banner
banner

जनतामा नै कमजोरी छ

शाश्वत शर्मा – 
करीव ३ सय कैदीबन्दीलाई आममाफी र ५ सय जनालाई १० करोडको तक्मा, पदक, अलंकार दिँदै अनि काठमाडौंको सैनिक मञ्चमा भाषण ठोकेर र साँझ भत्तेर खाएर यसवर्षको कथित संविधान दिवस गत शनिवार सम्पन्न गरिएको छ । त्यसो त तीनदिन संविधान दिवस मनाउनु, घरघरमा झण्डा फहराउनु, दीपावली गर्नु आदि फर्मान जारी गरे पनि सरकारी कार्यालयमा सरकारी बजेट खर्चेर बाहेक आमनागरिकले खुशी मनाएनन् ।
२०७२ साल असोज ३ गतेदेखि जारी भएसँगै यो गणतान्त्तिक संविधान नेपाल र नेपालीहरुको हुनसकेन । हो, केही हजार नेपालीहरु, जो सत्ता र प्रमुख विपक्षीको वरिपरि छन्, तिनलाई यो दिवस फलिफाप भएको छ । बाँकी आम नेपाली कागलाई बेल पाक्यो हर्ष न बिस्मातको अवस्थामा छन् ।
के दियो त संविधानले ? राष्ट्रघात, भ्रष्टाचार, नातावाद, कृपावाद, सर्वत्र व्यभिचार । यो बाहेक जनतलो केही पाएनन् । सैनिक मञ्चमा राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्री ओलीले ठोके– भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन । ...कोरोनाका कारणले गर्दा वाचा गरेका केही कामहरुमात्र पूरा भएका छैनन्, अरु राष्ट्रिय गौरवका आयोजनाहरु पूरा भइसके । भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न गाह्रो छ, तर सरकार नियन्त्रणमा लागिपरेको छ । यी र यस्तै हावादारी गफ हाँके प्रधानमन्त्रीले ।
त्यसो त यो सरकारले ३३ महिना शासन गरिसक्यो । तर यो सरकारको जन्मै भ्रष्टाचारको गर्भबाट भएकोले भ्रष्टाचार ४५ अर्व नाघेको बताउँछन् जानकारहरु । अझ यसम बालुवाटारको ललिता निवासको घोटाला जोडिएको छैन । एनसेल प्रकरणलाई पनि बाहेक गरिएको छ । सामान खरिद देखि लिएर ठेक्कामा कमिशन खाएको मात्र ४५ अर्व हो । अव जनकपुरमा भर्खर आएको दुई सेट रेल ८४ करोड परेको छ भनेर बताइदै छ । त्यसको कुरा यहाँ गरिउको छैन । भारतका रेलमन्त्री पियुस गोयलका अनुसार भारतले नेपाललाई उपहार दिएको हो । यता किनेको बताइदैछ । को बोल्ने ?
जनतालाई सरकारले जेसुकै गरोस् मतलवै छैन । बरु आत्महत्या गर्छन् बोल्दैनन् । कूलमानका लागि नारा जुलुस गर्ने, टाउको फुटाउने युवाहरु भ्रष्ट शासन फाल्न पटक्कै बोल्दैनन् । कता गयो गयो– कोरोना महामारीमा भ्रष्टाचार भयो भन्ने इनफ इज इनफ भन्ने आन्दोलन । नागरिक समाज, बुद्धिजीवी समूह, युवा विद्यार्थी समूह, कोही पनि कतै देखिदैनन् । हुनसक्छ, यी सबै कुनै न कुनै दलसँग आवद्ध छन् र बोल्दैनन् । दलपतिहरु सर्पको खुट्टा सर्पले देख्छ भनेझैं भ्रष्टाचारका एकदोस्राका फाइल नखुलोस् भनेर तैँ चूप मै चूप छन् । शुभलाभको प्रतिक्षामा रहेका स्वनामधन्यहरु पनि बोल्दैनन् । डर त शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्डदेखि कनकमणिसम्मलाई देखियो । यहाँ त्रास नभएका सिर्फ आमनागरिक हुन् । जो भोकभोकै छन् । तिनलाई तताउने, नेतृत्व दिने कोही छैनन् । आमनागरिक बढ्दो महँगीमा अड्किएका छन् । विहान बेलुकाको छाक टार्ने समस्यामा अल्झिएका छन् । यसै भएर सत्तासीनहरु भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहेका छन् । एउटा न एउटा मुद्दामा केही सचेतलाई भुलाएर सरकार सोझा जनतामाथि निरंकूताको मात्रा बढाउँदै गएको छ ।
भन्नुपर्दा यो संविधान र संविधान अन्तर्गत शासन गर्नेहरु कुनै पनि कोणबाट नेपालका लागिव उपयुक्त छैनन् । विदेशीले भ्रष्ट बनाउँदै लगेको र महँगो शासन प्रणाली कहिलेसम्म लादिरहने हो ? कागजी राष्ट्रवादको कुरा गरेर व्यवहारमा राष्ट्रघात भइरहेको छ । अधिकांश जनताले यो चालबाजी बुझेकै छैनन्, बुझ्नेहरु चुपचाप छन् । प्रष्ट कुरो के हो भने देश अभिभावकविहीन बनेको छ । केही नेताहरुले १२ बुँदे दिल्ली सम्झौता गलत रहेछ भनेर घैंटोमा घाम लागेजस्तै उपल्लो तहका नेताहरुले पनि बिना हिचकिचाहट आफ्ना गल्ती स्वीकारेर त्यो कमजोरी सच्याउनु श्रेयस्कर हुनेछ । किनभने यो पद्धति देशले धान्न सक्दैन । भोका जनताको जिम्मेवारी नलिने सरकार र पद्धति खारेजभागी छ । यसका लागि जनताले सहने होइन, तातेर आन्दोलन गर्नुप¥यो । ससाना कुरामा होइन, मुलुकतिर हेर्नुप¥यो । स्वाभिमान भएर बाँच्न आन्दोलनको विकल्प छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper