banner
banner

शवका वाकसहरु ?

गंगा दहाल –
गतहप्ता एयरपोर्टमा देखिएको कारुणिक दृश्य हो यो ।
शव बुझ्न जानेहरुको भीड । शव वाहनलाई भ्याइनभ्याई ।
एकैदिन १८ शव आयो । मलेसियाबाट आएका यी शवहरुले सरकारलाई केही भनेन ? सडकमा आन्दोलन गर्नेहरुले मान्छे गएर मान्छेका शव किन आए भनेर देखेनन् ?
संसद पुनस्र्थापना हुनुपर्छ भनेर सडक तताइरहेका नेताहरुले यी शवका बारेमा बुझ्नपर्छ कि पर्दैन ? बोल्नुपर्छ कि पर्दैन ? आज शव भएका यिनै मान्छेका हातहरुले हालेको भोटबाट यी नेता भएका थिए, यो सरकार बनेको हो, संसद बनेको थियो, संविधान जारी भएको हो । तर आज यी शवका लागि केही पनि छैन ।
परिवारजन शोकमा छन् । ससाना भुराभुरीहरु बाबाले पापा, नाना ल्याइदिने आशमा छन्, तिनले बुझेका छैनन्, जहाज चढेर गएका बाबा बाकसमा आए, बाकसबाट निस्कन्छन् कि धूलो धूवा बन्छन् । घरघरमा रुवावासी छ, तर सडकमा सत्ताको घीनलाग्दो रडाको मच्चिरहेको छ ।
नागरिकहरु प्ले कार्ड बोकेर आन्दोलन गरिरहेका छन् । ती नागरिकले यी विदेशबाट वाकसमा ल्याइएका नागरिकको पीडा बुझ्न सकेनन् । नागरिकले नागरिकको पीडा बुझ्दैन, नागरिकले नागरिकका घर घरमा भएको शोकमा समवेदना भन्न सक्दैन, तिनीहरु किन कसरी मरे भन्ने बुझ्न सक्दैन भने यो लोकतन्त्र कसका लागि, किन ल्याइएको हो ?
६२ लाख युवायुवतीहरु वैदेशिक रोजगारीमा गएका छन् । तिनीहरुको श्रम, शरीर शोषण भएको छ कि, तिनीहरुको समस्या के कस्तो छ, तिनीहरु समस्या झमेलामा छन् कि बुझ्न दायित्व सरकारको हो, संसद र तिनका जनप्रतिनिधिहरुको हो । कहिले पनि लोक प्रतिनिधिले लोकका यी समस्यामा चासो देखाएनन् । सरकारले चुनाव घोषणा गरेको छ, चुनाव भइहाल्यो भने मत हाल्ने त जनताले नै हो । जनतालाई मेसिनजस्तो बनाएर भोट हाल्न लगाउने अनि सत्तारस चुसिरहने । यस्तो राजनीतिले पनि देशको विकास हुन्छ कहिले ?
आउन त हरेक दिन खाडी मुलुकहरुबाट यस्ता शवहरु आइरहन्छन् । यसपल्ट भने एकैपल्ट १८ शव ल्याइयो । शव बोक्नका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै गयो । यो दर्दनाक स्थिति हो ।
वैदेशिक रोजगारीमा गएका युवायुवतीहरु कुन खालको जोखिममा छन्, छन् भने तिनको सुरक्षा बढाउने जिम्मेवारी संसद, सत्ताकै हो ।्
वैदेशिक रोजगारीमा गएका युवायुवतीहरु धेरैले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या किन गर्छन् ? तिनलाई सुझाव, सहयोग र आड भरोसा दिने सरकारले हो । त्यसको बन्दोवस्त हिन हुनसकेन ?
कतिपय नेपालीहरु विदेशको यातायात नियम नबुझ्दा पनि मरेका छन् । तिनलाई त्यस्तो जोखिमबारे अग्रिम जानकारी दिएर पठाउने प्रवन्ध अहिलेसम्म भएको छैन ।
कतिपय युवायुवती अपराधमा फसाइएका छन् । ब्लड मनीको झमेला पनि बेला बेलामा देखिन्छ । कतिपय नेपालीहरु परिवन्दमा पनि परेका देखिन्छन् । विदेशका जेलहरुमा हजारौं नेपाली युवायुवती छन् । तिनीहरु के कति कारणले जेलमा परे, कतिपय अभरमा परेका छन्, तिनको उद्धार गर्ने दायित्व पनि कसैले निर्वाह गरेनन् । लाग्छ, नागरिक निकासी गर्ने, तिनले पठाएको रेमिटान्सले देश चलाउने शासन छ । न बाचुन्जेल सहारा दिन्छ, न ऊ मर्छ, मारिन्छ, मर्न वाध्य पारिन्छ, त्यतिबेला लोकतन्त्रले सहारा दिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper