banner
banner

सकेजति नाङ्गिने र नङ्ग्याउने लोकतन्त्र

राजन कार्की- - 
सामान्य सभ्यताको सीमासमेत बाँकी नराखेर गालीगलौज चलिरहेको छ । सर्पले सर्पको खुट्टा देख्छ भनेझैं प्रत्येक नेता एकदोस्राप्रति कोपरा खन्याउन पछि परेको छैन । कसैले कसैलाई नङ्ग्याउन बाँकी राखेनन् । राजनीतिक संस्कार, सभ्यता केही पनि बाँकी छैन । लोकतान्त्रिक राजनीति भट्टीबाट निस्केका जड्याहहरूको झगडाजस्तो पो देखिन थाल्यो ।
अब पनि कसैले नेपालमा लोकतन्त्र छ भन्छ भने त्यो व्यक्ति मानसिक असन्तुलित हो भन्दा फरक पर्दैन । किनकि लोकतन्त्रमा मर्यादा हुन्छ, बिरोधीको पनि सम्मान हुन्छ, नेपालमा त फरिया र सुरूवाल फुकाला फुकाल भइरहेछ, यस्तो पनि लोकतन्त्र हुन्छ ?
गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता भनेर कुर्लनेहरू यतिबेला कुस्ताकुस्ती गरिरहेका छन् । जनयुद्ध र जनआन्दोलनको धक्कु लगाउनुहरू पनि यतिबेला एउटाले अर्कोलाई खुइल्याउने धन्दा चलाइरहेका छन् । लोकतन्त्र त पानी पहिले कसले थाप्ने भन्ने गाउँले महिलाको पधेंरो झगडाभन्दा गैवार देखियो । समृद्ध नेपाल, सुखी नेपालीको सपना सकियो ।
अझै जनताहरू यिनकै भर गरेर बसेका छन् । जनता विद्रोह गर्न सक्दैनन् । जनता चुनावबाट यस्तालाई मिल्काउँछन् भन्नेमा पनि शंका छ । राजनीतिमा जतिसुकै झगडा गरे पनि यी पार्टीहरूको बिकल्प छैन । मधेशवादी र राप्रपालगायतका ससाना पार्टी छन्, यी पार्टीहरूमा आ–आफ्नै ङारङार ङुरङ्र चलिरहेकै छ । जे भए पनि वर्तमान अवस्थमा कांग्रेसको बिकल्प कम्युनिष्ट र कम्युनिष्टको बिकल्प कांग्रेस नै हो । कांग्रेस थाकेर कुना बसेको थियो, कम्युनिष्ट कम्युनिष्टको मारामारले कांग्रेसलाई अवसर दिएको छ ।
प्रश्न अवसरको भन्दा पनि संविधान दुर्घटनामा प¥यो भन्ने हो । यस्तो संसद, सरकार, राष्ट्रपति, नेता, नागरिक समाज, अधिकारकर्मी कसैलाई पनि आफ्नो स्थानमा राख्न नसक्ने पनि संविधान हुन्छ । ताक परे संविधान नत्र सडक गान हुने यस्तो संविधानले अव देश चल्दैन । शक्ति पृथकीकरणको सिद्धान्त संविधान घोषणा भएका दिनदेखि कायम हुनसकेन । यो संविधानले देखाएको बाटो राजनीतिक वेश्यावृत्ति हो । पैसा भयो भने जे पनि निर्णय गर्न गराउन सकिने पनि संविधान हुन्छ ? व्यभिचारको रेडलाइट इलाका बनेको छ संविधान । यसकारण अब यो संविधान च्यापेर देश अघि बढ्न सक्दैन । यो संविधानले राष्ट्रिय मुद्दाहरूलाई क्रोनिक बनाएर लैजान्छ र राष्ट्रिय अस्तित्वको संकटमा पार्नेछ ।
यही संविधानको कमजोरीले हो, दिलहरू भागबण्डामा लागेका छन्, नेताहरू आआफ्ना स्वार्थशिद्ध गर्नतिर अग्रसर छन् । संहदरवार र शीतल निवासका श्री ६ महाराज, महारानीलाई कसरी आफ्ना मान्छे भर्ति गर्ने, कसरी देश लुट्ने, कसरी बढीभन्दा बढी सुख भोग्ने तनावमात्र छ । यो कुरो बताइदिने कुनै डाक्टर छैनन् । कसैले सही सुझाव दियो भने पनि कोही कसैले मान्नेवाला छैनन् । लोकतन्त्र गएगुज्रेको शासन भयो । लोकतन्त्र तुहियो ।
तुहिनु अर्थात खेरजानु । लोकले लोकका लागि ल्याएको लोकतन्त्र नेता र प्रभावशालीहरूले खोरिया र मौजा बनाएपछि खेर गयो लोकतन्त्र । भनिन्छ, अघिको तीतो, पछिको मीठो । लोकतन्त्र अघि पनि शोक, पछि पनि शोक बन्यो । जनताले चिल्ला र चर्का भाषणलाई मीठो मसिनो भनिदिनुपर्ने भयो । दुर्दिनले पिछा छाडेन । कति झेल्नु दुःख ?
अयोग्य संविधानमा बिराजमान आसनबाट गरेको शासन कसरी फलिभूत हुनसक्छ ? लोकोक्ति छ— माफ बार बार गर तर विश्वास एकबार गर । जनताले आफ्ना नेताहरूलाई बार बार विश्वास पनि गरे, माफ पनि गरे । फलतः नेता पुलपुलिन पुगे । लोकतन्त्र— अघिपछि अन्त चैतमा जन्त भयो । होस हराएकाको शासनमा राष्ट्रले पहिचान हराउँदैछ । नेता छन्, नेतामा हुनैपर्ने नीति—शिक्षा, नैतिक—शिक्षा, सैन्य—शिक्षा, व्यूह—शिक्षा, राजनीतिक—शिक्षा शून्य छ । अशिक्षितको नेतृत्वमा दुर्गन्ध छ, सुनौलो पद्धति दुर्गन्धित हुनपुग्यो । माटोमाथि नेताहरू गन्धे झारमात्र छन् ।
३ करोड जनसंख्या भएको नेपाल, ६२ लाख नागरिक रोजी रोटी, अवसरका लागि विदेशीएका छन् । २ करोड ३८ लाख जनसंख्याका लागि ७ सय ६१ सरकार छन् । तीन तहको संरचना छ र यसमा २८ हजार २ सय ८ जना राजाहरू छन् । पहिले ७० जना विशिष्ट थिए, अहिले ४ हजार ८ सय ६० जना पुगेछन् । लोकतन्त्र जोकतन्त्र बन्यो । नेपाल छोराहरूलाई मजदुर, छोरीहरूलाई बेश्याका लागि निर्यात गर्ने मुलुक भयो । पहिले बम्बैमा बेचिन्थे, अहिले कंगोसम्म बेश्यावृत्ति गर्न पु¥याइएका छन् । नारीहरू शरीरका छालाका लागि समेत तस्करी भइरहेका छन् । मानौं, नेपाल दासको मुलुक हो । संविधान भन्ने कागजको खोस्टोमा हो । नेपाली जीवनमा कहिल्यै स्वतन्त्रता आएन ।
कस्तो लोकतन्त्र ? जत्ति नाङ्गिए हुन्छ, जत्ति नङ्ग्याए हुन्छ ।
लोकतन्त्रमा लोकमत, लोकइच्छा, लोकअपेक्षा, लोकसुझाव, लोकबल र लोकाचारको लक्ष्मणरेखालाई सबैले मान्नुपर्ने हो । भ्रष्टाचारी टाउको उठाएर हिड्छ, दुराचारी आफै पुरिनेगरी माला लगाएर घुम्छ, मान्छेदेखि माटोसम्मका बलात्कारीहरूको मान सम्मान हुन्छ, यस्ताको जयजयकार गर्ने हामी नै हौं, हामी दास नभए के हौं ?
संवैधानिक अपराधीहरू लाठसाहेब हुन्, हामी तिनका रैती, दास । यस्ता नैतिकहीन, सिद्धान्तहीन, निष्ठाहीन नेताहरू भन्छन्— लोकतन्त्र ल्यायौं, लोकतन्त्र आयो । नङ्गा महाराजहरूलाई हामी नाङ्गो भन्न सक्दैनौं । नाङ्गो अभिव्यक्तिको प्रशंसा गरिरहेका छौं, हामी दास भन्दा बढी के हो ?
जो समाजवादको सपना देख्थ्यो, ऊ सोम शर्मा बनिरहेको छ । जो संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्थ्यो, ऊ बोकाको टाउको देखाएर कुकुर बेचिरहेको छ । लोकतन्त्र ठोकतन्त्र भएर चलिरहेको छ ।
देशको निधारमा लोकतन्त्रको चहकिलो साइनबोर्ड त झुण्डिएको छ, यही साइनबोर्ड मुनी राजनीतिक आपराधिक व्यवसाय गूको मूला फस्टाएझैं फस्टाइरहेको छ । हामी बिद्रोह गर्न सक्दैनौं । जति दुखोस्, सहिरहेछौं । छैन हामीमा नागरिक हैसियत ?
देख्नेका आँखा फुटे, सुन्नेका सही । परिवर्तनपछिका १४ वर्ष हेरेरै बिते ।
संविधान, जनताका लागि कालो पोते नपाउनेलाई तिलहरिको धोको मात्र हो । संवैधानिक शासन भनेर झ्याली पिट्नेहरू पिटिरहेका छन्, इन्टरनेशनल क्राइसिस ग्रुपले ब्रसेल्सबाट नेपालमाथि नै प्रश्नचिन्ह लागेको रिपोर्ट सार्वजनिक गरेको पढ्दैनन्, वल्र्ड बैंक र एडीबीको कहालीलाग्दा अर्थव्यवस्था र जनजीवनबारेको तथ्य पनि पढ्दैनन्, वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीमाथि दासजस्तो व्यवहार गरिन्छ भन्ने विभिन्न निकायको रिपोर्ट पनि पढ्दैनन् । लोक सरकारको दृष्टिमा लोक भए न पढ्ने हो, सत्ता र सम्पत्ति माथि मात्र नजर गाड्नेहरूलाई केको संविधान, केको सार्वभौम नागरिक ?
जनता समुद्र हुन्, चुपचाप छन् । समुद्र शान्त हुन्जेल, रमाइलो लाग्छ । जब समुद्र उर्लिन्छ, सुनामी चल्छ र बितण्डा मच्चाउँछ । अहिलेको लोक चकमन्नता अर्को जनयुद्धअघिको शान्ति त होइन ? संविधानको दुर्घटना अर्को परिवर्तनको आहट त होइन ?
संवैधानिक शासन, लोकमैत्री भनेको जनताप्रतिको जिम्मेवारी, घोषणापत्रप्रतिको जवाफदेहीता हो । जुन छैन, द्वन्द्व यही हो । तर्क, बितर्क र बहस लोकतन्त्र हो, द्वन्द्व हिंसा हो । लोकतन्त्रको जामा लगाएर हत्या र हिंसापर्व रक्तपात मात्र हुन्छ । यो निरंकूशता हो । एकातिर भ्रष्टाचारको रक्तचाप, अर्कोतिर अनियमितताको सुगररोग, यो स्थिति अवश्यम्भावी मृत्यु हो । मृत्यु अँगाल्ने केको संविधान ?
संवैधानिक भन्दै राजनीति गर्ने र प्रशासन चलाउनेहरूले नाकलाई फोहरको गन्दे नालीमा धेरै जोते । गणतन्त्रमा टुकुचा गनाउन थाल्यो । हैजा संक्रमित संवैधानिक फोहरी नाक बोकेर नेपाल कतिदिन उभिन सक्छ ?
संविधान नामको यस्तो निर्लज्जता, आतङ्क अव रोकिनुपर्छ । किन ०१७ साल आयो, सबैले बुझ्नुपर्छ, पढ्नुपर्छ । चेत र चेतना नहुनु भनेको ज्यूँदो लाश हुनु हो । महादेवले पागलजस्तो भएर सतीदेवीको शव बोकेर हिँडेजसरी संवैधानिक बिकृति, बिसंगति बोकेर जनता कति पागल बनिरहने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper