banner
banner

रत्नपार्कमा पद्मरत्न तुलाधरको शालिक किन ?

धर्मरत्न श्रेष्ठ---
  पद्मरत्न तुलाधरले देश र देशवासीका लागि कुन त्यस्तो योगदान गरेछन् र उनको सालिक रत्नपार्कको नामै बदलेर त्यही स्थानमा राख्नुपर्ने ? रत्नपार्क आफैमा ठिक छ, यसमा बेठिक हुने अथवा अलोकतान्त्रिक देखिने कुन त्यस्तो सवाल छ र ?
होला, कम्युनिष्ट आन्दोलनमा पद्मरत्नको योगदान होला । एउटा दल, विचारको प्रतिनिधित्व गर्ने व्यक्ति राष्ट्रको विभूति हुनसक्छ ? हो, शंखधर साख्वा ऐतिहासिक व्यक्तित्व हुन् । राष्ट्रिय विभूति हुन् । नेपाल संवतका प्रवर्तक पनि हुन् । सर्वपुज्य छन् । उनको सालिक सही स्थानमा राखौं । शोभा बढाउने स्थानमा राखौं । जनतालाई ऋणमुक्त गराइदिने ऐतिहासिक व्यक्तित्वको सम्मानमा शालिक राख्न भएका संरचनालाई बिध्वंश गरिरहनु पर्दैन । उनको नाममा मंका खलः संस्थाको अध्यक्ष भएका पद्मरत्नलई पनि जोडिरहनु पर्दैन । पद्मरत्न नेता हुन्, विभूति होइनन् ।
हरेक नागरिकले योगदान गर्छन्, सबैको सद्भावसहित शंखधर साख्वा पार्क बनाऔं, भव्य रुपमा बनाऔं, नागरिकले अपनत्व लिन्छ । नयाँ काम केही गर्न नसक्नेहरु भएका संरचना भत्काएर त्यही ठाउँमा शालिक किन राख्नुपर्ने ?
सय दिनमा सय काम गर्छु भनेर डिङ हाँक्ने काठमाडौं महानगरका मेयर उपमेयरले साँढे तीन वर्षमा एउटा पनि राम्रो काम गर्न सकेका छैनन्, अव रत्नपार्कमा पद्मरत्न तुलाधरको शालिक राख्ने निर्णयमा पुगेछन् ।
रत्नपार्क पूर्व महारानीको नाममा होस्, के फरक पर्छ । नाम हुँदैमा राजतन्त्र आउने होइन । जनताले चाहेकाले पञ्चायत गयो, लोकतन्त्र आयो । जनताले चाहे भने परिवर्तन भइरहनसक्छ । २०१८ सालमा स्थापित रत्नपार्कको आफ्नै इतिहास छ ।
जनआन्दोलनपछि २०६५ सालमा राजतन्त्र अन्त्य गरियो र राजारानीका नाममा रहेका सडक, क्याम्पस र पार्कको नाम परिवर्तनको लहर नै चलेको थियो । विभिन्न स्थानमा रहेका राजारानीको शालिकहरु तोडफोड समेत गरियो । नाममै चिलाउने रोग लागेको हो भने आफ्ना बाबुको नाम राजारानीको नामसँग मिल्यो भने फेर्न सकिन्छ ? त्रिभुवन विश्व विद्यालयमा पढेका प्रमाणपत्र कसरी फेर्ने ?
फेर्नुपर्ने खराव बानी हो । हुनुपर्ने नैतिकवान हो । गर्नुपर्ने असल काम हो ।
कोरोनाको महामारीका कारण राजधानीमा गरिखाने बर्ग भोकभोकै छ । गरिबहरुले उपचार पाएका छैनन् । खोप आउने कुरा छ, ६० अर्वको व्यवस्था गर्नुपर्ने छ । महानगर ४० लाख खर्च गरेर शालिक राख्दैछ । कोरोना लाग्यो भनेर सोल्टी होटलमा बसेर पचासौं लाख सिध्याए । मेयर हुनासाथ सबै वडासदस्यहरुलाई मोवाइल बितरण गर्ने मेयर सबैभन्दा अलोकप्रिय मेयरका रुपमा पनि चिनिन्छन् ।
रिकल गर्ने कानुनी व्यवस्था भएका भए यस्ता मेयरलाई राजधानीबासीले फिर्ता बोलाइसक्थे । एकपल्ट चुनाव जितेपछि ५ वर्ष कसैले पनि हल्लाउन नसक्ने कारणले गर्दा विद्यासुन्दर शाक्य र उपमेयर खड्गी मजाले महानगरमा गजधम्म बसेका छन् ।
एउटा राम्रो पार्क, त्यो पार्कमा शंखधर साख्वाजस्ता विभूतिको शालिक राख्न सके बालबालिका खेल्छन्, बुढाबुढी टहलिन्छन्, बिरामीहरु समय बिताउन सक्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper