banner
banner

गाईजात्रै देखाए कम्युनिष्टले

बरिष्ठ अधिवक्ता शिव सिग्देल--
लाजमर्नु शासन बन्यो लोकतन्त्र । लोकतन्त्र आफैमा उत्तम व्यवस्था हो, लोकतन्त्र भनेको लोकप्रतिको जवाफदेहीता हो । जवाफदेहीता त शून्य हुनपुग्यो । वास्तवमा लोकतन्त्रको नाममा जुन शासन चलिरहेको छ, यो शासन भनेको निरंकूशतन्त्र हो ।
प्रचण्डजस्ता जनयुद्धकारी नेता, जसले सर्वहाराको काँधमा बन्दुक राखेर यति ठूलो परिवर्तन गर्न सफल भए, त्यस्ता नेता यतिसम्म तल झर्न सक्छन् भनेर देख्नुप¥यो ।
झापा बिद्रोह गरेर र १४ वर्ष जेल नेल भोगेर आएका केपी ओली, यिनले त पक्कै देशहितमा, जनहितमा निर्णय गर्छन् भन्ने थियो, ऐतिहासिक शक्तिसहितको सरकार सञ्चालन गर्ने अवसर पाउँदा पनि ओलीले कुनै लछारपाटो लगाउन सकेनन् ।
जनताको नजरमा बसेका ओली, त्यही नजरमा बिझाउन पुगेका छन् । लाग्छ, शिखरमा पुगेर कम्युनिष्टहरु अव ओह्रालो यात्रामा झर्न थाले । पाएको अवसरलाई सदुपयोग गर्नुसाटो स्वार्थमा रुपान्तरण गर्दा कम्युनिष्टहरुको मतिभ्रष्ट हुनुपगेको छ । आमनागरिकमा कम्युनिष्ट भनेपछि घृणा जाग्न थालेको छ । कारण एउटै छ, जनताप्रतिको दायित्व निर्वाह गर्न नसक्नु र जनतामाथि अत्याचार बढाउनु ।
प्रचण्डले ओलीमाथि भ्रष्टाचारको कोपरा नै खन्याइदिए । यसको जवाफ म दिन्छु, कि पुष्टि गर, कि राजीनामा देउ भनेर ओली गर्जिएका छन् । आगामी केही दिनसम्म यो गल्ली झगडा नेकपाभित्र देखिनेछ । यो गल्लीका सान्चा पहलमानहरुको झगडाले राष्ट्रिय पार्टी, जसले सरकारको नेतृत्वसमेत गरेको छ, त्यो पार्टीको हुर्मत त गयो गयो, त्यो पार्टीलाई जिताउने जनताको पनि अपमान भइरहेको छ । लोकतन्त्रमा लोकमतको अपमान गर्नुजस्तो राजनीतिक अपराध कुनै पनि हुनसक्दैन । नेकपा नैतिकहीन नेताहरुको पार्टी हो भनेर अरुले होइन, त्यही पार्टी सञ्चालन गर्ने दुई पाइलट ओली र प्रचण्डले पुष्टि गर्दैछन् ।
दुई नेता मिलेर माओवादी र एमालेलाई मर्ज गराए, नेकपा बनाए । साँडे दुई वर्ष नपुग्दै साँढे सातको दशा लागेको अनुभूति दुबै नेता गरिरहेका छन् । हिजो किन पार्टी एकीकरण गरियो भनेर नसोध्ने दुबै पार्टीका नेताहरु आज किन झगडा गरिरहेको भनेर सोध्न सकिरहेका छैनन् । दुबै पार्टीभित्र एकसे एक नेताहरु छन्, तर दुबै पार्टीमा श्री ३ महाराजजस्ता देखिएका दुबै नेताको हालीमुहाली जमिन्दारी चलिरहेकै छ । लोकतन्त्रीय बिधिमा दुबै नेता चलेका, भिजेका देखिदैनन् । पार्टी पार्टी पद्धतिमा नचलेकै कारण नेकपा एक भएर पनि एकजस्तो हुनसकेन ।
अव आरपारको युद्ध छेडिएको छ । प्रचण्डले क्षेप्यास्त्र हानेका छन्, त्यसलाई परास्त गर्न केपी ओली ब्रम्हास्त्र तैयार गरिरहेका छन् । नेकपाभित्रको यो महाभारत अव चाइनिज वा भारतीय सुलोसनले टालेर टालिएलाजस्तो देखिदैन । ठूलो कुरा मानसिकता हो, मानसिक रुपमा दुबै पार्टी फुटिसकेका छन् । प्रचण्ड ओलीसँग वार्ता गर्थे अव विष्णु पौडेलसँग वार्ता गर्ने स्तरमा झरिसकेका छन् । यसको अर्थ नेकपा अव चिरियो, फुट्यो र जनतामा जुन भ्रम छरेर चुनाव जितेका थिए, त्यो आकर्षण अरुले होइन, ओलीको करनी र प्रचण्डको कथनीले सखाप पारेको छ ।
यस्तो अवस्थामा पनि प्रतिपक्षी नेपाली कांग्रेस सशक्त रुपमा अगाडि बढन नसक्नु र अधिवेशनमा अल्झिरहनुले आमनागरिकमा नैराश्यता छाएको देखिन्छ । प्रतिपक्षी जागुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper