banner
banner

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनुरोध

राजन कार्की--
विभेद र निषेध धेरै भयो । कोरोना महामारीबाट सबैले सिक्नुपर्छ, मानवीयता भन्दा ठूलो केही होइन । महाबिपतबाट बिभेद र निषेध नगरौं भन्ने पाठ सिक्नसके भावी नेपालको राजनीति, समृद्धि र शान्तिका लागि एउटा सुखद संयोग बन्नसक्छ । होइन, अझै अहंकारी बन्ने हो भने कोरोनाले कसलाई खान्छ, को बाँच्ला कसरी भन्न सकिन्छ र ? सामुहिक प्रयत्न, सामुहिक सोच र सामुहिक संचेतनाले मात्र कोरोनासँग लड्न सकिनेछ, पार पाइने छ । सामुहिकताको यो सन्देश हामीले अझै नबुझ्ने ?
यतिबेला पैसाको काम छैन । सत्ता र शक्तिले पनि कोरोनाको आँधी रोक्न सक्दैन । यो समय भनेको सावानी र मानवीयता देखाउने बेला हो । कसैले आफूलाई ठूलो ठान्छ भने उसले ठूलो बन्नका लागि मान्छेको सम्मान आर्जन गर्नुपर्छ । मान्छेहरु धमाधम मरिरहेका छन् । डाक्टरसमेत मान्छे मरेको टुलुटुलु हेर्न बाध्य छन् । गरुन् त के गरुन् ? कोरोनाको कुनै औषधि निस्केको छैन । कोरोनाको मान्छे मार्ने तीब्र धारलाई कुनै औषधि, अक्शिजनले कम गर्न सकिन्छ कि भनेर प्रयास गर्ने हो, स्वास्थ्यकर्मीहरुले कर्म गरिरहेका छन् । दिने हिम्मत हो, दिइरहेका छन् । भन्ने संचेतना हो, देखाइरहेका छन् । तथापि कोरोना साउने भेल बनेर मान्छेलाई लतारिरहेका छ । पछारिरहेका छ । आगो र कोरोना उस्तै स्वरुपमा छन् । यिनका कोही आफन्त र कोही पराइ छैनन् । सल्किन पायो कि खरानी बनायो ।
सीमावर्ती क्षेत्रमा मात्र थियो, अव त यो अधिकांश जिल्ला, सर्वसुलभ भनिने राजधानीमा समेत समुदायमै फैलिसकेको छ । प्रधानसेनापति, गृहमन्त्री, रक्षामन्त्रीहरु आइसोलेसनमा पुगेका छन् । देश नै बिरामी बनेको छ, क्वारेन्टाइन, आइसोलेसन र अस्पतालको अभाव व्यापक छ । नागरिकहरु आत्तिन थालिसके ।
हुन त यो विश्वमहामारी हो । महामारीबाट पार पाउने कसरी ? वैज्ञानिकहरु लागिरहेका छन्, अनुसनधान र परीक्षण भइरहेका छन् । चीन, बेलायत र रुसले समेत अन्तिम चरणका परीक्षण गरिरहेका छन् । परीक्षणमा भारत पनि अग्रपंक्तिमै छ । ओखती निकाल्ने हाम्रो बुताको कुरा होइन । हामी कहिले खोप निूस्केला र उपचारमा अग्रसर हुनसकिएला भनेर प्रतिक्षा गरिरहेका छौं । अर्थात हामी जीवन र मृत्यको वीचमा जीवन खोजिरहेका छौं ।
अतास स्वास्थ्यकर्मीमा पनि छ, अस्पतालहरुमा पनि छ । जनजीवन त अस्तव्यस्त हुनथालिसकेको छ । अर्थतन्त्र कोमामा पूग्ने हालतमा छ । जुन रेमिटेन्सबाट नेपाल चलेको थियो, रेमिटेन्स पठाउने वैदेशिक रोजगारीमा गएकाहरु ८० प्रतिशत नेपाल फर्कन खोजिरहेका छन् । हामी रोग, भोक, शोक सबैतिरबाट पिल्सिन थालेका छौं । यस्तो बिपतको बेलामा पनि सरकारले बिज्ञ, विशेषज्ञ, समाजशास्त्रीहरुसँग छलफल गरेर अव के गर्ने, कसरी बच्ने र बचाउने भन्ने सम्बन्धमा छलफल गरेकै छैनन् । सत्ताधारी र प्रभावशालीहरु यस्तो आपतकालमा पनि कतैबाट कमिशन आउँछ कि, आफ्ना मान्छेलाई भर्ती गर्न सकिन्छ कि भनेर ¥याल काढिरहेका छन्, नकाम गरिरहेका छन् । यो भनेको राजनीति संवेदनहीन भइसक्यो भन्ने हो । 
यतिबेला नेपाल हुटहुटीमा छ । जता हेर चित्कारमात्र सुनिन्छ । नेपालीको चित्कार सुन्नुपर्ने जिम्मेवारी लिनेले हो, जवाफदेहीता उनीहरुकै हो । तर जसले शासन व्यवस्था हातमा लिएका छन्, लोकतन्त्र लोकतन्त्र भनेर हल्ला गरिरहेका छन्, उनीहरु नैतिकहीन बनिरहेका छन् । नमरी संसार देखिन्न भन्ने उक्ति छ, शायद उनीहरु संसार हेर्ने दौडको प्रतिस्पर्धामा छन् ।
आमनागरिकको चित्कार सुन्ने कसले ? अस्तव्यस्त मुलुक व्यवस्थित गर्ने र स्वास्थ्योपचार, रोजीरोटीको बारेमा चिन्ता गर्ने को ?
कसैलाई बाढी पहिरोले किचेको छ, कसैलाई दाल भात डुकुको समस्याले थिचेको छ । सबैलाई कोरोनाको त्रासदीको सकस छ । जो सम्पन्न छन्, जो प्रभावशाली छन्, जो सत्ताधारी छन्, जो सत्ताको करिडरमा छन्, तिनीहरुलाई हिजो सुखै थियो, आज सुखै छ । उनीहरुलाई बचाउन राज्यसंयन्त्र, राज्यशक्ति लागेकै छ । अभरमा छन् त आमनागरिक, जसले उपचारसमेत पाएका छैनन् । खाने गाँस, बस्ने बास र लाउने कपास छैन, ती अभरमा परेका आमनागरिक कोरोना र भोकमरीबाटै मर्ने त ? यो वर्तमान कालखण्डको यक्ष प्रश्न हो ।
देश भनेको जनता हुन् । जनताबिनाको देश हुन्न । आज जनता आँसुको धारा बगाइरहेका छन् भने बुझ्नुपर्छ, देश रोइरहेको छ । आज जनता मरिरहेका छन् भने सत्य हो देश मरिरहेको छ । देश गैरजिम्मेवारहरुको हातमा छाड्न सकिन्न । पुर्षाको नासो, पुर्षाको गौरवलाई बचाउने बेला यही हो । महाराज राजनीति गर्नुपर्दैन । समाजसेवा गरौं, मानवीयता देखाउने र महान बन्ने अवसर पनि हो यो विपत्ति ।
महाराज स्वर्ग छ भने कर्ममा छ । स्वर्ग छ भने देशबासीको आँसुले भिजेको मुहारमा खुशी दिनसक्नुमा छ । महाराज, यो मौकामा हीरा किन नफोर्न ?
त्यसैले महाराज, हिमानी ट्रष्टलाई सक्रिय पारेर हुन्छ कि नातीराजा हृदयन्द्रको नाममा हुन्छ, कि ज्ञानेन्द्र प्रतिष्ठान बनाएर हुन्छ, एउटा निशुल्क अस्पताल बनाइदिने हो भने जनताले जयजयकार गर्नेछन् ।
जसको हातमा सत्ता छ, सरकार छ, शक्ति छ, उनीहरुलाई कमिशन खाँदैमा ठिक छ । प्रशासनलाई तिनको पछि पछि लागेर हात चाट्दैमा फुर्सद छैन । अरुले दानमा दिएका सरसामान, पैसामा समेत व्यापक भ्रष्टाचार भइरहेको छ । त्यसैले जनताको गाँस, बास, कपास र स्वास्थ्यमाथि हुनुसम्मको खेलबाड भइरहेको छ । लोकतन्त्र लोकको शिरमाथि पहाड बनेर थिचिरहेको छ ।
पार्टी समाजसेवा होइन, पसलजस्तो छ । जनतालाई ठग्ने । जनताको शोषण गर्ने । जनाधिकार लुट्ने । यस्ता पार्टीले लोकतन्त्र चलाइरहेका छैनन्, भ्रष्टाचार चम्काइरहेका छन् । यसकारण जनताको स्वास्थ्यका लागि एउटा निशुल्क अस्पताल बनाएर शाहबंशको कीर्ति राखौं । कीर्ति मर्दैन । जनता त्यत्तिसारो बैगुनी पनि छैनन्, जनताले जयजयकार गरेर राजा बोलाइरहेका छन् । जनताले खोजे भने म यहीँ छु भन्ने पूर्वराजा ज्ञानेन्द्र, जनताले यतिबेला राजा खाजेका छन् । भरोसा खोजेका छन् ।
राजतन्त्रको उपकार एउटा निशुल्क अस्पतालका रुपमा किन नदेखिने ? जनताप्रतिको कर्तव्य भनौं, देशको भार उठाएको भनौं अथवा जनतालाई उपहारका रुपमा देशैभरिका धनी गरीव, जोसुकै हुन्, निशुल्क उपचारको बन्दोबस्त किन नगर्ने ? एउटा ठूलो अस्पताल किन नखोलिदिने ?
सुन कसैले खाएन, सम्पत्ति लिएर कोही मरेन । सिकन्दर महानले डाक्टरहरुलाई धन्यवाद दिएपछि सबैले सुन्नेगरी भनेका थिए– मेरो कफिन लैजाँदा मेरा दुबै खाली हात कफिनबाट बाहिर निकालिदिनु । जति हीरामोदी, जवाहरात छन्, ती मेरो शव लाने बाटोमा ओछ्याइदिनु । यसपछि उनी मरे र दुबै खाली हात देखाएर मणिमाणिक्यमाथिबाट ४ हात जमिनमा पुरिन लगिए ।
मर्छन्, सबै मर्छन् । समय बलवान छ । कोही मरेर बाँच्छन्, आजका नेताहरु बाँचेर मरिरहेका छन् । पूर्वराजा एउटा त बाँच्ने काम गरौं । पूर्वराजाको जयजयकार गर्न पाइनेथियो ।
त्यसैले महाराज, देशभरिका नागरिकका लागि निशुल्क एउटा अस्पताल खोलिदिने हो भने ज्ञानेन्द्र शाह अमर हुनेछन् । जबसम्म नेपाल र नेपाली रहनेछन्, शाहबंश अमर हुनेछ ।
कोरोना भाइरसको महामारी बिपत जारी छ । त्यसमाथि बाढी पहिरोको बिपत्ति हरेक वर्ष थपिन्छ । औषधोपचार नपाएर मर्ने कति छन् कति ? तिनको आशीर्वाद किन नलिने ? सम्मान आर्जन गर्नुपर्छ भन्ने कविराजा जी शाह, कविता त खूब लेखियो, एउटा अस्पताल बनाइदिउँ । 
धनशक्ति, सत्ताशक्ति, बाहुबली शक्ति– कुनै पनि शक्तिको प्रभाव नचल्ने, समान व्यवहार गरिने एउटा अस्पताल खोलिदिने हो भने नेपालको ढुङ्गा माटो, हिमाल, पानी, पहरा, समथल जताततै ज्ञानेन्द्र ज्ञानेन्द्र देखिनेछ ।
ओली सरकारलाई हिमानी ट्रष्टमार्फत २ करोड चन्दा दिइयो, कता गयो चन्दा ? हिमानी ट्रष्टमार्फत आठ चरणमा सरसामान बितरण भयो, कति दुःखीले पाए, कति खान नपाएकाले गाँस पाए ? आज नेपालीलाई कम्तिमा एउटा सर्वसुलभ अस्पताल चाहिएको छ, ताकि कुनै बिपन्न युवाले अस्पतालको शुल्क तिर्न नसकेर झ्यालबाट फाल हालेर मर्न नपरोस्, कोही अस्पतालमै बन्दी बन्नु नपरोस । अस्पतालले ठग्यो, मा¥यो, लुट्यो भन्न नपरोस् ।
सरकार दलित बस्तीमा गुण्डागर्दी गराइरहेछ । चेपाङका छाप्रो जलाइरहेको छ । जे छ, मनपरीतन्त्रमात्र छ । कुनै अस्पतालमा गरीवले उपचार गराउन सक्ने अवस्था छैन । एसिड आक्रमणका पीडा पनि छन् । हरेक पीडामा मलम लगाउने एउटा ज्ञानेन्द्र अस्पताल किन नबनाउने ?
हरेक नागरिक सातमा साथ दिन तैयार छन् । पूर्वराजाको प्रताप विश्वव्यापी छ । सहयोग व्यापक रुपमा जुट्न सक्छ । एकपल्ट बोलेर त हेरौं, सरकारमाथि, पार्टीमाथिको सम्पूर्ण जनअविश्वासको भण्डा फुट्ने छ र पूर्वराजामा अपार जनविश्वासको लहर नै चल्ने छ । त्यो लहरलाई भ्रष्ट नेताहरुले थाम्न सक्ने छैनन् ।
जनताले चाहे राजतन्त्र आउला, नचाहे नआउला । राजा भएर भन्दा नागरिक भएर जनताको जयजयकार पाइन्छ भने त्यो अमूल्य हुनेछ । लोकतन्त्र चलाउनेहरुका लागि समेत पूर्वराजाको कामले सद्बुद्धि दिनसक्छ । गलत आदत त्याग्न सक्छन् ।  एकपल्ट फेरि देशमा राजतन्त्रको आवश्यकता जनताले देख्नुका धेरै कारण छन् । कम्तिमा ती कारणमा संवोधन त गरौं । घरघरमा राजतन्त्रको जयजयकार हुनेछ । देश र जनताको भार उठाउन कम्मर कसौं महाराज ।
धनभन्दा ठूलो मन हो । धनभन्दा ठूलो सामुहिकता हो । महाराज अगाडि सरौं, तमाम नेपालीले साथ दिनेछन्, एउटा पवित्र यज्ञको थालनी हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper