banner
banner

लैङ्गिक हिंसाविरुद्धका १६ दिन

देवी काफ्ले---
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा बिरुद्धको १६ दिने अभियान । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो  । हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न कार्यक्रमहरु गरिन्छ  ।
आजकल त झन् दिवस मनाउन गरिने कार्यक्रम त झन् भब्य हुन्छन् । यसपाली पनि सबै प्रदेशमा महिला हिंसा बिरुद्धको सोह्रदिने अभियानमा भब्य कार्यक्रम भए । जिल्लामा भए । नगर तथा गाऊं पालिकाहरुमा पनि छुटाउने त कुरै भएन । ठूला ठुला ब्यानरहरुमा महिला ह्ंिसा बिरुद्धका नारा लेखिए । महिला तथा सज्जन बृन्दहरु जमघट हुनुभयो । चर्का नाराबाजी भए ।मुठी उफारी उफारी महिला हिंसा अन्त्य गर भन्ने नाराले आकाश गुन्जायमान भयो । हरेक साल नयाँ नयाँ नारा हुन्छन् ।
एकहुल ब्यानर र प्लेकार्ड सहित चोक गल्ली हिंसा बिरुद्धका नारा घन्काउंदै जुलुश निस्कन्छ । फेरो लाउँछ अनि कोणसभा हुन्छ । मन्तब्य ब्यक्त गर्न मन्त्री, प्रादेशिक मन्त्री, मेयर, अधिकारकर्मी, नेतृहरु जो भए पनि ठूलै मान्छेका शुभकामनाले जनमानसमा खुशीको लहर छाउँछ । ठूला होटलका कन्फ्रेन्स हलमा भिआईपि पाहुनाहरुसँग दिवस मनाईन्छ । त्यहाँ पनि मन्तब्य, तथ्यांक प्रस्तुत हुन्छन् । हिंसा पिडतलाई न्याय दिलाएका, हिंसामा परेकाहरुको ठाउँठाउँबाट ल्याईएका तथ्यांक सार्वजनिक हुन्छ । डरलाग्दा पिडितका तथ्यांकले मुटु जोरतोडले काँप्छ । जब उद्धारका तथ्यांक आउँछ अनि सन्तोषको लामो सास फेरिन्छ ।
¥याली,ब्यानर, प्लेकार्डसँग जब मुक्तिका नारा घन्किन्छन् अनि ती शब्द शब्दले गिज्याएको अनुभूति हुन्छ । ब्यानरमा लेखिएका मूल नाराले, डिप्लोम्याटिक लजका कन्फ्रेन्स हल भित्र उब्जाईएका आवाजहरुले वास्तविक ठाउँमा अर्थात् हिंसा हुने र हिंसा गर्नेहरुका कान हल्लायो होला त ? मलाई यस्ता दिवस, नाराजुलुस, ब्यानरसँग दुश्मनी हैन तर यी १६ दिनमा कोठे कार्यक्रम भन्दा जहाँ हिंसाका सम्भावना छन् या त गाउँगाउँमा बहस चलाईदिए दिवसको औचित्य रहने थियो कि ?
यता कार्यक्रम भब्यताका साथ मनाईन्छन् ती अशिक्षित, अचेत, बिकट ग्रामिण क्षेत्रहरुमा महिलालाई बोक्सीको आरोपमा गुहु खुवाईदै हुन्छन् । निर्मला, गुलावहरुका शरीर चिथोरिरहेका हुन्छन् । दाईजोको नाममा छोरी बुहारीहरु जलिरहेका हुन्छन् । प्रेम गरेको अभियोगमा इज्जत बचाउनका लागि छोरीको सुपारी दिएर डाँका लगाएर मारिन्छ । मुस्कानहरुलाई एसिड छ्यापिन्छ । अनि हिंसा कसरी कम हुन्छ ? विश्वमै महिला हिंसा चरम उत्कर्षमा छ । नेपालका गाउँ सहरतिर महिला हिंसाको झन् डरलाग्दो र भयावह अवस्था छ । एन जि ओआई एन जि ओले तथ्यांक पेश गर्दै बजेट पचाउँदै छन् तर सचेतनाका नाममा उनीहरुले सिन्को भाँचेको छैनन् । ठाउँठाउँमा घटना घटेको घट्यै छ । अपराधीक प्रबृति कम हुने कुनै अवस्था देखिएको छैन तर कागजका खोष्टाले न्युनिकरण देखाईदिन्छ ।
महिला हिंसा न्युनिकरण गर्ने नै हो भने कार्यक्रम कोठाचोटामा हैन गाउँबस्तीमा जाउँ बहस चलाउँ, छलफल गरौं । महिला अधिकार, मौलिक अधिकारका बिषयमा अवगत गराऔं । कमसेकम बालिकाले आफ्नो सुरक्षाको लागि चिच्याउन सकुन् । रुढीबादी सोचले ग्रस्त भएकाले मान्छे बोक्सी हुँदैन भन्ने जानोस् । दाइजो लिनुदिनु छोरी किनबेच गर्नु रहेछ, यो गलत हो भन्ने जानुन् । आफ्ना अधिकारका लागि समाजसँग लड्न सकुन् । आफ्नो अधिकारको प्रत्याभुति गर्न सकुन् । आजका महिलालाई साक्षर हैन शिक्षित बनाउन सकियोस् तब न समाज सभ्य हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper