banner
banner

ओलीको साहसमा प्रचण्डको निराशा

काठमाडौं । पहिलोपल्ट प्रचण्ड राजनीतिक किङपिन हुनबाट बन्चित भएका छन् । केपी ओलीले अध्यक्ष हुन अधिवेशनमा जाउँ, प्रधानमन्त्री हुन एमालेको जबज सिद्धान्त मान्न प्रस्ताव गरेपछि प्रचण्डको सातो उडेको छ । प्रचण्डमा बढेको छटपटीको कारण अधिवेशनमा गए चुनाव हराउँछन्, जबज त मान्नै नसकिने भएर हो । केपी ओलीले हानेको ब्रम्हास्त्रले प्रचण्ड घायल भएका छन् । माधव कुमार नेपाल, झलनाथ खनालसमेत ओलीसँग आक्रोसित हुँदा हुँदै पनि जबज नमान्ने प्रचण्डको अडानका कारण   सशंकिन भएका छन् । नेकपा आन्तरिक बिबादमा यसरी जेलिएको छ कि एकमन भएर बस्नसक्ने स्थिति छैन ।
प्रचण्ड आफूमा अलिकति झट्का लाग्यो कि सुकुटेको होटल पुग्छन् कि चितवन । यसपल्ट पनि चितवन पुगेका छन् र भनिदिए– नक्सा जारी पार्टीले गरेको हो, प्रधानमन्त्रीले मात्र जस लिने होइन । देशको संकटमा एक हुनुपर्ने बेलामा पार्टीभित्रै तीब्र ध्रुविकरण र बेमेल देख्दा लाग्छ, अव नेकपा तोडिने र फोडिने दोबाटोमा पुग्यो । विश्लेषकहरु भन्छन्– माटोको भाँडो थियो, फुट्यो, जोडेर के जोडिन्थ्यो ।
केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुबै नछाड्ने अडानमा छन् । ओलीलाई सत्ता र पार्टी अध्यक्ष च्यूत पार्न नसकिएपछि प्रचण्डका सहयोगी भन्छन्– निराशा र द्विविधा ज्यादै बढ्यो, अव एउटा निर्णयमा पुग्नुपर्ने विन्दु आयो ।
२०७५ जेठ २ गते ओली र प्रचण्डले उत्साही भएर एकताको टुङ्गो लगाएका हुन् । अव ५०वर्ष नेकपाको शासन चल्छ भन्नेसम्मको अभिव्यक्ति दिएकै हो । २०७७ साल साउने भेलमा यो एकता बग्न थालेको छ । भनिन्छ, जनयुद्धका सबै हत्याआरोपबाट मुक्तिका लागि प्रचण्डले् अ‍ोलीसँग हात मिलाएका थिए । उनको त्यो उद्देश्य भड्खालोमा परेकोले पनि प्रचण्ड हतास भएका हुन् । एमसीसीमा भिन्न मत राख्नु प्रचण्डका लागि अर्को खड्गो बन्दै गएको अनुभव गर्नेहरु पनि धेरै छन् । आफ्नो उद्देश्यपूर्तिकै लागि आलोपालो प्रधानमन्त्री हुने अवसरसमेत प्रचण्डले त्यागेका थिए । प्रचण्डको कमजोरीको नसनाडी बुझेका ओलीले प्रचण्डलाई खेलाइदिए, प्रचण्ड पहिलोपल्ट पराजीत मानसिकतामा राजनीतिको किनारामा पुग्न बाध्य भएका छन् ।
आफ्नौ सक्रियतामा बनाएको राष्ट्रपति दाहिना भएको, सरकारसँग मध्यावधिसम्मको बिकल्प रहेको र पार्टी फोडे पनि प्रतिपक्षीको सहयोगमा सरकार बनाउन सक्ने भएकाले प्रम ओली ब्रम्हास्त्र लिएर जाज्वल्यमान छन्, नेकपाको एकछत्र अध्यक्ष । यहीकारण ओलीले प्रचण्डलाई लतारेका हुन्– म नै एक नम्बरी अध्यक्ष हुँ, प्रचण्ड दुई नम्बरी । आज ओली नै नेकपा हुन् ।
प्रचण्ड अव निर्णायक मोडमा पुगेका छन् । उनको निर्णयले ठूलै परिघटना हुनसक्ने आँकलन गर्न थालिएको छ । खुमलटारस्रोत भन्छ– पार्टी र सरकारमा जिम्मेवारी केही नपाएपछि माधवकुमार नेपाल र झलनाथ खनालसँग मिलेर फाइनल निर्णयमा पुग्नेवाला छन् । माधव नेपालले पनि भनेका छन्– अव प्रधानमन्त्रीको औपचारिक रुपमा राजीनामा माग्ने हो । संसदीय दलमा समेत बहुमतको दावी गर्ने प्रचण्ड कित्तामा त्यो हिम्मत होला ?
ओली अप्ठेरोमा छन् । यसैले मन्त्रिपरिषदको पुनर्गठनबाट समस्या हल गर्ने, पावर सेयरिङ गर्ने, त्यतिले नभए ब्रम्हास्त्र चलाउने भित्री तैयारी ओलीको छ । माधव नेपालले भनिसकेका छन्– पार्टी फोड्नकै लागि नकेपा एमाले दर्ता गरिएको हो ।
ओली सबैतिर अल्पमतमा होलान् । तर ओलीजति बलियो नेता नेकपाभित्र कोही पनि छैन । ओलीलाई चारैतिरबाट घेरे पनि प्रचण्ड, माधव, झलनाथ गुटले ओलीलाई परास्त गर्ने अभियानमा सफलता पाउन सक्दैनन्, विश्लेषकहरु भन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper