banner
banner

धरातल खस्कदै छ, संचेतना छैन

शाश्वत शर्मा----
गतहप्ता चिनियाँ राजदूत हाउ यान्छीको अन्तर्वार्ताले कूटनीति र राजनीति निकै ततायो । २००७ सालदेखि भारतीयले गरेको हस्तक्षेप र अति सहजै बेहोर्दै आएका नेपालीहरुका लागि केही वर्षदेखि चिनियाँ पक्ष, राजदूतको राजनीति र कूटनीतिमा देखिएको सक्रियतालाई बुझ्ने प्रयास गर्दैछन् । सत्तारुढ दल नेकपाभित्रको झगडा मिलाउन, टुटफुट हुनबाट बचाउन र सरकारलाई टिकाउन समेत चिनियाँ सक्रियता देखिन्छ । हिजो भारतीय राजदूतले निभाउँदै आएको भूमिका यतिबेला सर्लक्कै चिनियाँ राजदूतको काँधमा सरेको देखिन्छ ।
हिजोसम्म शान्त कूटनीतिमा विश्वास गर्ने चीनले आफ्नो भूमिका परिवर्तन गर्दै अव सक्रिय हुनचाहेको छ । धेरैठूलो उदाहरण किन खोज्ने ? काठमाडौंको ठमेललाई हेरौं न । हिजोसम्म पश्चिमाहरुको कब्जामा रहेको ठमेल आज चिनियाँ कब्जामा पुगिसकेको छ । नेपालका दुर्गम स्थानका विद्यालयहरमाचिनियाँ भाषाको समेत पढाइ हुनथालेको देखिन्छ । नेपालको अर्थतन्त्रदेखि सरकारी ठेक्कापट्टामा समेत चीनको प्रभाव प्रष्ट अनुभव गरिन्छ । चिनियाँ भूमिका ह्वात्तै बढेको छ । चीनको यो सक्रियता चीनविरुद्ध नेपाली भूमिको दुरुपयोग बढेकाले हो भन्न आइतवार कुरिरहनु पर्दैन । फेरि दशकौं देखि भारतीय हैकम भोगेर आएका नेपालीहरु चीनको वर्तमान सक्रियताका विरुद्ध त्यत्ति बोल्दैनन् । किनभने भारतको सही नसक्नुको मिचाह प्रवृत्तिलाई चीनले विस्थापन गर्नसक्छ भनेर हो । २०२५ साल, २०४६ र ०७२ सालसम्मको भारतीय नाकावदन्दी, अतिक्रमण, हस्तक्षेपविरुद्ध चीनको सक्रियतालाई नेपालीले निको मानेका हुनसक्छन् । यद्यपि चीन व्यापारी हो, भन्ने अनेक घटनाक्रमले पुष्टि गरेका छन् । यसकारण सतर्कता पनि जरुरी छ । प्रचारमा आएको छ, चीनको ऋण फिर्ता गर्न नसक्दा श्रीलंकाले एउटा बन्दरगाह नै चीनलाई जिम्मा लगाएको छ । मालदिभ्सको हालत पनि त्यस्तै छ ।  चीनको सहयोगले पाकिस्तानलाई पनि पिर्न सक्छ । अफ्रिकी मुलुकहरुपनि शनै शनै चीनबाट सतर्क हुँदैछन् । यसकारण भूगोल जोडिएको हाम्रो मुलुक नेपाल त झन संवेदनशील हुनुर्प । नेपाल दक्षिण न उत्तर, दुबैतिर सतर्क हुन नसके बाँच्न मुस्किल पर्नेछ । नेपालको राजनीति र कूटनीतिमा छोटो समयमै हावी भइसकेको चीन र हावी रहेको भारतका वीच भिडन्त सुरु भइसकेको छ । अगस्त १ मा नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले जारी गर्नुभएको सन्देशमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताउनु भएको छ । कूटनीतिक ज्ञाताहरु भन्छन्– यो नेपाललाई भनेजस्तो गरी अमेरिका र भारतलाई दिएको कूटनीतिक जोल्ट हो ।
साथै राष्ट्रपति सीले नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको छ । ताकि दुबै देशका नागरिकहरु अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता र विकासमा सकारात्मक योगदान दिन सकियोस् । चिनियाँ राष्ट्रपतिको यो उद्गारभन्दा पनि नेपालका प्रधानमन्त्री केपी ओलीले चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता रर ाजनीतिक स्वतन्त्रताको सम्मान गरेको छ भन्ने भनाइ अर्थपूर्ण रहेको बताउँछन् जानकारहरु । नेपाल चीन सम्बन्धको ६५औं वर्षगाँठकै सेरोफेरोलाई मध्यनजर गरेर प्रम ओलीबाट आएको यो विचार अहिले तीक्त सम्बन्धमा दरिएको नेपाल–भारत सम्बन्धमा भारतलाई जवाफ पनि होभनेर बुझेकाछन् कतिपयले ।
भारत यतिबेला पर्ख र हेरको स्थितिमा छ । नेपाली राजनीतिमा लगानी धेरै भएको र प्रतिफल कम आएकोमा भारत अप्ठेरोमा परेको देखिन्छ । अझ नेपालले नयाँ नक्सा जारी गरेपछि नेपालमा राजनीतिक एकता देखिएको विषय भारतले धोखा अनुभव गरेको छ । मधेशी दलका नेताहरुले समेत भारतको आलोचना गरेको पनि सुनियो । होला मधेशी नेताहरुको भारतसँग खास सम्बन्ध छ होला । तर तिनले बस्ने, खाने, लाउने अनि राजनीति गर्ने त नेपालमा नै हो । नेपालमा अझ त्यो पनि काठमाडौंमा नै हो । एउटी सरिता गिरीले भारतको पक्षमा जाने आँट गर्दा उनले सांसद पद नै गुमाउन पुगिन् । राजनीति नै समाप्त भयो भन्दा हुन्छ ।
०७२ सालमा मधेशवादीहरुकै लागि गरिदिएको नाकावन्दीको गुन नक्सा पारित गर्दा चुक्ता गरिदिएका छन् । अनि भारत किन क्षुब्ध नहोस् । त्यसमा पनि उपेन्द्र यादव, राजेन्द्र महतोको राष्ट्रवादी अभिव्यक्ति कम रोचक थिएन । यतिमात्र होइन, महाकाली सन्धि गर्नेहरुलाई टुँडिखेलमा लगेर कारवाही गर्ने माँगसमेत गरेका थिए । तराई नेपाल हो, नेपालमा राजनीति गर्नुछ, अनि मधेशवादी नेताहरुले देशभक्ति त गर्नु नै थियो । यहाँसम्म कि महाकाली सन्धि गर्ने देउवा सरकार र गर्नैपर्छ भन्ने ओली, माधव नेपालहरु कसैले छाडेनन् । समष्टिमा भन्नुपर्दा आज नेपालमा भारत बदनाम छ । शायद यो लाभ पनि चीनले उठायो । हिजो भारतीय दूतावास पावर सेन्टर बनेको थियो, आज चिनियाँ दूतावास सक्रिय छ । सडकदेखि मिडियासम्म, शासनदेखि शासकसम्म चीन देखिन्छ । यसकारण चिनियाँ राजदूतको अमिल्दो र कूटनीतिक मर्यादाविपरितका सक्रियताले पनि समर्थन पाइनै रहेको हो । चीन नेपालमा छ, टोलटोलमा र नेपालका विभिन्न भागमा छ । आफ्नो मिसनमा छ । रणनीतिमा छ ।  अर्थनीतिमा मात्र होइन, राजनीति र कूटनीतिमा पनि छ । पहिले शान्त थियो, अहिले पारदर्शी उपस्थिति देखाइरहेको छ ।
भनिन्छ, नेपालमा चीन र अमेरिकाको दौड बढी र भारतसँग प्रतिस्पर्धा कम छ । यो प्रतिस्पर्धा भन्दा पनि नेपाली सार्वभौमिकता र परराष्ट्रनीतिमा नेपाल बढी चनाखो हुनुपर्ने खाँचो टड्कारो छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper