banner
banner

अब जे हुन्छ, चाडै हुन्छ

शाश्वत शर्मा- - 
नयाँ नेपालको नाराले केही गर्न सकेन । अब जे हुन्छ चाँडै हुन्छ । केही न केही परिवर्तन हुन्छ भन्ने आशा, जिज्ञासा र उत्सुकता जनस्तरमा बढेर गएको छ । संसदको बिघटनपछि आन्दोलनमय भएको मुलुकको ध्यान फेरि एकपटक आफूतिर आत्रर्षितगर्दै पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार झापाको दमक पुगेका छन् । त्यसो त, संसद पनस्र्थापनाको माँग सहित माधव–प्रचण्ड गूट लगायत जसपाहरु समेत सडकमा उत्रिसकेका छन् । यो अवस्थामा राजतन्त्र चाहियो चाहियो भनेर दिनहुँ भइरहेका जनप्रदर्शन अलि ओझेलमा परेको हो कि ? भन्ने डर धेरैलाई लागेको हुनसक्छ । यही सशंकित वातावरणमा राजनीति भित्रको राजनीति तातेको छ । राजतन्त्रवादीको आन्दोलन उखु किसानको झैं सानो आन्दोलन होइन । माँग ठूलो छ । ब्यवस्था नै परिवर्तन गर्नुपर्ने मुद्दा छ । त्यसका लागि तैयारी, कार्यान्वयन पक्ष पनि ठुलै हुनुपर्छ । ब्यापक तैयारी नभएजस्तो अनुभूति केहीले गरेका छन् । नेतृत्व लिने दह्रो नेता नदेखिएकाले पनि संशय बढेको हो । वीर गोर्खाली, शिवसेना, सुरेन्द्र भण्डारीहरुले यति ठूलो कार्यलाई निकासमा पु¥याउन सक्लान् र ? न त राप्रपाले गर्ने सडक आन्दोलन र नेतृत्व हामी लिन्छौं भन्ने घोषणामा नै जनताको भर देखिन्छ । नागरिकको शान्तिपूर्ण आन्दोलनलार्इं सरकारले टेर्ला र ? गणतन्त्र पछार्न सक्ला र ? भन्ने पनि धेरै छन् । राजतन्त्रवादीको देशव्यापी आन्दोलनमा स्वयम् पूर्वराजाको ठोस भनाइ सार्वजनिक भइसकेको छैन । यो अवस्थामा कसरी महान कार्य फत्ते होला ? शंका जे भए पनि जनता सडकमा निस्किएकाले अब चाहिं केही हुन्छ, चाँडो हुन्छ । यो चाहिं पक्का छ । कसैले राजतन्त्रवादीको आन्दोलन निस्तेज भएर जान्छ भन्ने सोचेको छ भने त्यो कमजोर मानसिकता हो । पूर्वाग्रह हो । यो दुई दिनको रमझम होइन । बीबीसी, सीएनएनले समेत यसपल्टको राजतन्त्रवादीको आन्दोलनले परिवर्तन ल्याउने सकेत गरेका छन् । यो अध्ययन र अनुभवका आधारको समाचार हो ।
संसद भङ्ग भएको छ, मुद्दा अदालत र सडकमा पुगेका छन् । विश्व नेपाली राजनीतितिर आकर्षित छ, अझ छिमेकी मुलुकका उच्चस्तरीय भ्रमण धमाधम बढेर गएका छन् । पशुपतिको दर्शन त नेकपा किन फुट्यो, नेपालको स्थिति के हुन्छ भन्ने जान्न पनि छिमेकी आइरहेका छ्न । चीनकी राजदूत यान्छी र भारतका राजदूत विनयमोहन क्वात्रा विशेष सक्रिय भएका छन् । नेपाल दोबाटोमा उभिएको छ, नेताहरु विदेशी समर्थन र सहयोगका लागि हात पसारिरहेका छन् । नेताहरुको झगडा पदका लागि, सत्ताका लागि, स्वार्थका लागि हो भने राजतन्त्रवादीको आन्दोलन देशको झण्डा उठाएर भइरहेको छ । आमनागरिक खुल्न थालेका छन्, सडकमा उत्रन थालेका छन् । साँच्चै जनताले जनशक्ति देखाउने बेला परिपक्व हुँदैछ । अहिले देखिएको र भइरहेको राजनीतिक भाँडभैलो र संवैधानिक संकटले सुधार सहितको ०४७ को संविधान आकर्षित भइरहेको छ । यसबारे संविधानविदहरु छलफलमा जुटिसकेका छन् ।
धेरेको विश्वास छ, अव संसद पनि ब्यूँतिदैन, वैशाखको १७ र २७ मा चुनाव पनि हुँदैन । अनि राजालाई फर्कने बाटो खुलला हुन्छ । एकातिर राजतन्त्रको पुनस्र्थापनाका लागि दिनुहँजसो हजारौंको संख्यामा जुलुस र अर्कोतिर हरीब दुई तिहाइको बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेर संसद भङ्ग भइसकेको अवस्था तथा हरेक तह र तप्कामा बढ्दो द्वन्द्वले देश यसरी चल्दैन भन्नेमा सबै एकमत भइसकेका छन् । खाली जो लुट्न पाइरहेका छन्, तिनीहरुमात्र यो ब्यवस्थाको वकालत गर्नेमा देखिन्छन् । संविधानसभापछिका १४ वर्षका अनियमितता सबै हेर्ने हो भने त यो व्यवस्था एक मिनेट पनि नटिक्नुपर्ने हो । राष्ट्र र जनताप्रति उदासीन नेताहरुको एक एक हिसाव गर्ने भने त यी प्रमुख भनिएका दल र यिनका नेताहरु तत्काल जेल जानुपर्ने हो । यसतिर अर्को परिवर्तन नभएसम्म कसैले पहल गर्ने छाँट देखिन्न । मुलुकलाई नाङ्गो पारे भनेरमात्र हुन्न, नाङ्गो पार्नेलाई नङ्ग्याउन देशभक्तहरु सत्तामा जानुपर्छ, उच्चस्तरी सर्वशक्तिमान नागरिक आयोग बन्नुपर्छ । दोषीहरुलाई ठिङ्गु¥याउनु पर्छ । यसका लागि राजतन्त्रको पुनर्वहाली पहिलो शर्त हो । भनिन्छ, प्रम ओली भारत भ्रमणको होमवर्कमा जुटिसकेका छन् । बिरोधीहरुलाई ठेगान लगाउन भारतको साथ र सहयोगको याचना गर्न जान लागेको सहजै अनुमान गर्न सकिन्छ । नेपालमा राजतन्त्रको माँगबारे भारत अनभिज्ञ छैन । त्यसै पनि भारत नेपाललाई हिन्दु अधिराज्य भएकै हेर्न चाहन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीले पटक पटक यो विषय उजागर गरेका पनि छन् । अझ भारतका नेपाल जानकार सैनिकहरु समेत नेपाल हिन्दुअधिराज्य हुनुपर्ने बताइरहेका छन् । यसपल्ट नेपालको राजनीतिक समस्यालाई आन्तरिक मामिला मानेको देखिदैन भारतले । चीन र भारतले समेत बुझिसकेका छन् कि नेपालका वर्तमान नेताहरुमार्फत नेपाल अराजक बन्यो, नेपालको अराजकताले चीन र भारतको पनि हित हुनसक्दैन । नेपालका नेताहरुले चीन र भारतलाई समेत विवादमा फसाउन थालेका छन् । यी नेताहरु हिजोसम्म आफ्नो असफलता लुकाउन राजतन्त्रलाई दोष दिन्थे, अब दोष दिने ठाउँ कतै छैन । नेपालमा परिवर्तन नेपाल, छिमेकी, दाता कसैलाई पनि फापेन । अब परिवर्तन हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper