banner
banner

बलात्कार रोक्न समाज जाग्नुपर्छ

देवी काफ्ले --
–२०६८ चैतमा एसएलसी दिन हिँडेकी बैतडीकी पूजा बोहरा सामूहिक बलात्कारको सिकार भइन् । २ जना बलात्कारीलाई २०७६ कात्तिकमा सर्वोच्च अदालतबाट जेल सजाय भयो ।
–२०७५ साउनमा कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अभियुक्त अहिलेसम्म पत्ता लागेको छैन ।
– काभ्रेको तेमाल गाउँपालिकामा गत वर्ष असार २० गते ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भयो । काभ्रे प्रहरीले उक्त घटनामा संलग्न ३ अभियुक्तलाई कारबाही चलायो ।
– रूपन्देही कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया बालिकाको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भयो । रूपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएपछि सन्दीपकुमार धोबी कारागारमा छन् ।
– रुपन्देही मै १३ बर्षिया बालिका अंगिरा पासीको बलात्कार भयो । पिडकलाई सजाय स्वरुप पिडितासँग बिहे गराइयो फलस्वरुप बालिकालाई मृत्यु उपहार दिईयो  । अनुसन्धान जारी छ ।
– धनुषाको जनकपुरधाम कुर्थाकी नाबालिका कञ्चनकुमारी पंजियारको हालै बलात्कारपछि हत्या भयो । भारतीय नागरिक दीपु सिंह पक्राउ परेका छन् ।
बलात्कार र बलात्कारपछि हत्यासम्बन्धी जघन्य अपराधका केही दृष्टान्त हुन् यी । त्यसमा पनि बालिकामाथि हुने क्रुर हिंसा बढी देखिन्छ । प्रहरी अभिलेखअनुसार यो आर्थिक वर्षको जेठसम्म जबरजस्ती करणीका १ हजार ९ सय ४५ वटा घटना भएका छन् । जेठपछि लकडाउनको समयमा बलात्कारका घटना बढेका छन् ।
जबरजस्ती करणीका घटनालाई ६ श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार बलात्कार मात्रै, मानव बेचबिखन गरी बलात्कार, अपहरण गरी बलात्कार, बलात्कार गरी हत्या, बलात्कार गरी ज्यान मार्ने प्रयास र बालविवाह गरी बलात्कार छन् ।
अदालतमा पुगेका बलात्कार मुद्दा हेर्दा घटनामा अधिकांश चिनजान र आफन्तकै संलग्नता देखिन्छ । ५ वर्षयताका तथ्याङ्क कहालीलाग्दो छ ।
आर्थिक वर्ष २०७५–७६ मा बलात्कारका घटनाले १५ सय नाघेको देखिन्छ । २०७६–७७ को साउन, भदौ र असोजमा मात्र ५ सय ९१ बलात्कार घटना भएको प्रहरी रेकर्ड छ । जसमध्ये ३ सय ६८ बालबालिका बलात्कारको सिकार भएका छन् । काठमाडौंमा ८२ घटना भए । लकडाउन अवधिमा बलात्कारका घटना मात्रै १ सय ५५ वटा भए । सबैभन्दा बढी ३७ घटना प्रदेश ५ मा भएका छन् । प्रदेश १ मा २६, २ मा २५, वाग्मतीमा २०, कर्णालीमा १५ र सुदूरपश्चिममा १५ घटना भए । गण्डकीमा सात, काठमाडौं उपत्यकामा १० घटना भए । सबैभन्दा बढी क्वारेन्टाइनमा घटना भएको देखिन्छ ।
२०७३–७४ मा २ हजार ८ सय २१ मुद्दा हुँदा ९ सय ५२ जना अभियुक्तलाई जेल सजाय भयो । ६ सय २८ जनाले सफाइ पाए । २०७४–७५ मा आइपुग्दा अभियोगको संख्या बढेर ३ हजार ४ सय १८ पुग्यो । उक्त वर्ष १ हजार ८३ जनालाई जेल सजाय हुँदा ७ सय ८० ले सफाइ पाए । त्यसपछि २०७५–७६ मा आउँदा अभियोगको संख्या बढेर ४ हजार ६ सय १९ पुग्यो । १ हजार ३ सय ४८ जना कसुरदार ठहर भए । १ हजार १ सय २९ लाई सफाइ दिइयो ।
 लकडाउनमा झन् विकराल अवस्था छ । यसले शान्ति–सुरक्षामा चिन्ता बढाएको छ । बलात्कारको अपराध व्यक्तिको मनसाय र प्रवृत्तिसँग जोडिएको हुन्छ । जानेर बुझेर अपराध हुन्छ । ‘घटनाको वैज्ञानिक अनुसन्धान, पीडितको शारीरिक जाँच, दरिलो प्रमाण नहुनु, अदालतमा आएर साक्षीको होस्टाइल हुने प्रवृत्ति, कतिपय झुटा उजुरी पर्नु, सहमतिमा भए पनि पछि बलात्कारमा जाहेरी पर्नुजस्ता कारणले पनि मुद्दाको सफलता असफलतामा प्रभाव पार्दछ । उजुर गर्ने चेतनास्तर बढेका कारण पनि मुद्दाको संख्या बढेको हुनसक्छ । जे भए पनि बलात्कारका अपराध बढ्ने कुराले सामाजिक सुरक्षाको चिन्ता बढाएको छ । सामाजिक सञ्जाल, युट्युब, अश्लील भिडियो, पश्चिमा संस्कृतिको प्रभावले पनि यस्ता घटना बढेको हुनसक्छ । बलात्कारका घटना विगतमा पनि हुने गरेको तर सूचना, चेतना र सञ्चारका कारण बाहिर नआएको बताइन्छ । ‘अध्ययन नभएका कारण अहिले बढेजस्तो देखिए पनि विगतमा पनि कमी थिएन । धनीमानी, ठूलाठालु जमिनदारबाट पनि हुने गथ्र्यो’, प्रहरी स्रोत भन्छ । बलात्कार बढ्नु–घट्नुमा नैतिक शिक्षा, संस्कार र चेतनाको स्तरमा भर  पर्दछ ।
बलात्कारका घटनाबाट जोगिन आफैं सचेत हुनुपर्ने देखिन्छ । परिवारका सदस्य चनाखो हुनु जरुरी छ । कसैसँग व्यवहार गर्दा, एकान्त स्थानमा हिँड्दा होस् वा आफू नजिकका व्यक्तिले गर्ने व्यवहारको मूल्यांकन गर्नु जरुरी हुन्छ । पहिला आफू सुरक्षित हुनुपर्छ । परिवारकै सदस्यबाट यौन दुव्र्यवहारका घटना भएको अवस्थामा पीडितले परिवारका सदस्य वा नजिकको प्रहरीमा भन्ने हिम्मत राख्नुपर्छ । यौन हिंसा जति लुकायो त्यतिनै डरलाग्दो रूप लिन्छ । यौन शिक्षाको पनि जरुरी छ । यससँगै विद्यालयमा पनि यौन हिंसाबाट जोगिने उपायका बारेमा शिक्षा दिनु जरुरी छ ।
बलात्कारका घटना कुनै योजनाबद्ध हुन्छन्, कुनै अचानक । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको यो एउटा जघन्य अपराधको स्वरूप हो ।
पहिला त समाज चेतनशील हुनुप¥यो । व्यक्तिको मनोवृत्तिमै परिवर्तन हुनु जरुरी छ । बलात्कारका केही घटना आफन्तबाटै भएको देखिन्छ । कतिपय भने अचानक भएको देखिन्छ । शिक्षित वर्ग यस्ता घटनाबाट टाढै छन् । अधिकांश घटनामा अशिक्षित, निम्न आयआर्जन भएका, नशा सेवागर्ने बर्ग र आपराधिक मनोवृत्ति भएका व्यक्ति पीडक देखिन्छन् ।
पछिल्ला दुई आर्थिक वर्षको तुलना गर्दा पनि बालिका बलात्कारपछि हत्या भएका घटनाले पनि त्यही देखाउँछ । बल प्रयोग गर्दा बालिकालाई सजिलै नियन्त्रणमा लिन सकिने भएकाले पीडकले बालिकालाई नै बढी सिकार बनाउने गरेको पाइएको छ । अभाव र ससाना कुराले प्रभाव पारेर बलात्कार गर्न सहज हुने भएकाले पनि पीडकको यौनअतृप्त भावना बालिका बलात्कारतिर लागेको हुनसक्छ भन्ने धेरै छन् । पीडकले घरका कोही नभएको अवस्थामा वा एकान्त स्थानलाई घटनास्थल रोज्दै आएको देखिन्छ । र, यसमा बालिकाहरु नै बढी सिकार हुनेगरेका छन् ।
यथार्थ कुरो के हो भने बलात्कारका घटना रोक्न प्रहरी एक्लैको प्रयासले सम्भव छैन । समाजका हरेक वर्ग र बुद्धिजीवीको प्रयासले पनि केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । नैतिक शिक्षामा ह्रास पनि मुख्य कारण हो ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper