banner
banner

मन्त्रीज्यू, तपाईको गोठ हाम्रो दरवार

देवी काफ्ले--
राणाशासन, प्रजातन्त्र, पंचायत, बहुदल, निर्दल, लोकतन्त्र, गणतन्त्र  । यी सबै तन्त्रहरु जुन भय पनि शासन त जनता मााथि नै गर्ने हो । कुरा यति हो कि कुन शासनमा जनताले आफ्ना मौलिक हकअधिकार प्रयोग गर्न पाएका छन् कि छैनन् ?  मानिसलाई बाँच्न तिनकुरा नभै हुदैन ती हुन्– गाँस, बाँस, कपास । मौलिक र नागरिक अधिकार कति प्रयोग गरेका छन् ?
जहानीया राणा शासनमा सर्वसाधारणले कुनै पनि हक अधिकार प्राप्त गर्न नपाएकोले राजा सहित जनताका केही नेतृत्व वर्गले कठिन राणा बिरोधि आन्दोलन शुरु गरे । दशरथ चन्द, धर्मभक्त, शुक्रराज, गंगालाल जस्ता होनहार राष्ट्रप्रेमीले आफ्नो ज्यान बलिदान दिए।कैयौं ब्यक्तिहरुले देश निकाला हुनुपर्यो,राजा त्रिभुवनले गद्दी त्याग्नु प¥यो । यी सबैको बलिदानीले आज स्वतन्त्र नागरिक भएर बोल्न हिड्न पाएका छौं।सुब्बा कृष्णलाल अधिकारीले राणाको गद्दि ताकेको आरोपमा जेलमा नै मर्नु पर्यो । समग्रमा जनतामाथि थिचोमिचो भएकै कारण राणा बिरुद्ध बिद्रोह भयो ।
  राणा शासन पतन पछि पंचायती ब्यावस्थामा पनि जनता रैती नै बने । पंचायतका बिरुद्ध कांग्रेस,कम्युनिष्ट  दल बने । यी दलहरुको मुख्य लक्ष्य जनतालाई मौलिक अधिकार दिलाउनु,अर्थात् जनताको शासन ल्याउनु नै थियो।जनता बिभेदले आक्रान्त थिए । देशमा जातिय विभेद, सांस्कृतिक विभेद, भौगोलिक विभेद, सबैभन्दा ठूलो विभेद भनेको वर्गिय विभेद यथास्थिति मा नै रहेकोले र जनताको स्वतन्त्र बोल्न पाउने अधिकार माथि पनि प्रतिबन्ध भयकाले फेरि जनता आन्दोलित भए । हरेक आन्दोलन पछि केही न केही अधिकार प्राप्त त भयो तर पनि पुर्णरुपमा जनता शाशित राज्य भएन । अथवा यहाँ अब राजाको आवस्यकता देखियन र फेरि आन्दोलन भयो । लोकतन्त्रको स्थापना भयो । जनआन्दोलनमा फेरि जनताको रगत बग्यो । उनिहरुको रगत यसकारण बगेको थियो कि सबैभन्दा ठूलो वर्गिय विभेद हटाउनुको लागि ।
२०५२ सालदेखि शुरु भएको माओवादी जनयुद्ध गणतन्त्रको लागि थियो । अहिलेका अधिकांश सरकारका मन्त्रीहरु हिजोको त्यहि जनयुद्ध लडेर आएकाबाटै हुनुहुन्छ । माओवादीको बिद्रोह वर्ग विभेद,लैंगिक विभेद, जातिय विभेद बिरुद्ध थियो । वर्गिय विभेद प्राय सबै देशमा हुनेरहेछ तर हाम्रो देशमा त धनिगरिब बिचको दुरी यति लामो छ कि जसलाई छोट्याउन जसका लागि लडेको स्वयं माओबादीले पनि सकेन । जनयुद्धमा यहि दुरी कम होला आफ्ना अत्यन्त न्युतम आवश्यकता पूरा होला सबै नागरिक समान हौला भनेर युद्ध लडेकाहरु बिच अहिले ठिक त्यहि वर्गीय दुरि जस्तै दुरी कायम भयो । निमुखा निमुखै रहे शक्तिशाली ब्यक्तिहरु माथिल्लो ओहदामा पुगेर तलकालाई माथि तान्ने कोसिस कहिल्यै गरेनन् । त्यसैले बर्गिय विभेद जहाको तहि रह्यो ।
आज देशमा दुई तिहाइको त्यो पनि कम्युनिष्ट सरकार छ । तर शैली राजकीय छ । जनताको शासनमा पनि सरकारका मन्त्रीहरु ,दलका नेताहरु जन्ती जस्तै सुरक्षागार्ड लियर हिड्छन् । राष्ट्रपति बग्गी सवारी गर्नुहुन्छ । जनताका गाउंमा जाँदा मन्त्री हेलिकप्टर लियर जान्छन् । बिपत्ति मा परेका जनता राहत पाउदैनन्।बडा नेताहरुले कमिसन का कमिसन हसुर्छन्, सरकारी जग्गा आफ्ना नाममा ल्याउछन् ती सुकुम्बासी हुन्छन् । अनि निकुन्जका छेउमा एउटा टहरो हालेर बसेको चेपाङ को घर भत्काउन हात्ती लगाउछन् ,आगोले ती गरिबका सपना पोल्छन् अनि कमरेड मन्त्री भन्छन् जग्गा अतिक्रमण गरेर बसेकाको गोठ र गुन्द्री जलेको हो ।
मन्त्रीज्यू तपाईं पो मन्त्री हुनुभो तपाईंको नजरको गोठ हाम्रो लागि दरवार हो भन्ने किन बिर्सनु भयो ?
हिजो तिनै गरिबका गोठमा आश्रय लियर आज मन्त्री बन्नासाथ ती तपाईका बर्गिय बिभेदका भाषण कुन क्यासेटमा छन् मन्त्रीज्यू ?
मन्त्री ज्यू तपाईंको नजरमा बर्गिय विभेद के हो ? आखिर कुन दलको शासनमा हामी बराबर हुन्छौं ?
हामी निमुखा गरिब सधै गरिब रहने तपाईंहरु जस्ता टाठाबाठाको सधैं रजाइँ हुने भय यो लोकतन्त्र किन ?
हिजो जंगलमा बसेर ,हाम्रा यिनै झुपडिमा लुकेर हामीसँग खाएका कसमले तपाईंहरुलाई शासक बनायो हामी अन्ततस्रैती नै रह्यौं हैन ? मन्त्री ज्यु यस्ता जग्गा अतिक्रमण गरेर बस्नु हाम्रो बाध्यता तपाईहरुले सिर्जि दिनु भएको हो । यदि सबैलाई कानून लाग्छ भने शितलनिवास हडप्नेको घरमा पनि आगो दन्काउनुस्,अरबौं कर छली गर्नेहरुलाई पनि धुर्बे हात्ती लगाएर निमोठ्नुस!नत्र हामी निमुखाको पेटमा लात हानेर तपाईं महलमा बस्दा भौतिक सुख त पाउनु होला तर मनमा शान्ति पाउनुहुने छैन ।
अनि जनताबाट चुनियर गएका जनताका छोराछोरी हौ भन्ने तपाईंहरुलाई जनतासंगै के को डर  लाग्छ र जन्ती झै बाह्रमासे सुरक्षागार्ड लियर हिड्नुहुन्छ  ? यदि तपाईं सच्चा देशभक्त र जनताको सेवक हो भने निर्धक्क तिनै गरिबका झुुपडीको निरिक्षण गर्न जानुस् ।
गणतन्त्रमा पनि यस्तै विभेद रहन्छ भने कागलाई बेल पाक्यो हर्ष न बिष्मात हुने भयो हामीलाई गणतन्त्र ।हामीले बोल्न पाएर मात्रै भयन पापी पेटले दाना खोज्छ । भोको पेटले कतिदिन तपाईंहरुको जयजयकार गरौं.?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper