banner
banner

जनता खोई, यी त कार्यकर्ता हुन्

शाश्वत शर्मा--
मुलुकको आवश्यकता के हो ? विद्युत प्राधिकरणमा कूलमान घिसिङको बहाली ? डा.गोविन्द केसीको माँगको संवोधन ? वामदेव गौतमलाई रक्षामन्त्री ? नारायणकाजीलाई परराष्ट्र मन्त्री ? के हो राष्ट्रिय मुद्दाहरु ?
देशका वास्तविक मुद्दाहरुमा जनताको ध्यान नै छैन । कतै मूल मुद्दाहरुबाट जनताको ध्यान अन्तै लैजाने षडयन्त्त राष्ट्रिय अन्तर्राष्ट्रिय केन्द्रहरुबाट भइरहेको त छैन ? पानीमा रुझेर, यो कोरोनाको कहरमा, गोविन्द केसीको माँग संवोधन गर मभन्ने प्लेकार्ड बोकेर के गर्ने ? दक्षिणतिरबाट मात्र होइन, उत्तरतिरबाट समेत मुलुक खुस्किदै गएका विषय उठेका छन् । बरु यसबारेमा, मुलुकका जल्दाबल्दा समस्याका बारेमा, भोक–रोग–शोकका बारेमा किन कोही प्लेकार्ड बोक्दैनन् ? किन युवाहरु यी विषयमा सडक तताउँदैनन् ? महगी, भ्रष्टाचार, अनाचार, दुराचार, पदको दुरुपयोग, कूशासन अनेक मुद्दाहरु छन् । स्वतन्त्र भनिएका युवा यी कुनै विषय उठाउँदैनन् । स्रोत नखुलेको १० लाखमा डामिएर पूर्वमन्त्री जेपी गुप्ता केही वर्ष जेल परे, उनले वर्तमान प्रधानमन्त्री केपी ओली, झलनाथ खनालदेखि शेरबहादुर देउवा, रामचन्द्र पौडेलसमेतको छानबिन गरियोस् भनेर चुनौती दिएका छन् ।
अर्थात जुन जुन तरिकाले गुप्ता भ्रष्टाचारी ठहर गरिए, त्यही तरिका अपनायर वर्तमान महासामन्त महाभ्रष्टाचारी नेताहरुको सम्पत्ति छानबिन गरियोस् भन्ने उनको जिकिर छ । हुन पनि, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीमात्रै स्रोत नखुलेको सम्पत्ति थुपारेर बसेका छैनन् । नेताहरुमात्रै किन सरकारी कर्मचारीहरु पनि कम छैनन् । केही वर्षअघिसम्म डेरामा बस्ने कर्मचारी आज महलको मालिक बनेको छ । कही कतै गोरु बेचेको साइनो नभएका व्यापारी, तस्कर, कालोबजारियाहरु माथि भ्रष्टाचारबाट आर्जित रहम यी सरकारी कर्मचारीले मात्रै होइन बहालवाला भूपू न्यायाधीश, सुरक्षासेवामा रहेकाले समेत हजम गरेको समाचार बेलाबखत पढ्न पाइएकै छ । राष्ट्रदोहन बढेर गएको छ, यी मुद्दामा सडकमा प्रदर्शन नै हुँदैन ।
वामदेव गौतममाथि षडयन्त्र भयो रे ? जनताले चुनाव हराएकालाई मन्त्ती बन्न नदिएर षडयन्त्र भयो ? अचम्म छ । यसरी आवाज उठाउने जनता होइनन्, पार्टीका कार्यकर्ताहरु हुन् । आज राति नेपाली भएर सुतेको मान्छे भोलिपल्ट भारतीय भइसक्छन्, यता चिन्ता र चासो छैन । सरकार ढाकछोप गर्छ, जनता बोल्दैनन्, कार्यकर्ता नेताको वकालत गर्छन् ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी नक्सामा आयो, नेपालको भोगचलनमा आउनु प¥यो भनेर प्रदर्शन हुँदैन । हुम्लामा चीनले सीमा मिचेको विषयमा सडकमा नारा लाग्यो, प्रदर्शनी भयो । चीनले भन्यो– वार्ता गरौं, स्पष्ट हौं । परराष्ट्रले भन्यो, चीनले मिचेको छैन । तर सडकमा प्रदर्शन जारी छ । भारत सीमा मिचेकोको कुरै गर्र्दैन, चीन मिचेको भए प्रमाणका आधारमा कुरा गर्न तैयार छ तर बिस्तारवादी चीन मूर्दावादको नारा लाग्छ । प्रमाण लिएर वार्ता गर, समस्या समाधान गरौं भनेर सरकारलाई जगाउने काम कोही पनि गर्दैनन्, लाग्छ प्रायोजित खेल धेरै भइरहेको छ ।
खास राष्ट्रिय समस्याको उठान र बैठानमा कोही पनि गम्भीर छैनन् । राष्ट्रको होइन, वामदेवको चिन्ता सडकभरि देखिन्छ । प्रष्ट छ, नेपाली जनता जनता रहेनन् । नेताका गुलाम भइसके । भ्रष्ट र राष्ट्रघाती नेता अनि लाचार जनता । आजको नेपालको वास्तविकता यही हो । नेताहरुमा राष्ट्रप्रति मायाँ हुँदो हो त हरेक पार्टीले कार्यकर्ताहरुलाई सीमाका विषयमा सडकमा उतार्थे । कुनै पार्टीले यसो गरेनन् । किनभने यिनलाई कालापानीको कागजमात्र फिर्ता ल्याउनु थियो । अव पाठ्यपुस्तकमा समेत नक्साबारे केही नबोल्नु भन्ने उर्दी आइसक्यो । ओलीको यो आचरण देखेर पनि बुझ्नुपर्ने हो– नेकपा के हो भनेर । यस्तो देश समृद्ध बनोस् कसरी ? जनतालाई सबै थाहा छ तर यस्तै नेता र यस्तै पार्टीका पछि लागिरहेका छन् । देश बन्नका लागि नेतालाई पनि सही मार्गमा ल्याउन सक्ने जागरुक जनता चाहिन्छ । जब गलत नेताका पछाडि जनता लाग्छन्, तव नेताहरु गल्तीमाथि गल्ती गर्दै जनतालाई यसैगरी कार्यकर्ता बनाउने गर्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper