banner
banner

रजस्वला पाप नठानिदिनुस्

देवी काफ्ले-----
ऋषिपन्चमी ब्रतकथामा उल्लेखित विभिन्न कथाले यो व्रत किन गरिन्छ भनेर प्रष्ट्याएका छन् ।
कथाअनुसार स्त्री जब रजस्वला हुन्छे उसले धेरै नियम पालना गर्नु पर्दछ । हाम्रो धर्म अनुसार त्यो पाप बगेको बेला हो, त्यसैले धेरै कुराहरु बार्नुपर्छ भन्ने छ । पौराणिक कथाअनुसार स्वर्गका राजा ईन्द्रले बिश्वरुपको शिर तिनटुक्रा बनाईदिए ।बिश्वरुप ब्रह्माण थिए । अब ब्रह्महत्याको पापलाग्ने भयो भन्ने डरले उनी ब्रह्माजी कहाँ स्तुति गर्न पुगे ।ब्रह्माजीले उनलाई सजायस्वरुप एकबर्ष त्यो पाप आफै भोग भने र अरु सजायं वृक्ष, पृथ्वी, जल र स्त्रीमा भागवण्डा लगाए । जसमा बृक्षको चोपको रुपमा पाप, पृथ्वीमा सुक्खा, मरुभुमि अर्थात उब्जाउ नहुने बांझोपनमा पाप, जलमा निस्कने फिंजमा पाप र स्त्रीको रजमा पाप बितरण गरे । सोही अनुरुप रजस्वला भएकी स्त्री पहिलो दिन चाण्डाल्नी ।
दोस्रोदिन ब्रह्मघातिनी र तेस्रो धोबिनी सरह हुन्छे  । चौथो दिन स्नान पछि चोखिन्छे ।
अब अर्को पनि कथा सुनौं ।
सत्ययुगमा विदर्भ नगरमा सेनजित नामक राजा  थिए । उनी ऋषि समान थिए । उनको राज्यमा एक कृषक सुमित्र थिए । उसकी पत्नी जयश्री अत्यंत  पतिव्रता थिईन् । 
एक समय वर्षा ऋतुमा जब उनकी पत्नी खेतीको  काममा लागेकी थिईन् उनी रजस्वला भईन् । उनी रजस्वला भएको थाहा भयर पनि घरको काम गरिरहिन् । उनले केही बारिनन् । रजस्वला भएको भए पनि उनीहरु शारिरीक सम्पर्क गरे ।केहि समय पछि वह दुवै स्त्री–पुरुष (आ–आफ्नो आयु सकेर परलोक भए । जयश्री कुकूर्नी बननिन्  अनि सुमित्रलाई रजस्वला स्त्रीको सम्पर्कमा आएको कारण गोरुको योनी मिल्यो । तर ऋतु दोषको अतिरिक्त यी दुवैको कुनै अपराध थिएन ।
यसकारण उनीहरु दुवैलाई पूर्वजन्मको सबैकुरा याद आयो । उनीहरु दुुवैजना कुकूर्नी र गोरुको रुपमा सोही शहरमा  सुचित्रको घरमा बस्न थाले ।   धर्मात्मा सुचित्र आफ्ना अतिथिको पूर्ण सत्कार गर्दथे  । आफ्ना पिताको श्राद्धको  दिन उनले आफ्नो घर ब्राह्मणहरुलाई भोजनका निम्ति नाना प्रकार  वकवान तयार गराए । उनी यता श्राद्ध गराउदै थिए सुचित्रकी पत्नीको आँखा छलेर एउटा बिषालु सर्पले त्यो खानामा विष ओकलिदियो ।यो कुरा बाहिर बसेकी कुकुर्नीले देखेकी थिई । अनि तत्कालै उ गएर खाना जति जुठो पारिदिई । यदि उसले जुठो पारेको नदेखेको भए बिषादी खानापछि ब्राह्मणहरु मर्दथे र सुचित्रलाई ब्रह्महत्याको दोष लाग्ने थियो । सुचित्रकी पत्नीले देखेपछि कुकुर्नीलाई कुटिन अनि दिन खान पनि दिईनन् । बेलुका गोठमा गोरु र कुकुर्नीको कुरा हुदैथियो ।कुकुर्नीले दिनभरीको कुरा गोरुलाई सुनाईन् र गोरुले पनि आफुलाई दिनभरी जोताएको, खान नदिएको कुरा गर्दै दुवैजना रोईरहेका थिए, यो सबैकुरा सुचित्रले सुनेका थिए । अनि उनले गोरु र कुकुर्नीलाई खान दिएर राखे । ऋषिपन्चमीको कथामा यो कथा पनि उल्लेख छ ।
माथिल्लो कथा अनुसार ब्रह्माजीले बोकाएको पापको भारी सुचित्रका बाउआमाले जसरी भोगे, यो सही हो ?
आखिर महिलालाई कुन अपराधको लागि यति धेरै सजाय ?
शास्त्रमा लेखिएका कतिपय कुराहरु महिलालाई अति नै दवावमूलक छन् । हाम्रा पुरखौली आमाहरुले जे जस्तो शास्त्रमा उल्लेख , त्यस्तै भोगे ।किनकी उनीहरुले त्यहा उल्लेखित कुराहरुलाई सुधार्न सक्दैनथे । सुधार्नका लागि एक त चेतना थिएन अर्को उनीहरुलाई पाप नामको वस्तुले कचक्कै थिचेको थियो र पुरुषको बिरुद्ध गरेको बिद्रोह हुन्थ्यो ।
जस्तो किसिमको पापको भय देखाएर उनीहरुलाई अति नै तिचेर राखियो त्यसरी नै संस्कार बनेर नया पुस्तामा हस्तान्तरण हुँदै आयो ।
आजको शताब्दी महिलाहरुले धेरै अधिकार पाएको शताब्दी हो र महिलाहरु पुरुष सरह शिक्षित पनि भैसकेका छन् । राज्य सन्चालनदेखि लिएर उच्च ओहदामा बसेर जस्तोसुकै निर्णायक काम गर्न सक्षम छन् । तर बिडम्वना यहि रजस्वला हुने प्रक्रिया ब्रह्माजीले बोकाईदिएको ईन्द्रको पापको भारी हैन यो त शरिरमा नचाहिने वस्तु रगतको रुपमा बाहिरिएको हो भनेरव्याख्या गर्न सक्दैनन् ?
हुन त आज रजस्वला हुनु मासिक प्रकृया हो यसलाई बार्नु पर्दैन भन्नेहरुको जमात पनि कम छैन  ।
हाम्रा सुदुरका गाउंमा छाउको रुपमा उस्तै पीडा भोगिरहेका छन् । शहरमा सभ्य र आधुनिक हौं भन्नेहरुले पनि छुट्टै कोठामा राखेर रजस्वला भएकी छोरी राख्छन् ।
हामी पापी मानसिकताबाट उम्कन सकेका छैनौं ।त्यहि रजस्वलाको बेलामा यताउता छोईछाइ भएको पाप कटाउनै भाद्र शुक्ल पन्चमी तिथिमा सप्तऋषि सहित अरुन्धतीको पूजा गरिन्छ । तिनसय पैंसट्ठी दतिवनका टुक्रा चपाउने, नदीमा स्नान गर्ने, स्नान गर्दा कुमालकुट्टीले थुपारेको माटो,हात्तीका पाईला लागेको माटो आदिले शरीर सफा गरिन्छ र उखु,कुरिलाका पातहरुले जल धारा दिएर ऋषि पुजा गरिन्छ । अनि बर्षदिनमा भएको रजस्वलामा गरिएका पापबाट मुक्ति पाईन्छ भन्ने किम्वदन्तीलाई सुधार्न सकिन्न र ?
पूजासंग मेरो कुनै बिमती हैन तर शरिरबाट निस्केको बिकारको पनि पाप कटानी महिलाले नै गर्नुपर्ने ? यसरी हरेक शास्त्रले किन महिलालाई मात्रै पापको भारी बोक्ने भरिया बनायो होला ? शरिरबाट बिकार त थुक, र्याल, सिंगान, दिशा पिशाबको रुपमा पनि निस्कन्छ तर रजलाई यस्तो पाप किन मानेका छौं हामी ? अझै पनि रजस्वलालाई पाप मान्दै गयौं भने कैयौं युवतीहरुले अकालमा ज्यान गुमाउनु पर्ने छ ? अनि रजस्वलालाई पापकै भार मान्ने हो भने बच्चा जन्माउन के गर्ने ? आखिर त्यहिमहिलाको शरीरको रगतबाट नै मानव शरीर निर्मित छ भने रज कसरी पाप ? कि त हामी सारा मानव नै पापको भारी हुनुपर्यो । हैन भने शास्त्रमा, पुराणमा जे लेखेता पनि अब यो बिषयलाई सुधार गर्नै पर्छ । नत्र पाप पाप भनेर पन्चमीमा पाप कटाउन कुरेर बस्यौं भने महिलाहरु अझ रोगी हुनेछन् । पाठेघरका समस्या,छाउगोठे समस्या ,ज्युं का त्युं हुनेछन् ।
पूजा गरौं,व्रत बसौं पहिला आफ्नो स्वास्थ्यको ख्याल राखौं । रजस्वला पाप हैन जो ब्रह्माजीले ईन्द्रले गरेको पापलाई यता बोकाएको, रजस्वला पाप हैन शरिरबाट निस्केको बेकार वस्तु हो । रजस्वला हुदा छोईएको पाप माटो र खरानीले धोयर हुदैन । यो नचाहिदो बोझ बोक्न छोडौं । ऋषिको पूजा गरेपनि रजस्वलालाई पाप नठानिदिनुस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper