कदमका विरुद्ध भनिए पनि बुझ्नेले बुझिसके कि यो सिर्फ पदको लडाइँ हो । त्यसो त त्यो विरोधसभालाई जवाफ दिन ओली समूहले आउँदो शुक्रवार माघ २३ गते राजधानीमै लाखौं मानिस उतारेर प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने बताएको छ । स्वयम् प्रधानमन्त्रीले भनेका छन्– आमसभा कस्तो हुन्छ, २३ गते हेर्नु ।
प्रचण्ड–माधव गुटलाई जसरी पनि ओलीलाई पदबाट नहटाइ भएको छैन । यसैमा जसपा पनि लागेका छन् । तर नेपाली कांग्रेसको ढुलमुले चालाले ओलीविरोधी आन्दोलन फिका फिका हुँदैछ । ओलीले बिरोधीको काण्डै काण्डका फाइल खोल्ने धमास दिइसकेका छन् । भर्खरै सीआइवीले ललिता निवास प्करणमा माधव नेपाल, डा.बाबुरामसहित ४ सय जनामाथि कारवाही चलाउनुपर्छ भन्ने प्रतिवेदन बुझाइसकेको छ भने स्वयम् प्रचण्डको लडाकुलाई वितरण गर्ने भनेर दिएको भत्ता प्रकरणमा अख्तियारमा थन्किएको फाइल खोल्ने गाइँगुईँ सार्वजनिक भइसकेको छ । कारवाहीबाट बच्न प्रतिगमनको विरुद्धमा भन्ने आन्दोलन यिनलाई नगरी भएको छैन । यसैका लागि गत शुक्रवार जुलुस प्रदर्शन गरे, मान्छे उतारे तर आन्दोलन एकदमै फितलो भयो । ओलीजस्ता जिरह नेतालाई गलाउन कारगर साबित भएन यो आन्दोलन ।
यही सब बुझेर माधव नेपालले भनेका छन्– यो त सुरुआतमात्र हो । काष्टिङ्, पूरा फिल्म त आउनै बाँकी छ । तर बुझ्नेहरु भन्छन्– ज्याला दिएर जिल्लाबाट ल्याइएका बाहेक सचेत बर्गले न सत्ताको, न विरोधीको साथ दिएका छन् । आखिरमा आन्दोलनको मुद्दा के हो ? त्यो नै स्पष्ट छैन । यस्ता ससाना कार्यक्रमले सरकार फाल्न कुनै बल मिल्ने देखिदैन । यो आन्दोलन भनेको एउटा प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री स्थापित गर्नुमात्र हो भन्ने धेरैले बुझेका छन् । प्रधानमन्त्री फेरेरमात्र के हुन्छ ? धेरैको प्रश्न छ, त्यसको उत्तर दिन प्रचण्ड, ओली र जसपा सक्षम देखिदैनन् । यो आन्दोलनबाट स्पष्ट भयो– तराइबाट मान्छे नल्याएको भए राजधानीमा कसैले साथ नदिने रहेछन् । खाली तिनका पिछलग्गु कार्यकर्तामात्र हुनेरहेछन् । अर्थात खरिद गरेर ल्याएका खेतालाबाट संसद पुनस्र्थापना हुन असऋभव देखिन्छ । जानकारहरु भन्छन्– माधव, झलनाथ खनालका मान्छे खासै छैनन्, मात्र प्रचण्डका कार्यकर्ता हुन्, तिनको आकर्षण र प्रचण्डको क्रेज पनि तल तल झर्दै गएको छ । जनआन्दोलनको प्रचण्ड क्रेज समाप्त भइसकेको छ । प्रचण्डका लागि ज्यान दिनसक्ने जमात कतै पनि देखिदैन । स्वयम् प्रचण्डले बरु मर्न तैयार छु भन्ने स्थिति आएको देखियो । परिवारवाद, भ्रष्टाचार, राष्ट्रघातमा प्रचण्डको समेत नाम मुछिन थालेपछि प्रचण्डको क्रेज समाप्त भएको हो । जतिसुकै टाउकै फोडे पनि ओली र उनको कदमलाई केही लछारपाटो लगाउन सक्ने देखिदैन । बुझ्न सकिन्छ, प्रचण्डले धम्क्याएको र घनश्याम भुसालसम्मले सडकको आवाज सुन्न चेतावनी दिनुको कारण । फेरि पनि भन्न सकिन्छ, प्रचण्ड माधव गुटलाई जनताले विश्वास गरेनन्, साथ दिएनन् । जनआन्दोलनताका प्रचण्डको एक आदेशमा युवाहरु ज्यान फाल्न तैयार हुन्थे, त्यो समूह किन देखिदैन ? प्रचण्ड आत्ममिमांसा गर्दैनन् । आज प्रचण्डको सभामा जो छन्, ती २३ गतेको सभामा पनि देखिनेछन् । गरिब ज्यालाका लागि नारा लगाउन जाने हुन्, जान्छन् । यस्तै समूहले हो, हिजो परिवर्तनहरु भएको । पैसा हो, ढुङ्गा हान्न लगाउन पनि सकिन्छ । अब प्रचण्ड, माधव, झलनाथ खनालले ओलीलाई चेतावनी दिनुको तुक छैन । कारण यिनीहरु आफैको स्थिति नाजुक छ । पहिले आफू सच्चरित्र भएको प्रमाण दिउन्, ठोस मुद्दा झिकुन् । ओलीले खायो, आफूले खान पाउनुपर्छ भनेर जनताको साथ पाउन सकिने दिन सकियो । स्वयम् ओली पनि सच्चिरित्र होइनन् । उनी धेरै ठाउँमा चुकेका छन् । एकाध राम्रा काम पनि गरेका छन्, जुन यिनले गर्न सक्दैनथे, चुच्चे नक्सा । बिस्तारै चुनावी माहोल बन्दै गएको छ, सबै त्यतै डोरिन थालेका देखिन्छन् । मूल कुरो भ्रष्टाचारको फाइल हो । ओलीले ती फाइल खुलाए भने आगामी चुनावसमेत चिल्लै हुने खतरा छ यिनका लागि । त्यसैले संसदले निर्माण गरेको सरकार सडकबाट फाल्न तम्सिएका हुन् यिनीहरु । २३ गतेको ओलीको प्रशिक्षण नामको जवाफी नारा जुलुस पनि फेल हुने देखिन्छ किनकि जनताको यिनमा पनि विश्वास समाप्त भइसकेको छ । ओली ठीक होलान्, ओलीको टीम भ्रष्ट छ, ओलीलाई समेत भ्रष्टाचारको रङ्ले रङ्गाएको छ ।
अव संघीय गणतन्त्र असफल भयो । राष्ट्रिय विचार विमर्श गरेर सुधार सहितको ०४७ सालको संविधानमा फर्कन सके सुशासनको आशा गर्न सकिन्छ । अन्यथा...

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper