banner
banner

आमा मलाई दुख्यो

विमला पोखरेल, छन्दः शार्दूलविक्रीडित

कोस्ले बुझ्छ र राष्ट्रघात जनता रोए कराए भनी
पोल्ने भो जनतन्त्र लोक अथवा जेतन्त्र आए पनि 
ब्वाँसा शासक को रिमोट जनता लत्री नुहेरै झुक्यो
मेरो देश बचाउँ हाय कसरिरु आमा मलाई दुख्यो । १ ।

नेपाली जनता सुतेर रहने योगी सधैँ फेरिने
वौलाए जनता दुखेर मनमा जालो बनी घेरिने 
ढाक्रे राष्ट्रियता भयो धनुष झैँ लत्रेर दिल्ली पस्यो 
दोर्जे लेन्डुप नै बने सबजना आमा मलाई दुख्यो  । २ ।

नेपाली जनता निरास मनका धेरै विपत्ती हुँदा
आँखा टिल्पिल भै भरेर गहमा पानी बगाई रूँदा
भेरीमा जलको प्रवाह बहँदा काली झनै छल्कियो
हाम्रो राष्ट्र यहाँ बचाउँ कसरी आमा मलाई दुख्यो  । ३ ।

हाम्रो जन्मधरा छ कष्ट गहिरो जाऊँ कहाँ तर्किई ?
भोको पेट मिचेर धेर जनता स्वाधीनता पर्खिई 
खाँदा शासकले लुटेर अहिले भूखण्ड जो सुम्पियो
रोयो राष्ट्र हरे१ बनेर टुकुरा आमा मलाई दुख्यो  । ४ ।

नेपाली जनले बुझेर अवता भू–भाग रक्षा गरौँ
लुट्दै देश डुवाउने जनहरू तिन्को त हुर्मत् हरौँ
आफ्नो देश बचाउने अव यहाँ पालो सबैको भयो
खायो दुस्ट छिमेकले दिनदिनै आमा मलाई दुख्यो । ५ ।
सुनसरी ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper