banner
banner

फेरि लकडाउन समाधान होइ

अधिवक्ता गंगा दहाल--
कोभिड–१९, कोरोना झन झन फैलिन थालेको छ । नियन्त्रण हुन्छ कि भन्यो, दिनदिनै सरकारी नतिजाले संक्रमणको जोखिम देखाइरहेको छ । समस्याको आगमन खुला सिमाना देखिन्छ । भारतमा कोरोनाको संक्रमण भयावह बन्नु र भारत नेपाल सिमानाबाट आवतजावत बढ्नुले नेपालमा कोरोना अनियन्त्रित हुनथालेको आभाष हुन्छ । सुरक्षा निकायको कमजोरीले बिभिन्न जिल्लामा आवतजावत बढ्नु र अपनाउनै पर्ने उपायहरुमा खेलाँची हुनुले पनि कोरोना समाजमा फैलिदै गएको हो । कुनै घर, कुनै टोल अथवा वीरगञ्जजस्ता सहरमा नाकावन्दी गरेरमात्र यो समस्याबाट पार पाउन सकिन्न । मुख्य सवाल नियन्त्रणका उपायमा कडाइ र परीक्षणमा व्यापकता अनि नागरिकमा कोरोनाप्रतिको संचेतना मुख्य विषय हुन् ।
समाजमा संक्रमण फैलिन थालेको छ । डाक्टरहरु सतर्क भएनौं, संक्रमण रोक्ने उपायहरु अवलम्बन गरेनौं भने न्यूयोर्कमा जस्तो महामारी अवस्था नेपालमा पनि फैलिन सक्छ भनेर चेतावनी दिइरहेका छन् । सरकार मौन छ, किन ?
सरकार छ, केही गर्छ भन्ने आश्वस्तता जनताले खोजिरहेका छन् । यातायात खोलेर डबल भाडा दर तोक्ने सरकारले सामाजिक दूरी र माष्कको प्रयोगलाई अनिवार्य बनाउन सकेन । सरकार कहाँ छ ? सरकार देखिनु पर्छ । सरकारले जनोपयोगी कार्यमा आफूलाई देखिने गरी प्रस्तुत गर्नैपर्छ । जनताप्रतिको जवाफदेहीता नदेखिने हो भने सरकारको उपादेयता समाप्त हुन्छ । सरकारमा बस्नेहरुले प्रधानमन्त्रीको मुख ताक्ने होइन, आ–आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।
स्वास्थ्यसेवाको अवस्था अहिले पनि दयनीय छ । नियमित उपचार दुर्लभ छ, आतङ्क बढी छ । यो कदापि राम्रो होइन । सरकारले कोरोना अस्पताल र सामान्य बिरामीको अस्पताल छुट्याइदिनुपर्छ । सामान्य बिरामीलाई पनि छिःछिः दूरदूर गर्ने र कोरोना बिरामीमाथि हदैसम्मको अमानवीय व्यवहार गरेको पनि देखिन्छ । बिरामी जो पनि हुनसक्छ । जसलाई पनि कोरोनाले आक्रमण गर्नसक्छ, असावधानी गरेका । यसकारण कसरी कोरोनाको कहरबाट पार पाउने हो, यसतिर संचेतना अझ व्यापक पार्नु जरुरी छ । उपचार सर्वसुलभ गराउनै पर्छ ।
र, कोरोना समाजमा फैलिन नदिन फैलाउनु पर्ने चेतना नै हो । कोरोनालाई हेपेर टोल गाउँ, सहरबजारमा जसरी मानिसहरु निस्किरहेका छन्, यो काल बोलाएको हो । हेपेर कोरोना भाग्दैन, संचेतना र सामाजिक दूरीले कोरोना भाग्छ, यत्ति सामान्य ज्ञान पनि सरकारले फिजाउँन नसक्नु र खेलाँची हुनु दुर्भाग्य हो ।
यस्तो आपतविपत, महामारीमा पनि भ्रष्टाचार र अनियमितता गर्नु अर्को दुर्भाग्य हो । कात्रोमा खल्ती हुँदैन, केही जाँदैन । समाजसेवा गर्नु र नागरिकको जीवनरक्षा गर्न खट्नु आजको आवश्यकता हो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीयता हो । बिपतमा भ्रष्टाचार गर्ने नराधमहरुलाई कारवाही खोई गरेको ?
इनफ इज इनफ, युवा आवाज हो । व्यक्तिको अस्तित्व, सरकारको जिम्मेवारीको पालना खोजेको हो युवाहरुले । यी युवाहरु कुनै दलका कार्यकर्ता होइनन्, यिनको आवाज आमनागरिकको आवाज हो । यिनको आवाज सरकार नसुत, सरकार जनताप्रति केही गर भन्ने आवाज हो यो । नकारात्मक रुपमा लिएर सरकारले यस्ता जागरुक युवाहरुलाई जुन प्रकारको लछारपछार पार्ने, दमन गर्ने कार्य गरिरहेको छ, त्यो पनि दुर्भाग्यपूर्ण छ । यस्ता युवाहरुलाई त सरकारले स्यावासी दिएर जिम्मेवारीबोध गर्नुपर्ने हो । चेतना फैलाउन युवाको उपयोगिता सरकारले किन बुझिरहेको छैन ? पार्टीका युवा युवा, स्वतन्त्र युवा दुश्मन किन ठानेको ?
पार्टीका हुन् कि स्वतन्त्र हुन्, युवा समुदायलाई कोरोना नियन्त्रणमा सक्रिय पार्न सके बढ्दो कोरोनाको फैलावटलाई कम गर्दै जान सकिने निश्चित छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper