banner
banner

कहिलेसम्म बोक्सी आतङ्क

देवी काफ्ले---
सप्तरी, परसाहीकी ३० वर्षीया मञ्जुदेवी सदालाई गत जेठमा बुहारी भुटियादेवीले बोक्सीको आरोपमा कुटपिट गरिन्  । ‘बोक्सी लागेर नवजात शिशुको मृत्यु भएको’ भन्दै मञ्जुदेवीमाथि अत्याचार गरिन् । स्याङ्जाको कटहरेबोटकी ५५ वर्षीया महिलालाई गत फागुनमा बोक्सी आरोपमा झाँक्री भनिएकी चापाकोटकी सोममाया रानाले कुटपिट गरिन्  ।
महिलालाई बोक्सीको आरोप लगाउँदै दिशा खुवाउने मोसो लगाउने अनि ज्यानै लिन पछि नपर्ने यो समाजका ती नरपिशाचहरु अझै जागा छन् । बोक्सीकै आरोपमा लक्ष्मी परियारले गाउंलेको कुटाईबाट मृत्युको आहारा बनिन् ।
आज पनि हाम्रो समाजमा यस्ता सोंचधारी अगुवा महिलाहरु ठाडो नाक लगाएर हिंडिरहेका छन् जसले निरीह, सोझा, गरिब, बिधवा, देख्नमा सुन्दर नभएका, आफुले सहजै हेप्न सक्ने महिलालाई बोक्सीको उपमा दिन्छन् । अन्य महिला हिंसा पुरुषबाट हुन्छ तर बोक्सीको आरोप लगाउने चाहिँ महिला नै हुन्छन् । ती निरीह महिलाले देखेपछि चट्कुले भद्र भनिएका महिलाहरुको पेट दुख्ने, टाउको दुख्ने, खानेकुरा नरुच्ने भएको नखरा देखाउँछन् । ती सोझा महिला बाटो हिंडेको देखे  भने पनि नखरावाली आइमाईको छोराछोरी बिरामी परे भनेर नाटक गर्छन् । ज्वरो आयो फलानीले देखेर, खाना खाएन फलानीले हेरेर भन्ने नाटक गर्छन् । कतिपयले त आफुमा भएका कमजोरी लुकाउन पनि फलानीले बोक्सी लागेर भन्दै आरोप लगाउँछन् । यस्ता नाटकीहरुको बिगबिगी छ, हाम्रो समाजमा । यो अन्धबिश्वासले हाम्रो गाउँघर मात्रै हैन अर्धशहरी क्षेत्रमा पनि जरो गाडेकै छ । यस्ता बिकृत मनोदशा बोकेकाहरुले बुझ्न नसकेका हुन् वा नबुझेका हुन् ? यदि बोक्सी हुन्छ भने त्यसरी खानै नरुच्ने, बिरामी बनाउनेहरुले समाजमा आफुलाई ठूला यातना दिने दुश्मनहरुलाई पनि मार्न सक्नुपर्ने हैन र ? समाजमा जति बोक्सीका आरोप लगाईन्छन् ती महिला नै हुन्छन् । पुरुषलाई एकदुई ठाउँमा आरोप लागेका छन् । महिला अधिकारका लागि बुरुकबुरुक गर्ने अनि अरु महिलालाई बोक्सी बनाउने ? समाजमा बोक्सी देख्ने ती समाजसेवीहरु नै छन् जसले आफु बाहेक अन्य महिला सबै निच हुन् भन्ने सोंच राख्छन् । म त भन्छु ती आफै बोक्सी हुन् जसले कोई सिधासाधा, अन्जान महिलालाई बोक्सी देख्छे । आफु जस्तो संसारलाई त्यस्तै देख्छन् ।
वास्तवमा बोक्सी त्यो हो जसले अरुलाई दुख दिन्छ । बोक्सीको आरोप लगाउने अनि धामीझाँक्री बसाल्ने,बोका कुखुरा काट्ने । झाँक्रीले बोक्सी चिन्ने औकात राख्छ ? सामाजिक चेतना नभएका कारण यस्तै अन्धविश्वास बढेको तथ्यांक निकालिन्छ तर मैले देखेको समाजमा त पढेलेखेका, समाजमा दुष्टता प्रवृतिबाट चिनिएका, आफु बाहेक अरुलाई मान्छे नदेख्ने खालका महिलाबाटै महिला माथि अपराध भयका छन् । सप्तरी र स्याङ्जाको माथिको घटना प्रतिनिधि पात्र हुन् यस्ता घटना त यहाँ टोलटोलमा घटेका छन् ।
अन्धबिश्वासको आडमा दिनहुँ महिला हेपिएका छन् । त्यो पनि महिलाबाटै । अरुलाई दोष दियर आफु सामाजिक बन्न खोज्ने संकिर्ण सोंचले कहिलेसम्म महिला समाजमा तिरस्कृत हुनुपर्ने हो ? अनि कहिलेसम्म यस्ता आरोपका सांक्षीबन्ने हुन्, कैलालीमा पोहोरसाल एकजना युवतीलाई बोक्सी आरोप लगाएर पूरा समाजको बिचमा मरणासन्न हुनेगरी कुटियो । दिशापिसाव खुवाइयो । फोटो भिडियो खिच्नेको ताँती थियो तर त्यो नानी जोगाउने एउटा पनि मान्छे थिएन । त्यो घटना देख्दा लाग्छ हाम्रो रमिते समाजले अझै पनि बोक्सीको आरोपमा कति महिलालाई तिरस्कृत गर्ने हो ? यसरी मानवीय संवेदनासमेत हराएको समाजमा जकडिएर रहेको अन्धबिश्वास कसरी हटाउने हो ? अन्य घटनाहरु जस्तै बोक्सी आरोपका घटना हिमालदेखि तराईसम्म ब्यापक छ । यसलाई निस्तेज पार्नका लागि जनचेतनामुलक कार्यक्रम र दोष थोपर्नेलाई सजायको लागि समाजमा छलफल र बहस चलाउनु जरुरी छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper