banner
banner

युवा जगाएन युवा दिवसले

अधिवक्ता गंगा दहाल--
हरेक दिन कुनै न कुनै दिवस मनाउने प्रचलन राष्ट्रसंघले सुरु गरेको हो । विश्वका प्रत्येक देशमा हरेक दिन कुनै न कुनै दिवस मनाइने गरिन्छ ।
साउन २८ अर्थात अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस परेको थियो । यो दिवस वक्तव्यमा मनाइयो, न युवा जागरुक भएको समाचार आयो, न युवालाई जागरुक बनाउने कुनै प्रयत्न नै गरियो । बस्, युवा दिवस मनाइयो ।
नेपालका सन्दर्भमा १६ देखि ४० वर्ष उमेरका समूहलाई युवा भनिन्छ र यो संख्या ४० प्रतिशत छ । अर्थात ३ करोड जनसंख्या मान्ने हो भने १ करोड २० लाख युवा रहेका छन् ।
राजनीतिदेखि कृषि, विज्ञान, कर्मचारी, सुरक्षा निकाय, उद्यम, व्यापारमा कति रहेका होलान्, जब कि २६ लाख युवा वैदेशिक रोजगारीमा छन् भनेर सरकार नै भन्छ ।
भनिन्छ, युवा देशका कर्णधार हुन्, हुन् भने युवाहरु हरेक क्षेत्रमा किन पछाडि परेका छन् । युवाहरु किन विभेद, निषेधका कारण अवसर नै पाइन्न भन्ने नैराश्यता व्यक्ति गरिरहेका छन्, यसको कारण के हो ? युवा दिवसका दिन युवाहरुमाझ देशमा विभेद छैन, निषेध छैन, अवसरका लागि राज्य तैयार छ, राज्यका निकायहरु तैयार छन् भनेर अवसरको आकर्षण र उत्साहको प्रेरणा दिनेकाम किन गरिदैन । किनभने युवाहरुमा नैराश्यता बढाउने कर्म राजनीतिकरणले गरेको छ । जतिसुकै योग्य भए पनि नातापाता, पैसाको लेनदेन र व्यभिचारले मात्र अवसर पाउने भएपछि हरेक क्षेत्रमा बिकृति बढेको छ । युवाहरु जुनसुकै समुदायमा हुन्, निराश छन् ।
राजनीतिकरणका कारण प्रशासन र बिधि व्यवस्थासमेत प्रदूषित बनेको छ । यहीकारण बिकृति नभएको राज्यका कुनै निकाय नै बाँकी रहेका छैनन् । न्यायालय र न्यायाधीशका विरुद्ध सडकमा नारा लाग्नुले युवाको अवस्था थाहा हुन्छ ।
समाज सवारी साधन हो भने संविधान इन्जिन हो र समाज अघि बढाउने चालक युवा हुन् । युवाहरुलाई उत्साहहीन पारेर हर क्षेत्रमा बुढो पुस्ता हालीमुहाली गरिरहेको छ । यो तालले देश समृद्ध र सुखी बन्न सक्दैन ।
युवाहरु पनि जोश र जाँगरका साथ अघि बढ्ने साहस गरिरहेका छैनन् । जब सहज रुपमा स्थान र अवसर पाइन्न, तव युवाहरुले आफ्नो हैसियत निकालेर स्थान बनाउनु पर्ने हो । युवाहरुले बुढोपुस्ताको पिछलग्गु बनेर चाउरिएर बस्नु भनेको युवाहरुभित्रको उदासिनता हो । अवसर दिदैनन् कि, पछि परिन्छ कि, निषेध गर्ने हुन् कि भन्ने भयका कारण युवाहरु पछि परेका हुन्, अव त्यो अवस्था अन्त्य हुनुपर्छ ।
देशको भविष्यप्रति चिन्ता छ भने बुढोपुस्ताले संरक्षक भएर संरक्षण गर्ने  र अनुभवको सुझाव दिने हो । समयसँग प्रतिस्पर्धा गर्ने र आफूलाई अब्बल साबित गर्ने जिम्मेवारी स्वयम् युवा बर्गकै हो । युवाहरु अव पनि अघि बढ्न सक्दैनन् र आफ्नो स्थान आपैm निर्माण गर्ने जोखिम उठाउँदैनन् भने युवाहरु भनेका वैदेशिक रोजगारीका लागि निकासी गर्ने अथवा बुढाहरुले हाँकेको पार्टीको रथ तान्ने शक्तिमात्र बन्ने छन् । राष्ट्रशक्ति बन्ने युवा बर्ग नाराबाजी, ढुङ्गामूढा गर्ने र राजनीतिक गुण्डागर्दीमा सिमित रहने हो भने यस्तो युवा बर्गले कहिले पनि आफूलाई राष्ट्रशक्तिका रुपमा स्थापिन गर्न सक्नेछैन । अव समय आयो युवाहरुले आफूलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने ।
जो युवा जुनसुकै स्थान र समुदायमा हुन्, आ–आफ्ना समुदायमा युवाहरुले आफ्नो भूमिका आफैले निर्धारण गर्नुपर्छ, भूमिकामा देखिनुपर्छ अनिमात्र युवाहरु राष्ट्रिय शक्ति बन्नेछन् । अहिले पनि युवाहरु चाउरिए भने कहिले अगाडि आउने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper