banner
banner

यसपाली भगवानलाई घूस नदिने कि ?

देवी काफ्ले--- 
पौराणिक मान्यता अनुसार साउन महिनामा भगवान शिवजीको पुजा गरिने भएकाले र शिवजीलाई हरियाली मन पर्ने भयकाले यो महिनालाई शिवजीको महिनाको रुपमा पनि लिने गरिन्छ । पार्वतीले साउन महिनामा व्रत बसेर भगवान शिव प्राप्त गरेकी हुनाले यो महिना विशेष रुपमा मानिएको पाइन्छ । त्यसैले अविवाहित एवम् विवाहित नारी सबैले साउन महिनामा व्रत बसी पूजा अर्चना गर्ने गर्दछन् । विवाहितहरु आफनो सौभाग्यका लागि र सन्तान भएकाहरु उनीहको दीघार्युको लागि तथा अविवाहितहरु असल श्रीमानको अपेक्षा गदै संस्कृति जर्गेनाका लागि व्रत बस्ने एउटा धार्मिक विश्वास रहेको छ । त्यसैले साउन महिनाको सोमबार हरेक शिव मन्दिरमा भीड लाग्ने गर्दछ । आजकल महिलाहरु हरियो चुरा र मेहेन्दीमा सजिएका हुन्छन् । धार्मिक आस्थासंग खासै नजोडिएको भए पनि हरियाचुरा र मेहेन्दीको प्रभाव बढ्दो छ । महिनाका सोमवार व्रत बसी शिवजीलाई खुशि पार्नुका साथै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्दै संस्कृतिको जगेर्ना गर्न महिलाहरुमा शुभकामना ब्यक्त गर्दछु ।
परापुर्व कालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खाने चलन थियो । अहिले आएर आधुनिकता र समयको मागसंगै साउन महिला भर हरियो पहेलो रातो रंगको चुरा पोते नेल पोलिस मेहेन्दी लगाउने पुजा आज गर्ने प्रचलन बढेको छ  । साउन महिनामा चारैतिरको वातावरण एवम् बोटविरुवा पनि हरिया हुने भएकाले हरियो भएर हिँड्न रुचाउने अधिकांश महिलाहरुको धारण छ  । साउन महिनालाई पछिल्लो समयमा अलिकति आधुनिकतामा पनि बदलिएको पाइन्छ । सोही अनुरुप हरिया, पहेंला पोशाक लगाउनु अनिवार्य जस्तै गरि हरिया चुरा, मेहेन्दी लगाउनु अनि शिव मन्दिरमा जलार्पर्ण गर्नु । 
सोमवार व्रत बस्नु ।
म पहाडमा जन्मेकी । मैले जान्दा मेरी आमा लगायत गाउँघरका अन्य महिलाले साउनमा हरिया चुरा लगाउनु पर्छ भनेर बजार हामफालेको देखिन ।दस बर्षको उमेरमा तराई ल्याउनु भयो बाबाले तै पनि हरिया चुराको डिमाण्ड देखेकी थिइन ।तर आज आएर हरिया पहेला चुरा ,हत्केलामा मेहेन्दी नलगाए लोग्नेको आयु नै घट्छ कि जस्तो गरि होडबाजी चलेको छ ।फेरि धार्मिक आस्था राख्नु गलत भन्न खोजेको होईन मैले ।
अब जाउं चुराको कुरामा ।महिलाले नाडीमा लगाउने चुरा काँचका नै बढि प्रचलनमा आउंछ । मेटल या प्लास्टिक का पनि चुरा हुन्छ तर सौभाग्यका लागि भनेर कांचका नै चुरा लगाईन्छ ।
सर्वप्रथम चुरा लगाउने प्रचलन ईजिप्टबाट शुरु भएको भनिएको छ ।यसको प्रभाव भारतमा सबैभन्दा बढी छ र चुरा उत्पादनका लागि भारतकै विभिन्न शहरहरु नामुद छन् । जसमा फिरोजावाद प्रख्यात मानिन्छ ।
भारत लगायत एशियाली मुलुकमा चुरा लगाउने प्रचलन छ ।विशेष गरि हातमा लगाईने कांचका चुराको सम्बन्ध नारी अस्तित्वसँग जोडिन्छ । बिबाहित नारीले अनिवार्य चुरा लगाउनु पर्ने यदि नाडी खाली भयो भने अशुभ हुने अर्थात् पतिको आयु छोटो हुनेछ भनिन्छ । त्यसैकारण त बिधवा नारीले चुरा लगाउन हुदैन भनियो । पतिको आयु बढाउन नारीले नाडीमा चुरा लगाउनै पर्ने भयो । पतिको लामो आयु ,पारिवारिक सुखशान्ति, सन्तानको सम्बृद्धि सबैको लागि नारीले सोह्र श्रृगार गरि व्रत बस्नु पर्ने रिति बन्यो । अनि नारी आफ्ना पुरुषका लागि सुहासिनी बन्न, पतिको प्रिया बन्न पनि सुन्दरी बन्नु पर्यो त्यसका लागि चुराका खनखनाहटले पति आकर्षित हुने र धेरै माया गर्छन् भन्ने भ्रम पनि भयो ।धार्मिक ग्रन्थहरुमा पनि पतिकी प्रिया बन्न नारीले सोह्रश्रृंगार गर्नुपर्ने, पतिसँग दगा गर्न नहुने, पतिको आयु लामो बनाउन हातमा चुरा, घाँटीमा पोते, सिउँदोमा सिन्दुर भर्नुपर्ने लेखिएको छ । अर्थात् पुरुषको लागि नारीले नेलमा जकडिनु पर्यो तर पुरुषले नारीको लागि व्रत, न कुनै श्रृंगार केही गर्नु नपर्ने भयो ।
केही कालखण्ड पछि जब मानिसहरु स्वतन्त्रता खोज्न लागे तब यी सबै कुरा नारीमाथि लादिएको एउटा गलत प्रथा हो भनेर बिरोध गर्न लागे । महिलाहरुले चुरापोते महिलाको स्वतन्त्रता बांध्ने जंजीर हो भन्न लागे तब देखि केही समय यो बिषय बिवादमै रह्यो । आधुनिक नारीहरु नारीपुरुष बराबर हुन आखिर नारीले लगाउने श्रृंगारका साधनसंग पुरुषको जीवन गांसिएको छ भन्ने कुरा नकार्न थाले । अझ कम्युनिष्टहरु त यस्ता रुढीबादी कुरा मान्दैनन र यसको बिरोध गर्छन् । हाम्रो देशमा दशबर्षे जनयुद्धका समयमा मैले पनि सुनेको यी जंजीर तोडबहामीले स्वतन्त्रता पाउनुपर्छ भनेर सन्देश दिईन्थ्यो । बिडम्वना आज उनै कमरेडहरु पनि साउनका हरिया चुरामा मसक्क हुनुहुन्छ । अचम्म लाग्छ । अब अर्को महत्वपुर्ण कुरा के भने हाम्रा कारण बर्सेनि भारतमा कति रुपैया भित्रिन्छ?हामीलाई अनुमान नै छैन ।हामी यता फेसन र देखासिकीमा मग्न छौं अनि कसैको दुई शब्द–ओहो तिमी त कति राम्री देखिएकी बल्ल पो नारी जस्ती देखियौ भन्ने सुनेपछि औधि मक्ख ।अनि तिनै सामानमा पूरा ध्यान । अर्को मेहेन्दीका लागि पनि मरिहत्ते गर्छौ । तर हाम्रो कारण देशको अर्थ कति बाहिरिएको छ ? हामी चासो राख्न चाहान्नौ । जब साउन शुरु हुन्छ हरिया चुराको व्यापक मागका साथै राता पहेंला साडि कुर्ताको उति नै माग हुन्छ । आखिर कसको लागि त ? हामी खाली अरुका राम्री भन्ने बाहिरी आवरणका लागि आफ्नो समय, पैसा र स्वंय स्वतन्त्रता  किन खेर फालिरहेका छौं ? हामीले बिचार गर्नुपर्ने हैन र ? आज समाज फेरियो, पुस्ता फेरियो तर पनि हाम्रो एउटा लोभि सोंचका कारण पुरुषलाई दोषि बनाउने सिवाय अरु कुन जिम्मेवारी निर्वाह गरेका छौं ? के देशको अर्थतन्त्र जोगाउनु हाम्रो दायित्व हैन र ? रह्यो कुरा सुन्दरी बन्ने होडबाजीले आज हामीबाट कति कुरा गुमेको छ अध्ययन गर्नुपर्ने देख्छु म । सबैभन्दा पहिला त हाम्रो क्षमता गुमाइरहेका छौं । आफुभित्र रहेको सुन्दरताको मापन गर्ने जिम्मेवारी  अरुलाई सुम्पेका छौं । सुन्दरताको बजारमा क्रयबिक्रय भैरहेको छ हाम्रो नारीत्व । त्यसैले यस्ता बजारीया सुन्दरतामा नभुलेर यथार्थमा बांच्ने कोसिस गरे केही सुधार र चेतना बिकास हुन्थ्यो कि ? आफ्नो स्वास्थ्य र परिवारको स्वास्थ्यको चिन्ताले ग्रस्त हामी खानपानमा ध्यान दिने कि भोकै निला आँखा पल्टाउँदै बिचरा भगवानलाई पाँच रुपियाँ घुस दिएर पतिको लामो आयु माग्ने ? कतिन्जेल गहनारुपि जंजीरमा बाँधिने हो ? आफै बिबेकी बनौं । सोंच बदलौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper