banner
banner

सरकारसग सन्तुष्ट छु भन्न ३० पत्रकारसग दुईघण्टा ?

गुड फ्राइडे मनाउने बेला हो यो ?
तर राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ९ गते गुड फ्राइडे मनाउनु भएछ, बरिष्ठ पत्रकार तीर्थ कोइरालाले आफ्नो ट्वीटरमा लेख्नु भएको छ– राष्ट्रपतिसँग ३० जना सम्पादकको २ घण्टा बिचार विनिमय भयो । अन्त्यमा उहाँले सबैकुरा ’अफ द रेकर्ड’ भनेपछि टिपोट गोजीमा हालियो । खाजा खाइयो, पालैपालो तस्बिर खिचियो, फेरि मास्क लगाइयो र आइयो । यति चाहिँ भनौं– राष्ट्रपतिज्यू अहिलेसम्म आफूले गरेका र सरकारका कामबाट सन्तुष्ट रहेको पाइयो ।
राष्ट्रपतिको नजरमा मूलधारका ३० पत्रकारसँग २ घण्टाको मनोरञ्जन लिन भ्याउने तर भूकम्प, कोरोना भाइरस, बाढी पहिरोमा परेर गुहार लगाइरहेका परिवारसँग भेट्न जान नसक्ने ? कस्ता राष्ट्रपति पालिराखेका छौं हामीले ?
राष्ट्रपति राष्ट्र संरक्षक हुन्, राष्ट्रपति जनताको दुःखसुखमा देखिनुपर्छ, जनताले नचिन्ने पनि राष्ट्रपति हुन्छ ? अनि सरकारले गरेका सबै काममा म खुशी छु भन्न एउटा वक्तव्य फालिदिए हुनेथियो, ३० जना पत्रकारसँग २ घण्टा समय बिताउने फुर्सदै फुर्सद हुँदा त्यो समय एउटा पीडित परिवारसँग बिताएको भए राष्ट्रपतिको, महिला समुदायको शीर माथि नै उठ्थ्यो होला ?
३० पत्रकारसँग भेटेको फोटो आउने, ती मूर्धन्य पत्रकारहरुसँग गरेका राष्ट्रिय समस्या, समाधान र मुद्दाहरुमा के के कुरा भए भन्ने केही पनि नआउने । यसको अर्थ राष्ट्रपतिको नजरमा पत्रकार भनेका समय कटाउने साधन हुन् ।
र, कुनै पनि पत्रकारले यसरी समय बिताउन आइन्दा आइन्न भनेको सुनिएन । र, देशका बिकराल समस्याहरु र सरकारले गरेका कुशासनका अक्षम्य अपराधका विषयमा, राष्ट्रपति पटक पटक किन बिबादमा आइराखेको हो ? भन्ने सवालमा सुझाव दिएको पनि सुन्न पाइएन । राष्ट्रपति आलंकारिक पद हो, आलंकारिक पदले सक्रिय राजनीतिका सवालमा, खासगरी नेकपाको राजनीतिमा संलग्न भइरहनुको कारण पनि सार्वजनिक हुनसकेन । मूलधारका पत्रकारहरु मीठोमसिनो खाना खान र राष्ट्रपतिसँग फोटो खिचाउनमात्र गएको देखियो, जुन सुखद पक्ष मान्न सकिदैन ।
पत्रकारले लेखेका छन्– बुधबार राष्ट्रपतिको सचिवालयका स्वकीय उपसचिव हिरामणि आचार्यको फोन आयो, ‘शुक्रबार दिउँसो २ बजे मूलधारका १८–२० जना सम्पादकज्यूहरुसँग सम्माननीय राष्ट्रपतिज्यूले भेटघाट गर्ने कार्यक्रम छ । निम्ता पाएका पत्रकारहरु हौसिए, राष्ट्रका समस्याहरुबारे भन्न पाइने भो, राष्ट्रपतिका प्रयास पनि लेख्न पाइनेभो ।
कस्सिएर पत्रकारहरु गए, ३० जना पत्रकार ‘अफ दी रेकर्ड’को पोको बोकेर फर्किए । फोटो आयो, अरु केही आएन । राष्ट्र राजनीतिक, कूटनीतिक, सीमादेखि विदेशी हस्तक्षेपसम्मका भद्रगोलमा छ, राष्ट्रपति छानेका पत्रकारलाई खाजा खुवाएर पठाउनु हुन्छ । योभन्दा हाँसो के हुन्छ ?
कुरा भए, गम्भीर कुराहरु भए । ती कुराहरु दबाइयो । पत्रकारलाई दबाउन बाध्य पारियो । भेटवार्ता र फोटो सेसन पनि सार्वजनिक नभएको भए हुन्थ्यो । अँध्यारो कोठामा कसले कसलाई भेट्यो, कसले के भन्यो, क्रिया प्रतिक्रिया के थियो, कसैलाई थाहा हुने थिएन । हाम्रो राष्ट्रपतिको यो कार्य कुन अर्थमा प्रशंसनीय भयो र ?
राष्ट्रपतिका लागि सबै पत्रकार उत्तिकै महत्वको हुनुपर्ने हो । जो सत्ता निकट छ, नेकपाका नेता निकट छ, उनीहरुलाई मात्र राष्ट्रपतिले पत्रकार देख्नु र भलाकुसारी गर्नु भनेको राष्ट्रपतिको बिभेदपूर्ण व्यवहार पनि हो । बरु सबै पत्रकारका सामु उपस्थित भएर देश र जनताप्रतिको चिन्ता दर्शाउन सकेको भए सम्माननीय राष्ट्रपतिको दिनदिनै घट्दो उचाइ बढ्न जाने थियो । पत्रकार जनता र सरकारवीचका सूचनाबाहक हुन् भन्ने सत्यसमेत राष्ट्रपतिले नकारेको देखियो । शीतल निवासभित्रको खबरसमेत बाहिर आउन सकेन । सूचना लुकाउनु पर्ने, राष्ट्रपतिलाई के बाध्यता परेको होला ? दोस्रोपल्ट राष्ट्रपति बनेपछिको पत्रकारसँगको अन्तरक्रिया त्यो पनि यति दयनीय मानसिकतामा ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper