banner
banner

भारत महोदय, हिम नदी फुट्यो भने के हुन्छ ?

श्रीबिलाश दाहाल--
भारत मित्र हो तर दक्षिण एसियाका कुनै पनि छिमेकीले भारतलाई मित्रभन्दा पनि दृष्टका रुपमा किन हेर्ने गरेको छ भन्ने विषयमा स्वयम् भारतले तेश्रो आँखा उघारेर हेर्नुपर्ने स्थितिको सिर्जना भइसकेको छ । शक्तिशाली हुनका लागि छिमेकीको विश्वास आर्जन पहिलो सर्त हो भन्ने भारतलाई थाहा हुनुपर्ने हो, भारतले सोच्नैपर्ने हो ।
भन्नैपर्छ, भारतीय मित्र हो, अर्कालाई फुटाउने दुःख दिने भन्दा आफ्नो घर पहिले सम्हाल । पूर्व, पश्चिम, दक्षिण सम्हाल, उत्तरतिरको चिन्ता नगर । यसै पनि हिमाल शान्त, सुन्दर र गम्भीर हुन्छ । तर हिमाल पग्लियो भने, हिमनदी फुटेर उर्लियो भने ठूलो बाढी आउँछ । त्यो बाढी धान्ने क्षमता कमसेकम अहिलेको भारतसँग चैं छैन । पटक्कै छैन ।
मधेस आन्दोलनका बेलामा नेताका चेलाले, अन्ततः बूढा नेताको बाहुली दस्तखत लिएरै छाडे । अझ पनि राजेन्द्र महतो ज्वाला सिंह र गोइतलाई ससम्मान मूलधारमा ल्याउनै पर्छ भनेर सम्झौतापछि पनि अडान लिएरै बसेका छन् । उपेन्द्र यादव र महतोलाई, आन्दोलनको उठान र बैठानमा महन्त ठाकुर र जयप्रकाश प्रसाद गुप्ताले गिरिजाबाबुका नजिकका चेला र भूपू नै विश्वासप्राप्त सहयोगी भएका नाताले गिरिजाबाबुका कमी कमजोरी र विशेषताबाट लाभ लिन धम्क्याउन र घुक्र्याउन पनि सजिलो भो त्यतिबेला । यो सारा अभियानमा श्री हृदयस त्रिपाठीको व्यक्तित्व जतिमाथि उठनु पर्ने हो त्यति उठ्न सकेन । तथापि उनी आमनिर्वाचनमा कम्युनिष्टको ढोकामा पुग्नुभयो र चुनाव पनि जित्नुभयो, मन्त्री हुने सौभाग्य पाउनुभयो । राजनीतिमा विचार जे होस्,, अवसर खोजिने गरिन्छ, नेपालमा यो चलन चलेकै छ । उहाँलाई जसले लगिदियो, त्यो पनि भारत नै होला शायद । राजनैतिक अनुभव र कुटनीति, अभिव्यक्तिको माधुर्य, भाषण शैली र गुण र रुप दवैमा उनी महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो भन्दा माथिका नै हुन् । अझ हृदयस त्रिपाठी मधेसी र पहाडी दुवै संस्कृतिलाई धेरै नजिकबाट आत्मसात गरेका राजनैतिक व्यक्तित्व पनि हुन । तर के यो कसो भयो, थाहा हुन सकेन । पछि पछि खुलासा होला नै ।
उपेन्द्र यादवले अहिलेलाई आफ्नो इज्जत बचाए । डा.बाबुरामलाई ल्याए पनि यादवको मधेसमा विरोध छ । तर उनलाई यति छोटो समयमा आफ्नो समूहलाई एक गरेर राख्न नसक्नु र त्यो उछिट्टिएको समूह खुलेर बिरोधमा उत्रिनु त्यो उनका लागि राजनैतिक प्रत्युत्पादक नै हुने छ । त्यसै पनि माओवादीका उदण्ड नेता मातृका यादव सार्वजनिक रुपमै उनको उछित्तो काढ्न पछि हट्तैनन् । प्रथम मधेसी आन्दोलनले उनलाई झण्डै झण्डै मधेसको एकछत्र नेता बनाएको थियो । अब त्यो उचाई रहेन । वैशाखीका सहारामा उभिनु प¥यो । यो अभियानमा रामचन्द्र पौडेलको ढुलमूल र टालटूल रणनीतिको पनि पर्दाफास भयो । उनको यो कमजोरीबाट कृष्ण सिटौलाले भरपुर फायदा उठाए । सिटौलालाई केन्द्रीय राजनीतिबाट धम्क्याउन सुजाताले नाइटादेखिको बल नलगाएको पनि होइन । उनी बिना बिभागीय मन्त्रीको बूजो लगएपछि चूप लागेकी छिन् । शेखर कोइराला पनि लागिपरेका थिए । यो अभियानमा आमोदबाबु र महेश आचार्य भने खुलेर देखा परेनन् । किन हो ? जेहोस्, कांग्रेसको अधिवेशन आउँदैछ, यसमा देउवाले के गर्लान्, नगर्लान्, सशांकको हुती देखिएला । तर खेल्ने भारतले नै हो र भारतको चाहनामा अधिवेशनको नतिजा प्रकाशन हुने न हो ?
त्यतिबेला मधेस आन्दोलनले नेपालका चतुर र धूर्त मानिने स्व.सूर्यबहादुर थापाको पनि धोती र लगौंटी दुवै खोलिएको थियो । संविधानसभाको निर्वाच्न बहिस्कारको घोषणा गरेर उनले मधेस समस्याको बहानामा आफ्ना प्रभूहरू रिझाउने ठूलै कसरत गरे । बिचरा स्व.सूबथा पोखरा राप्रपाको महाधिबेशनदेखि काठमाडौं अधिबेशनसम्म आइपुग्दा राप्रपा आफू सहित तीत टुक्रा भएको टुलुटुलु हेर्न बाध्य थिए । आफू स्वयं पनि नअटाएर अर्कै धूनी ताप्न बाध्य भए । शुक्लाजस्ता विश्वासपात्रले सम्म छाडे । नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक मूल्य मान्यतालाई धेरै हदसम्म सूर्यबहादुर थापाले बिगारेरै गए । यहीकारण उनका सुपुत्र आज कांग्रेसको ढोका ढुक्न पुगेका छन् । हुनतः आफ्नो राजनीति थापाले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसबाटै प्रारम्भ गरेका हुन ् पछि त्यही कांग्रेसलाई उनले उछित्तो काढ्न बाँकी राखेनन् । हुँदा हुँदा २०३३ सालमा विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहलाई फाँसी दिनुपर्छ भनेर आफ्नै उपस्थितिमा धनकुटा जिल्ला पञ्चायतबाट प्रस्तावसम्म पनि पारित गराएर दरवारलाई खुशी पार्ने काम गरेकै हुन् । सुनिल थापाले के गर्लान् ?
नेपाली कांग्रेसका पुराना कांग्रेसीहरू राजा महेन्द्र र वीपी कोइरालालाई मिल्न नदिने र दुवैमा दूरी बढाउने काम पनि दिल्ली दरवारको साउथ ब्लक र काठमाडौं दरवारको इसारामा सूबथाले नैगरेका हुन भन्छन् । पछि २०३६ को जनमत संग्रहपछि कांग्रेसले चुनावमा भाग लिने मनस्थिति बनाए पछि थापाजीले वातावरण बन्न दिएनन् । मधेस काँटलाई उपयोग गरेर काठमाडौंको घाँटी निमोठ्ने रणनीति पनि पटक पटक भारतको फेल खायो । जब मधेस नेताहरूले पनि नेपाली राष्ट्रवादको पावर देखे अनि उनीहरू पनि हच्किए । आखिर यो अन्तरिम काललाई पार नगरी समाधान गरिने समस्या भनेको स्थायी प्रवृत्तिका हुँदैनन् भन्ने उनीहरूले नबुझेका अवस्य थिएनन् होला । भारतले यसपटक एउटा निकै लाकप्रिय बजेट ल्याएको छ । धेरै वर्षदेखि सरकारी ऋणबाट पिडित किसानले बारम्बार आमहत्या गरिरहेका थिए । यसपालाको बजेटले ती किसानको ऋण माफी गर्ने भनिएको छ । भारतको लालफिताशाहीले यो कार्यक्रम कति तदारुकता साथ गर्छ त्यो भने हेर्न बाँकी छ । दूई प्रतिशत गरिबी हटाउने लक्ष्य चैं हास्यास्पद नै छ । झण्डै एक अरव र दश करोड आवादी पुग्न लागेको भारतको जनसंख्याको दुई प्रतिशत संख्या चानचूने होइन । त्यस देशको आर्थिक ढाँचा उच्च बर्ग र उच्च मध्य बर्गलाई लाभ हुनेगरी बनाइएको छ । निम्न बर्गसम्म त्यो पुग्न निकै गारो छ । 
वर्तमान भारतीय नीति नै पटेलप्लानमा आधारित देखिन्छ । तर स्पष्ट कुरो के हो भने वर्तमान नेपाल कमजोर छैन, वर्तमान विश्व अन्धो छैन । सबैले चीलका आँखाले हेरेका छन् । त्यसमाथि नेपाल त रणनैतिक भूमि पनि हो । यो भूमिको कुनै भाग खानु भनेको घाँटीमा अड्किनु पनि हो । एउटा निकै अप्रिय सत्य यही हो कि नेपालमा रगत बग्यो भने बगेर जाने पानीमा रगत साथसाथै जान्छ र गंगा पनि रगताम्मे हुन्छ । त्यसैले भारत महोदय हिमनदी फुट्यो भने के हुन्छ, त्यसतिर पनि विचार गरौं है भारत महोदय ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper