banner
banner

नेपाल र नेपालीको हित ठूलो

स्वयम्भुनाथ कार्की--
राष्ट्रको हित भन्दा महत्वपूर्ण अरु कुनै कुरा हुुन सक्दैन । अनि कुनै राष्ट्र केवल भुगोलले मात्र हुँदैन । यो कसैले आधुनिक युगमा परेको परिभाषा हैन सनातन परंपराको आधारभूत कुरा हो । सनातन शास्त्र भन्दछ जनता जनार्दन अर्थात बिष्णु हुन र राजा त्यही जनार्दनको अंश । जनता जनार्दन भनेर भन्ने चलन आज पनि कायम छ । नेपालको एकिकण गर्ने शाहवंशका पृथ्वीनारायण शाह यदि आफ्नो राज्य गोर्खाका बाह्र हजार घरधुरीका जनताको सम्मती र सहयोगमा नचलेका भए आधुनिक नेपाल संभव नै थिएन । अझ गोर्खाका घले राजाहरुले जनताको कुरा सुनेका भए द्रव्यशाह गोर्खाका राजा नै हुन सक्ने थिएनन । 
जनतालाई सर्वसुलभ र छिटो न्याय दिएर रामशाहले ‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान नै चलाएका थिए । शाहवंशमा जो समर्थ राजा देखिए सवैले लोकसम्मतीलाई शासनको आधार वनाए । राजा राजेन्द्रले यही कुरा छोड्दा राजा र प्रजाको बीचको सम्पर्क सुत्र कमजोर भयो । उनको यो कमजोरीले नेपाल १०४ बर्षसम्म अस्वभाविक उत्तराधिकार नियम भएको जहानिया शासनको सुरुमा फस्न वाध्य भयो । सन्तानमा उत्तराधिकार जाने परंपरा तोडेर भाईमा उत्तराधिकार जाने व्यवस्था जंगवहादुरले गरेका थिए । यो त्यो वेला क्रमभंग नै थियो, एक ठूलो परिवर्तन थियो र अग्रगमन नै थियो । राजालाई दायरामा बाँधेर केवल भनेको ठाउँमा लालमोहर लगाउनै पर्ने गरिएको थियो । यो नै अलंकारिक राजाको प्रयोग थियो जो वेलाईत पछि संभवत नेपाल मै भएको थियो ।
नेपालमा अनेकौ पटक सत्ता र व्यवस्था परिवर्तन भए । हरेक श्री ३ले लिखित नियम अत्यन्त कम र हुकुमी नियम ज्यादा चलाए । यसैले ती हरेक व्यक्ति परिवर्तन व्यवस्था परिवर्तन सरह थिए । जंगवहादुर, चन्द्र शम्सेर र जुद्धशम्सेर बाहेक अरु राणा श्री ३ वर्तमानमा इतिहासकार वाहेक अरुले सम्झेको छैन । वीर अस्पताल अनि वीरगंजले पनि वीर शम्सेर सम्झाउन्न । किनभने उनका यी किर्तीहरु जनताको हितको भन्दा जनतालाई गुन लगाउने प्रयोजनले भएका थिए । जंगवहादुर लगायतकाले केही मात्रामा भए पनि आफुलाई जनतासंग जोडेका थिए । 
हरेक परिवर्तन संगै नेपालीले पुराने व्यवस्था चटक्कै त्यागिदिए । केवल राजसंस्था मात्र एक यस्तो कुरा रहेको जसलाई नेपालीले आङ्खनो मनमा राखेका छन । यो अनुभूति गणतन्त्रका अभियन्ताहरुलाई पनि भईसकेको छ । त्यसैले वेलावेलामा राजाले शुरुदेखि नै भन्ने गरेको जनताले चाहे भने राजसंस्थाको पुर्नस्थापना संभव छ भन्ने कुरा भन्दैछन । पुगनपुग दश बर्ष राजा शव्द समेत उच्चारण गर्न वन्देज जस्तै लगाएकाहरु अहिले गणतन्त्र संस्थागत (?) गरिसकेपछि फेरी त्यसको रक्षा गर्ने जे पनि गर्ने अभिव्यक्ति दिन विवश छन । यो स्पष्ट संकेत हो अव उनिहरुलाई गणतन्त्र थाम्न कठिन भई रहेको छ । जनताको मनमा राजसंस्था झन गहिरो गरेर बसेको उनिहरुले ठानेका छन । 
कुनैपनि वेला राजसंस्थाको पुर्नस्थापना हुने उनिहरुको अनुमान छ । त्यसैले विदेशीले स्थापना गरिदिन लागेको हल्ला चलाउँछन र आपैm त्यसैमा भ्रमित भएर विदेशी मुलुकहरुको सम्वन्धमा करिवकरिव चाकरी भन्न सकिने व्यवहार गर्दैछन । अनेकौ नयाँ संगठनहरु गठन गरिएका छन । तर जनता र राष्ट्रको  हितको निमित्त काम गर्ने कार्यक्र दिने हविगत र ल्याकत छैन । जनताको दैनिकीमा असर गर्ने वस्तुहरुको अभाव हटाउनु भन्दा भाषण गर्नु, कुचो लगाउनु अनि प्लास्टिक टिप्नु महत्वपुर्ण काम भएको छ । स्वदेशमा रोजगारी श्रृजना गर्ने कुरा भाषणमा मात्र सिमित छ । त्यसैले राजा महेन्द्रको कार्यकाल र त्यसमा भएका जनकल्याणका कुराहरुको चर्चा जनताले गर्दैछन । गणतन्त्र बचाउने हो भने नेपाल र नेपालीको हित सबैभन्दा ठूलो मानेर काम गरे हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper