banner
banner

हामी घृणित नेताका भेंडा नै हौं त ?

देवी काफ्ले--
कहिले दुई वर्ष कहिले अढाई वर्ष त कहिले तीन वर्ष! पाँच वर्षमा त कहिल्यै चुनाव नहुने भो । नेपाली जनताले स्थिर सरकार बेहोर्न नपाउने नै हुन् त ?
जब जब नेताका लागि कुर्सीमा भागबन्डा पुग्दैन तब तब संविधान गलत देखिन्छ अनि सरकारले कू गर्छ । अनि पक्ष विपक्षमा तानातान र हानाहान शुरु हुन्छ । विरोध गर्नु, नारा जुलुसको शुरुआत गर्नु र मनपरि चुनाव घोषणा हुनु त लोकतन्त्रको गहना पो बनाईदिए । जबकि लोकतन्त्रको गहना त स्वतन्त्र, सार्वभौम जनता अनि सुशासन, शान्ति, अमनचयन र समृद्धि हुनुपर्ने हो ।    
नेपाली जनताले राणा बेहोरे, पञ्चायत बेहोरे, काँग्रेस बेहोरे, कथित कम्युनिष्ट पनि बेहोरे तर जुन जनताको भोटको सिंढी चढेर उनीहरू सत्तामा पुगे ती जनता आज पनि एक छाक भात, आङ् ढाक्ने एउटा टालोमा खाली खुट्टाले अझै सपनाका भारी बोकि रहेका छन् तर सत्तान्धतामा मत्त साँढेहरुका टाउकामा भुईंका मान्छे उकास्ने गिदी कहिल्यै भरिएन । तैपनि लाज शरम पचाएर उनै जनतालाई भेंडा बनाउँदै सत्ताको दोहोरी खेलेर राज्यलाई रोधीघर बनाईरहेका छन् । त्यहि रोधीघरमा जनता नामधारी हामी कम्मर ढल्काएर नाची रहेका छौं । हिजो पनि तिनै नेताका पछाडि ताली पड्काउँदै हिडेका जनता आज पनि मेरो समूह तेरो समूह भनेर उनै नेताकै पछाडि हाहाहुहु गर्दै हिँडेर कतै नेतृत्व वर्गलाई नै गुमराहमा पार्दै त छैनौं ?
नेतृत्व वर्गलाई धरातलीय यथार्थतामा आउन नदिने बिचौलियाहरुका फन्दामा हिजो राजा वीरेन्द्र पनि नपरेका हैनन् । साल मलाई यकिन छैन । राजा वीरेन्द्रको कपिलवस्तुको सदरमुकाम तौलिहवा सवारी भएछ । सदरमुकाम देखि केही पर रहेको ऐतिहासिक तिलौराकोट र संग्रहालय पनि हेर्ने वीरेन्द्रको इच्छा रहेछ । बाटो चाहिँ शताब्दी पहिल्यै पिच गरेजस्तो भत्केर बाटोको रुप नै थिएन तर पनि बाठा बिचौलियाहरुले सदरमुकाम देखि तिलौराकोट र संग्रहालयसम्म नै पूरै बाटोभरि रातो कार्पेट बिच्छ्याएर विकास अवलोकन गराएका रहेछन् । त्यतिबेला सुर्यबहादुर थापा प्रधानमन्त्री थिए ।
ठिक आज पनि त्यही प्रवृत्ति हावी  छ । नेतृत्व तहमा पुगेपछि आफूले आफूलाई सर्व शक्तिमान सम्झने, भुईंमा झर्न नखोज्ने, आफू जन्मेको माटो बिर्सने नेतृत्व र नेतृत्वले जे गरेपनि देवत्वकरण गर्दै ताली पिट्ने बिचौलियाका कारण नै आज लोकतन्त्रमा पनि नव वर्गका शासक र जनताहरु बिच खाडल बनिरहेको छ । जबसम्म यो खाडल पुरिन्न तबसम्म जुनसुकै तन्त्र आए पनि शासक र जनता बिच सहकार्य हुन सक्दैन । जनताले स्वतन्त्र महसुस गर्न सक्दैनन् । आज पनि जनता र नेतृत्व बिचको दूरी यति छ कि जनताबाट निर्वाचित राष्ट्रपतिको हजारौंको संख्यामा सुरक्षाकर्मी सहित बग्गी सवारी हुन्छ ।सर्वसाधारणले सिंहदरवारमा मन्त्री भेट्नु प¥यो भने भित्रको अनुमति वा सिफारिस चाहिन्छ । भुईंका जनताले आफ्ना आत्मकथा सुनाउने ठाउँ छैन । हिजो दश वर्षे द्वन्द्वमा घाइते भएकाहरु आज अर्काले सामाजिक सञ्जालबाट मागिएको सहयोगले बास बनाउँछन् । त्यहि द्वन्द्वका नाइकेहरु आलिशान महल, सुबिधाजन्य बिलासी गाडी सम्पूर्ण सुबिधा भोग गरेका छन् । पटकपटक गाउँ जान्छन् अझै पनि नारा तिनै छन् । आफूले बोलेका वचन र खाएका कसम कहिल्यै पूरा गर्दैनन् । तब पनि उनैको पछाडि लागेर दैवी प्रकोपको रुपमा देखिएको महामारी कोरोनाको समेत प्रवाह नगरेर अझ नारा र जुलुसमा हिड्ने हामी जनता मूर्ख कि आह्वान गर्ने नेता मूर्ख ? आन्दोलनमा ज्यान आहुति दिनेहरुका छोरा छोरीहरु आज पनि भारत र खाडीमा पसिना बेच्न बाध्य छन् । क्षमतावान छोराछोरी समेत अवसर नपाएर विदेशिनु परेको छ । समानुपातिक, आयोगहरु, राजनैतिक नियुक्तिमा उनैका आसेपासे, आफन्त, नातेदार र बाँकीमा झोलेहरुलाई नियुक्ति दिन्छन् । नेताहरूका लागि आन्दोलनमा होमिएर टाउको फुटाउने सर्वसाधारणका लागि के त ? विद्यार्थीले पढ्न पाएका छैनन् । युवाहरु बेरोजगारीले थिचिएर उकासिन विदेश हानिन्छन् । कतिपय त निष्प्राण भएर काठको बाकसमा प्याक भई फर्किन्छन् । किसानले समयमा मलबिऊ, सिंचाई, प्राविधिक, बजार व्यस्थापन कुनै सुबिधा पाएका छैनन् । उद्योग धन्धा, कलकारखाना बन्द भए । नयाँ सञ्चालन गर्न विदेशि भित्र्याउन हस्ताक्षर गर्छन् । चुनावमा खर्च भन्दै तिनै विदेशिएका युवासँग चन्दा माग्छन् । रंगशाला बनाउन चन्दा, स्कुलहरुमा व्यवस्थापन गर्न चन्दा, गरीब बिरामीको उपचार गर्न चन्दा अनि यिनैलाई चैन । तीन तहका सरकारको काम भ्युटावर निर्माण मात्रै गर्नु हो ? अझै पनि यिनका कुर्सीका लागि भेंडा बनेर जुलुसमा जाने हामी खराब हैनौ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper